बिर्तामोड । 

बिर्तामोड नगरपालिकाले १०० वर्ष भन्दा माथिका ज्येष्ठ नागरिकहरुलाई घर घरमा पुगेर सम्मान गरेको छ ।  मंगलबार नगरप्रमुख धुर्वकुमार शिवाकोटी,उपप्रमुख पवित्रा महतारा प्रसाई, कर्मचारीहरु महिला विकास निरिक्षक पुष्पा कार्की, सहायक महिला विकास निरिक्षक युग कुमारी भट्टराई लगायतको टोलीले नगरका विभिन्न वडामा पुगेर पोषिलो खानेकुरा र नगद सहित न्यानो कपडाले जेष्ठ नागरिकहरुलाई सम्मान गरेको हो ।


सम्मानित हुनेहरुमा बिर्तामोड नगरपालिका वडा नम्बर २ का एक दम्पती १०४ वर्षिय मोतिलाल वास्तोला, १०२ वर्षिय विष्णुमाया वास्तोला, वडा नम्बर २ चैतुवारी कि १०६ वर्षिय कौशिला खरेल, वडा नम्बर ३ देउनियाका १०० वर्षिय पुण्यप्रसाद तिम्सिना, वडा नम्बर ६ वरगाछिका १०६ वर्षिय भिमलाल बराल,वडा नम्बर ८ कि १०० वर्षिय तिलमाया मगर र वडा नम्बर ९का १०१ वर्षिय रत्नबहादुर थापा रहेका छन् ।

नगरप्रमुख धुर्वकुमार शिवाकोटीले जेष्ठ नागरिकहरुलाई सम्मान गरेर आर्शिवाद लिएको बताए ।  आमा बाबु भगवान रहेको भन्दैउनले सबैले वृद्ववृद्वालाई माया र सम्मान गर्न आग्रहगरे । नगरप्रमुख शिवाकोटीले यसअघि असोज १५ गते अन्तराष्ट्रिय जेष्ठ नागरिक दिवसका दिन पनि नगरपालिकाले सय वर्ष भन्दा मुनिका जेष्ठ नागरिकलाई सम्मान गरेको जानकारी दिए । 

यस्तै नगरकी उपप्रमुख पवित्रा महतारा प्रसाईले सय वर्ष भन्दा माथिका जेष्ठ नागरिकहरुलाई नगरसम्म जानका लागि झण्झट हुने भएकाले घरघर मै पुगेर सम्मान गरीएको बताइन् । उनले घर परिवारमा समेत वृद्ववृद्वालाई सम्मान गर्नु पर्छ भन्ने उर्जा थपिने भएका कारण पनि यो सम्मान कार्यक्रम महत्वपुर्ण रहेकोबताइन् । जेष्ठ नागरिक भनेको राज्यको अत्यन्त महत्वपुर्ण, अनुभवी र गहना भएकोले सम्मान गर्नु पर्नेमा उनले जोड दिइन् ।

नगरपालिकाको आर्थिक वर्ष २०७८÷७९को महिला,वालवालिका,अपाङ्ग तथा जेष्ठ नागरिक शिर्षकमा रहेको नियमित कार्यक्रम अन्तर्गत ज्येष्ठ नागरिक सम्मान कार्यक्रम गरीएको हो । नगरपालिकाले यस अघि असोज १५ गते अन्तराष्ट्रिय जेष्ठ नागरिक दिवसका दिन परोपकार वृद्वाआश्रममा रहेका ३४ जना वृद्ववृद्वालाई समेत पोषिलो खानेकुरा वितरण गरेको थियो ।