विर्तामोड । 

झापाली निर्माण व्यवसायीहरुको छाता संगठन निर्माण व्यवसायी संघ झापाको युवा निर्माण व्ववसायी मौसम थापाले अध्यक्ष पदमा दाबेदारी प्रस्तुत गरिसकेका छन् । 

थापाले सामाजिक सञ्जाल प्रयोग गर्दै अध्यक्षमा आफ्नो उम्मेद्वारी रहने घोषणा गरेका हुन् । वर्तमान कार्यसमितिमा थापा द्वितीय उपाध्यक्ष छन् । संघमा आगामी तीनवर्षे कार्यकालका लागि विभिन्न पदमा आकांक्षहिरु देखिएका छन् यद्यपि अहिले नै सबै खुलिसकेका छैनन् । 

अध्यक्ष पदमा वर्तमान अध्यक्ष मिलन वस्नेत एकपटक दोहोर्याउने पक्षमा छन् । संघ र झापाली निर्माण व्यवसायीको हितका लागि आफूसँग बृहत्तर योजना रहेको जनाउँदै वस्नेतले अध्यक्षमा आफ्नो दाबेदारी रहने संकेत गरिसकेका छन् । उनले सदस्य निर्माण व्यवसायीहरुसँग आफूलाई अध्यक्षमा सहयोग गर्न आग्रह गरिसकेका छन् । यस्तै, भद्रपुरका गगन रेग्मीलाई पनि अध्यक्षको दाबेदारको रुपमा हेरिएको छ भने वर्तमान प्रथम उपाध्यक्ष शरद खनाल पनि आंकाक्षी देखिएका छन् । पूर्व अध्यक्ष गणेश वस्नेत सर्वसम्मत भए एकपटक अध्यक्ष पद दोहोर्याउने मनस्थितिमा छन् ।

संघमा २ सय ५० भन्दा बढी सदस्य आबद्ध रहेको जनाइएको छ । संघको मंसिर २१ र २२ गते विर्तामोडमा जिल्ला अधिवेशन सम्पन्न हुँदैछ ।