बिर्तामोड ।
बिर्तामोड नगरपालिकाले कृषकहरु घरघरमा गएर अनुगमन गरेको छ । बिर्तामोड नगरपालिकाले बंगुर पालन गर्दै आएका वडा नम्बर १० गौरव टोलका कृषकहरुकोमा पुगेर अनुगमन गरेको छ ।
नगरप्रमुख ध्रुबकुमार शिवाकोटी,उपप्रमुख पवित्रा महतारा प्रसाई, प्रमुख प्रशासकिय अधिकृत गणेशप्रसाद दाहाल, पशुपंछी तथा मत्स्य विकास शाखाकी प्रमुख सावित्रा दाहाल लगायतको टीमले अनुगमन गरेको हो ।
आर्थिक वर्ष २०७७÷७८ को शर्सत अनुदान अन्तर्गत केन्द्रबाट आएको १० लाख र कृषक समुहको १० लाख रुपैयाँ लागत साझेदारी कार्यक्रमका रुपमा सञ्चालन हुँदै आएको बंगुर प्रर्वदन कार्यक्रममा १५ जना कृषक सहभागी छन् । ६५ हजार रुपैयाँ प्रति गोटाका दरले खोर निर्माण गरेर कृषकहरुले उन्नत जातका बंगुरहरु पाल्दै आएका हुन् ।
कृषकहरुले उन्नत जातका ल्यान्डेर्स, ड्युरोक, चाइनिज गोल्डेन र पाख्रीबास कालो जातको बंगुर पालन गर्दै आएका छन् । चाँडै फस्टाउने, धेरै बच्चा उत्पादन गर्ने र तौल पनि बढी हुने भएका कारण यी बंगुरहरु छनोटमा परेको पशुपंछि तथा मत्स्य विकाश शाखाकी प्रमुख सावित्रा दाहालको जानकारी दिइन् ।
यस अघि परम्परागत तवरले बंगुरलाई डोरीले रुखको फेदमा बाँधेर पाल्ने गरेको भएपनि बंगुर प्रर्वदन कार्यक्रमआएपछि व्यवस्थित ढंगले आधुनिक खोरमा पालन गर्दै आएको आधुनिक कृषि तथा पशुपालन समुहका अध्यक्ष अर्जुनकुमार राईको भनाई छ । यो कार्यक्रमबाट बंगुरपालक कृषकलाई धेरै फाइदा पुगेको भन्दै उनले अझै यस्ता कार्यक्रमहरु ल्याउनु पर्नेमा जोड दिए ।
बंगुरको मासुमा बिर्तामोड नगरपालिका आत्मनिर्भर रहेको भन्दै कृषकहरुले यसको बजार खोज्नु पर्ने बताउदै आएका छन् । भारत, भुटान लगायतका देशमा बंगुर बजारीकरण गर्नु पर्नेमा उनीहरुको माग छ । बिर्तामोड नगरपालिकाले मेयर पकेट कार्यक्रम अन्तर्गत पनि बंगुर पालन कार्यक्रमलाई अघि बढाउँदै आएको छ ।


















