बिर्तामोड ।
बिर्तामोड नगरपालिकामा सरुवा भएर आएका प्रमुख प्रशासकिय अधिकृत विनोद न्यौपानेलाई नगरले स्वागत गरेको छ । नगरपालिकाको सभाहलमा संक्षिप्त कार्यक्रमको आयोजना गर्दै प्रमुख प्रशासकिय अधिकृत न्यौपानेलाई स्वागत गरीएको हो ।
उनलार्ई नगरप्रमुख ध्रवकुमार शिवाकोटी र उपप्रुमख पवित्रा महतारा प्रसाईले खदा लगाएर स्वागत गरेका थिए । न्यौपाने सुनसरीको दुहवी नगरपालिकाबाट सरुवा भएर आइतबार बिर्तामोड आएका हुन् । प्रमुख प्रशासकिय अधिकृत गणेशप्रसाद दाहाल सरुवा भएर फिदीम नगरपालिका गएपछि रिक्त रहेको ठाउँमा न्यौपानेले आइतबार देखिनै कार्यभार सम्हालेका हुन् ।
स्वागत कार्यक्रममा बोल्दै नगरप्रमुख ध्रुवकुमार शिवाकोटीले बिर्तामोडमा जनप्रतिनिधि र कर्मचारी विच अहिलेसम्म कुनै पनि गुनासो नरहेको बताए । देश विकासमा कर्मचारीको भुमिका मुख्य रहने भन्दै उनले अनुशासन र कर्तव्यमा ध्यान दिन आग्रह गरे । कर्मचारीकाकारण कुनै पनि सेवाग्राहीले दुःख पाउन नहुने उनको जोड थियो ।
यस्तै उपप्रमुख पवित्रा महातारा प्रसाईले बिर्तामोड प्रमुख प्रशासकिय अधिकृत विहिन भएको धेरै दिन भएका कारण योजनाका कामहरु धेरै थाँती रहेको बताइन् । उनले बिर्तामोडमा धेरै चुनौती रहेको र त्यसलाई फेस गर्दै विर्तामोडलाई उदाहरणीय नगरका रुपमा विकास गर्नका लागि अघि बढ्न शुभकामना दिइन् ।
कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत न्यौपानेले जनप्रतिनिधिसंग समन्वय गर्दै नगरपालिकाको विकासका काममा प्राथममिकताका साथ लाग्ने प्रतिवद्वता व्यक्त गरे । जनप्रतिनिधिको मुल्याङ्कन कर्मचारीकै कामले हुने भन्दै यसलाई व्यवस्थित ढंगले अघि बढाउने उनले बताए । उनले नगरपालिकामा अहिलेसम्म भएका विषयगत शाखाहरुको कार्यप्रगति विवरण हेरेर थप योजनाका साथ अघि बढ्ने पनि बताएका छन् ।
नगरप्रमुख ध्रवकुमार शिवाकोटीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपप्रमुख पवित्रा महातारा प्रसाईले स्वागत गरेकी थिइन् । कार्यक्रममा बिर्तामोड ५ का वडाध्यक्ष राजेन्द्रप्रसाद लिङ्देन लगायत नगरपालिकाका कर्मचारीहरुको उपस्थिति रहेको थियो । कार्यक्रमलाई नगरका वरिष्ठ योजना अधिकृत जय तिम्सिनाले सञ्चालन गरेका थिए ।


















