सुरुङ्गा ।
कनकाई नगरपालिका ६ को वडाको बजेट सार्वजनिक सुनुवाई गरेरै सार्वजनिक गरिएको छ । वडाअध्यक्ष दिर्घबहादुर थापाले आर्थिक बर्ष २०७९÷८० को वार्डको बजेट सार्वजनिक सुनुवाई गरेरै सार्वजनिक गरेका हुन् ।
वडाले पाएको कुल ८९ लाख २९ हजारको उक्त बजेट सार्वजनिक गर्दै वडाअध्यक्ष थापाले बजेटमा भौतिक विकास तर्फ ४७ लाख ५० हजार, सामाजिक विकास तर्फ १६ लाख ९९ हजार, शिक्षा तर्फ ४ लाख ३० हजार संस्थागत विकास तर्फ ६ लाख ७५ हजार, कृषि तर्फ ६ लाख २५ हजार, बिपद व्यावस्थापन र भैपरि आउने तर्फ ७ लाख ५० हजार रुपैँया बजेट छुट्याएका छन् ।
यस बर्षको वडाको बजेटमा कृषकलाई निशुल्क गाईको एआई सेवा देखि लिएर वडाभित्र मृत्यु हुने नागरिकलाई निशुल्क शव जलाउनका लागि आर्यघाटमा दाउरा प्रदान र किरिया खर्च समेत दिइने कार्यक्रम राखिएको छ ।
यसैविच बजेट सार्वजनिककरण कार्यक्रममा यस क्षेत्रका अगुवा सामाजिक अभिभावक लीलाप्रसाद नेपाल सहित स्वास्थ्यकर्मी सर्मिला सेडाँई र नगरपालिका कर्मचारी फणिन्द्रकुमार गिरीलाई नगदसहित दोसल्ला ओडाएर सम्मान गरिएको छ । सम्मानित सबैलाई संघिय सांसद एलपी साँबा लिम्बु र कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले सम्मान गरेका थिए ।
कार्यक्रममा जेष्ठ नागरिक संघ कनकाईका अध्यक्ष पुण्यप्रसाद बाह्रकोटी, नेकपा माओवादीका कनकाई नगर अध्यक्ष यामनाथ सेडाई, कांग्रेसका नगर उपसभापति सीता घिमिरे, एमालेका वार्डअध्यक्ष वेदकुमारी चापागाई, जग्गादाता यामनाथ गौतम, चम्पापुर माविका प्रअ विष्णुप्रसाद कोइराला लगायातको आतिथ्य रहेको थियो ।
यसैगरि सोहि कार्यक्रमका विच कनकाई नगरपालिका ६ नम्बर वार्डको जेष्ठ नागरिक चौतारोको समेत उदघाटन गरिएको छ । जेष्ठ नागरिक संघ कनकाईका अध्यक्ष पुण्यप्रसाद बाह्रकोटीले वार्डनम्बर ६ का जेष्ठ नागरिक संघका अध्यक्ष पदमप्रसाद ओलीलाई चौतारोको चावी हस्तानतरण गरे ।


















