• उमेश भारती 

गणतन्त्रका हिमायती समानुपातिक समाबेशी लोकतन्त्रका ज्ञाता माक्र्सबादी विचारक समाजवादी चिन्तक प्रदिप गिरीले भौतिकरुपमा शरीर छाडेर जानु भएको पनि आज १३ औ दिन भई सक्यो । विलक्षण स्मरण शक्ति र बहुआयामिक प्रतिभाका धनि विद्धान गिरीको भाद्र ४ गते राती ९ः१५ वजे काठमाडौको मेडिसिटि हस्पिटलमा क्यान्सर रोगको कारण देहवसान भएको थियो ।

त्यागी सादगी महापुरुष गिरी नेपाली समाज राजनीति साहित्य जगतका एक होनहार हस्ती हुनु हुन्थियो । नेपाल दशनामी समाजका अग्रज आजीवन संरक्षक अभिभावक वर्तमान संघीय संसदका सांसद एवं चर्चित संविधान सभा सदस्य गिरी वि.स २००४ साल कार्तिक १७ गते पिता मित्रलाल गिरी र आमा पुण्य प्रभा गिरीको कोखबाट सिरहाको वस्तिपुरमा जन्मनु भएको थियो ।

  •  खान्दानी सम्भ्रान्त परिवारमा जन्मि हुर्केका गिरीले जीवनभर विपन्न, गरिव, पिछाडी पारिएको हुँदा खाने वर्ग क्षेत्र समुदायको हक अधिकारको आवाज बुलन्द पारे । लोकतन्त्र सामाजिक न्याय र समाजबाद प्राप्तिको बाटोमा हिडिरहे । उनी सधै विभेद अन्याय अत्याचारको  विरुद्धमा लडिरहे । नेपाली काँग्रेस पार्टीमा सर्वाधिक लोकप्रिय मतसहित केन्द्रीय सदस्य चुनिएका राजनीतिज्ञ गिरीले कांग्रेसमा समाबेशी सिद्धान्तलाई स्थापित र लागू गराएर छाडे उनले प्रतिपादन गरेको सिद्धान्त ज.ग.द.म.मा, अर्थात (ज–जनजाति, ग–गरिव, द–दलित, म–महिला, म–मधेसी) हो । यहि सिद्धान्तको आधारमा लाभको पद सदन सरकार र पार्टी नेतृत्वमा सबैको समानुपातिक प्रतिनिधित्व भयो । मूलकलाई अग्रगामी विकास र निकास दिनका लागि संसद, सडकमा सधै खवरदारी गरि रहे । समाजवाद र माक्र्सबादका घनिभूत बहस विचार प्रस्तुत गरि रहे । उनी कुनै पार्टी विशेषको भन्दा आम नेपाली नागरिकको प्रिय र रुचाईएको साझा व्यक्ति बन्न पुगे । नेपाली काँग्रेसका संस्थापक समाजवादी नेता वि.पि कोइरालासँग संगत र सहकार्य गरेका गिरी पार्टी भित्र दोस्रो वि.पि. भनेर पनि चिनिन्थे । जय प्रकाश, डा. मनोहर लोहिया, नेहरु, वि.पि. कृष्णप्रसाद, गणेशमान जस्ता नेताहरुको राजनीतिक प्रभाव परेका गिरी मुलत गान्धीवादी नेता हुन् । माक्र्स, लेनिन, र रोजा लक्जेवक्र्सको विचारलाई औधी मन पराउने गिरीले लेलिनको जीवनी नामक पुस्तक समेत लेखेका छन् । माक्र्सवादका कुशल व्याख्याता गिरीको जीवन शैली भने भियतनामका सर्वोच्च नेता होची मिन्हा जस्तै सरल सादगी र गाउँले परिवेशमा निष्ठा र त्यागको जीवन व्यतित गरे । निमुखा जनता र मधेसी समुदायसँग हिमचिम बढाए । जस्तो सिद्धान्त उस्तै व्यावहार अपनाउने गिरीले आफ्नो गृहनगर सिराहाको बस्तीपुरमा निजी सम्पतीलाई सार्वजनिककरण गरे मित्र सेवा आश्रम खडागरि सय भन्दाबढी अनाथ बालबालिकाहरुलाई संरक्षण दिए । जीवनमा रुख विरुवा देख्ता आनन्द लाग्छ भन्ने गिरीले आश्रममा हजार भन्दा बढ्दा बोट विरुवा लगाएका छन् । मान्छेको आयु छोटो हुन्छ मरेर गइन्छ तर बोटविरुवा सदिऔ वर्ष बाँचिरहन्छन्  इष्टमित्र छरछिमेकीले विरुवाको फल खाएर सम्झिरहुन भन्ने उनको कामना थियो । 

 छिमेकीलाई सहयोग गर्नु पर्दछ । साँचो अर्थमा गाँउलाई अधिकार दिएर सुविधा सम्पन्न बनाएर उत्पादन बढाउदै रोजगारी सृजना गरि समाजवादको गन्तव्यमा जानु पर्दछ तव मात्र समानता, स्वतन्त्रता र बन्धुत्वसँगै ल्याउन सकिने आत्मविश्बास उनमा थियो ।

समाज र राजनितिक निष्ठाका लागि गिरीले यति सम्म त्याग र समर्पण देखाएकी उपल्लो तह तप्कामा पहुँच हुँदा हुँदै कयौ पटक मन्त्री बन्न गरेको अनुरोधलाई इन्कार गरे बरु अरु योग्य साथीहरुलाई मन्त्री बनाउन सहयोग गरे लाभ र लोभको पदमा कहिलै आफू गएनन् । राजनितिमा लागेपछि सत्ता  शक्ति पद चाहिन्छ भनेर मरिहत्ते गर्नेहरुलाई राजनीति भनेको कुनै फोहोरी खेल हैन बरु जनताको बिशुद्ध सेवा गर्ने थलो हो भन्ने सवक सिकाए । बुबा नै त्यो बेलाका काँग्रेस जिल्ला सभापति, सहोदर काका तुलसी गिरी प्रधानमन्त्री, अर्का काका रुद्रप्रसाद गिरी गृहमन्त्री हँुदा पनि उनमा कुनै चुरिफुरी तामझाम थिएन । उनकै नातेदार भएको शासन व्यवस्थाका स्थायी विरोधि थिए । राजनैतिक आस्थाकै आधारमा ४ वर्ष कठोर जेल जीवन र पटक–पटक निर्वासित जीवन भोगे  दुःख हण्डर खाए । आफ्नो घर परिवारको माया मोह सुख सह्यललाई समेत तिलाञ्जली दिए । एक बेला कांग्रेस नेत्री शैलजा आचार्य सँंगको प्रेम कहानी खुब चर्चामा आएको थियो । पछि उनले दाङकी भारती सेलबालसँग कोर्ट म्यारिज गरि श्रीमती र छोरा सुदिपसँग समेत गुमनाम छुटै बसेको रहस्य भरखर सार्वजनिक भइरहेको छ । प्रदिप गिरीले  निजी जीवनबाट  मुक्त भएर सार्वजनिक स्वच्छन्द सामाजिक जीवन जीए । उनी कसैको  दबाब र प्रभावमा परेनन् उनले आफ्नो लागि कहिल्यै सोचेनन् केवल राष्ट्र र समाजको लागि मात्र र राष्ट्रलाई विचार र दर्शन दिए । हक्की निडर स्वभावका गिरीले एक बेला वि.पि.ले लिएको मेलमिलापको नीतिमा उल्लेखित मेरो राजासँग घाटी जोडिएको छ, राजा विना राष्ट्र राष्ट्रियता रहँदैन भन्ने विषयमा विपति राखि विरोध गरि विपिको आचोचना गरेका थिए । त्यो बेला वि.पि. जस्तो ठूलो नेतासँग यस्तो टक्कर दिने कांग्रेसमा अरु कुनै नेता नै थिएनन । नेपाली कांग्रेसलाई गणतन्त्रात्मक शासन व्यावस्था स्वीकार गर्न बाध्य बनाउने लौह पुरुष हुन प्रदिप गिरी । 

pradip giri 1

खास गरि नेपालमा पन्ध्र सालपछिको नेपाली जनताको पक्षमा भएका गरिएका राजनैतिक परिवर्तन आन्दोलनमा गिरीको भूमिका अग्रभागमा रह्यो । नेपालमा गणतन्त्र र समाजवादका ज्ञाता माक्र्सबादी गुरु गिरी बेद महाभारत साहित्य दर्शन राजनीतिशास्त्र अर्थशास्त्र समाजशास्त्र पनि उतिकै पोख्त थिए उनले पत्रिकाको सम्पादक, पुस्तक लेखक भविश्य द्रष्टा दार्शनिक चिन्तकको रुपमा  एक बुद्ध पुरुषको परिचय बनाए । उनले भारतको जवहारलाल नेहरु विश्वविद्यालयबाट औपचारिकरुपमा  दर्शन शास्त्र र राजनीतिमा एम ए गरेका थिए भने जीवनभर स्वअध्ययन र चिन्तन मन्नमा लागि रहे ।

  • अन्तिम पटक संसदमा सम्बोधन गर्दै गिरीले भनेका थिए ‘गणतन्त्र घोषडापछि संविधान निमार्ण पछि पनि वितेका वर्षमा किन आम जनतालाई  लागेन बल्ल हाम्रो पालो आएछ नयाँ नेपाल निर्माण भएछ ।’ भनेर तार्किक तर्कहरु पेश गर्दे सरकार र सदनको ध्यानाकर्षण गराएका थिए । उनको स्पष्ट दृष्टिकोण थियो नेपाली जनताले आदर्श खोज्दै छ नयाँ पुस्तासँग सपना हुनु पर्दछ । सवैको प्रतिनिधित्व अपनत्व हुने गरि नेतृत्व युवा पूस्तालाई सुम्पन्न पर्दछ । विशेष गरि ०४६ सालको राजनैतिक परिवर्तन पछि जुन अनुहार र वर्ग सधै सत्तामा अएका छन् उनीहरुले विदा लिनु पर्दछ नैतिकताको राजनीति गरांै । नयाँ नेपाल निर्माण गर्नका लागि सबै दल, पक्ष प्रतिपक्ष सरोकारवालाहरु बसेर देशको विकास नीति, परराष्ट्र नीति, राष्ट्रिय नीति निर्माण गरौ मूलुकमा व्यक्ति हैन विधि र पद्धतिलाई दरो र संस्थागत गरौ भनेर आवाज उठाई रहे । 

 गिरी नेपाली समकालिन राजनितिका अत्यन्द आशाबादी राजनीतिज्ञ हुन उनले हाम्रो संविधान निमार्णपछि भन्ने गरेका थिए नेपाल सानो देश र सानो समाज भए पनि गम्भीर चिन्तक बनेर सारसंक्षेप खिच्ने हो भने नेपालमा २००७ सालदेखि आजसम्म घटेका राजनीतिक परिघटना चाइनिज क्रान्ति भन्दा व्यापक, रसिन क्र्रान्ति भन्दा गहन र इन्डियन परिवर्तन भन्दा दूरगामी छ भनेर अर्थाउथे । उनले नेपालको हालको संविधान लेखनको क्रममा हस्ताक्षर समेत गरेनन् । उनको जोड संविधानलाई अझ सर्व स्वीकार्य उन्नत समाजवादी बाटो जाने स्पष्ट धर्सा कोर्न सकिन्छ भन्ने रिजर्भेसन थियो । गिरी धारा प्रवाह समाजवादको बहस गर्दा भन्ने गर्थे पैसा लिएपछि मात लाग्छ, रक्सी पिएपछि मात लाग्छ, व्यक्तिलाई बढी देवत्वकरण गर्यो भने मात लाग्छ र उन्माद चड्छ । त्यसकारण व्यक्ति हैन विधि प्रधानमा उनको जोड थियो ।

 विख्यात रङ विरोधी राजनितिज्ञ नेल्सन मण्डेलाले भनेका थिए । आन्दोलनको बेलामा मोर्चाको अग्र भागमा र लाभ र फाइदाको बेलामा पछाडी रहने अरुलाई अवसर दिने नै सच्चा नेता हो । यो उक्ति प्रदिप गिरीको जीवनमा अक्षरस पालन भएको पाइन्छ । समाज सेवा लोकतन्त्र मानवअधिकार र भूइ मान्छेको हक अधिकार प्राप्तिको लागि सम्पूर्ण जीवन आहूति दिएका गिरीले काठमाडौ भिमसेन गोलामा रहेको घर विक्री गरि सिरहाको लहानमा हस्पिटल निर्माण गर्ने सपना पुरा नहुदै अचानक मृत्युवरण गरे । उनको अधुरा सपना पुरा गर्ने जिम्मा नेपाली समाजमा आएको छ । भौतिकरुपमा गिरी हाम्रो सामु नरहे पनि वहाँले दिनुभएको विचार, योगदान नेपाली समाजले सधै सम्झि रहने छ । 

शोकाकुल परिवार जनमा समवेदना सहित परलोक बासी प्रदिप गिरीप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु । नेपाली क्षितिजमा सदा अमर रहने सम्झनामा आइरहे नाम हो प्रदिप गिरी ।

धन्यवाद