बिर्तामोड । 

झापाको बिर्तामोड–४ मा रहेको शिखर बचत तथा ऋण सहकारी संस्थाले चाडपर्वको अवसर पारेर सदस्यहरुलाई छुट सुविधा दिन विभिन्न व्यावसायसँग सम्झौता गरेको छ । 

साकोसले नजिकिदै गरेको नेपालीहरुको महान पर्व बडादशै, तिहार र छठका लागि संस्थाका सदस्यहरुको किनमेललाई सुलभ र सस्तो मूल्यमा सामानहरुको खरिदका लागि सम्झौता गरेको हो । 

शिखर साकोसले वर्तामोडमा रहेका अन्तर्राष्ट्रिय ब्राण्ड  तथा  चलेका व्यवसायिक संस्थासँग आफ्ना सदस्यको सुविधा लागि छुट सुविधाको योजनामा सम्झौता  गरेको संस्थाका अध्यक्ष दिपेन्द्र राउतले जानकारी दिएका छन् । 

‘गुणस्तरीय सामान सुपथ मुल्यमा सदस्यले पाउन भन्ने हाम्रो चाहाना हो’ अध्यक्ष राउतले भने  ‘चाडपर्वमा किनमेल बढी हुने लताकपडा र जुत्ता चप्पल हो, त्यसैले संस्थाले गुणस्तरिय उत्पादन रहेका कम्पनीसँग सहकार्य गरेको छ ।’ 

शिखर साकोसले सम्झौता गरेका पसल तथा ब्यवसायमा सामान खरिद गर्दा १० देखि ३० प्रतिशतसम्म छुटको ब्यवस्था रहेको अध्यक्ष राउतले जानकारी दिएका छन् । चाडपर्वमा लताकपडा र खाद्यान्न बढि  खरिद गरिने भएकाले कपडा पसल र खाद्यन्न पसलहरुसँग बढि सम्झौता गरिएको उनले बताएका छन् ।