बिर्तामोड । 

झापाको बिर्तामोड–१ मा मुख्य कार्यालय रहेको साना मझौला ब्यवसायी बचत तथा ऋण सहकारी संस्थाले संस्थाको १२ औं बार्षिक साधारणसभाको अवसरमा एकजना पत्रकारसहित दर्जनौलाई सम्मान तथा पुरस्कृत गरेको छ । 

संस्थाले बुधवार (आज) बिर्तामोडमा साधारणसभा आयोजना गरी पत्रकार रेजिना गौतमसहित संस्थाका उत्कृष्ट बचतकर्ता, उत्कृष्ट कर्मचारी, संस्था स्थापना कालदेखि साथ सहयोग गर्नेलगायतलाई सम्मान गरेको हो । उनीहरुलाई नगदसहित सम्मानपत्रले कार्यक्रमकी प्रमुख अतिथि तथा बिर्तामोड नगरपालिकाकी प्रमुख पवित्रा महतरा प्रसाईले सम्मान गरेकी हुन् । 

उत्कृष्ट बचतकर्ताका रुपमा हनुमानदास अग्रवाल, बुद्धकुमारी चौहान, खिलनाथ गुरागाई र हिमा खतिवडा, उत्कृष्ट ऋणिका रुपमा रत्नबहादुर माझी, सिविल राजवंशी, जानकी मुखिया र ज्वाला इम्बुङ, संस्थाको स्थापना कालदेखि सहयोग गर्ने कल्पना बस्नेत, गुरुप्रसाद मैनाली, सावित्राकुमारी लिम्बु, सरस्वती थापा बस्नेत, तारादेबी बस्नेतलाई नगदसहित सम्मान गरिएको थियो । 

त्यस्तै उत्कृष्ट कर्मचारीका रुपमा चन्द्रकला चुडाल सिटौला, रामनाथ पोखरेल, सुश्मा थापा र सुदिप बस्नेत, शिक्षातर्फ मनोलीसा दर्जी, मान्यता श्रेष्ठ, आयुस अधिकारी, स्वतिका गड्तौलालगायतलाई नगदसहित सम्मान गरिएको हो । 

संस्थाकी अध्यक्ष देबी निरौला बस्नेतको अध्यक्षतामा भएको साधारणसभामा बिर्तामोड नगर प्रमुख प्रसाईको प्रमुख आतिथ्य रहेको थियो । स्वागत संस्थाका उपाध्यक्ष रामलोचन न्यौपानेले गरेको कार्यक्रममा बिर्तामोड नगर सहकारी अधिकृत डिल्ली दाहाल, नयाँ उज्यालो सहकारीकी अध्यक्ष सुश्मा पौडेललगायतको आतिथ्य रहेको थियो । कार्यक्रमको सञ्चालन संस्थाका सचिव चन्द्रकुमार भट्टराईले गरेका थिए । 

संस्थाकी अध्यक्ष बस्नेतद्धारा प्रस्तुत प्रतिवेदन अनुसार आर्थिक बर्ष २०७८/०७९ सम्ममा शेयरपुँजी ६ करोड ८९ लाख ६० हजार १०० रुपैयाँ रहेको छ भने शेयर सदस्य संख्या ४ हजार १४ जना रहेका छन् । त्यस्तै बचत निक्षेप २३ करोड १ लाख ३९ हजार ८८४, कोषको अवस्था ८८ लाख १७ हजार १५० रुपैयाँ ५३ पैसा, कर्जा स्थिति २८ करोड १८ लाख ७१ हजार ९०५, कारोवारको अवस्था ३२ करोड ८६ लाख ३७ हजार ७२४ रुपैयाँ ४० पैसा र आव २०७८/०७९ मा ५३ लाख १० हजार ३ रुपैयाँ ८८ पैसा नाफा गर्न सफल भएको अध्यक्ष बस्नेतद्धारा साधारणसभामा प्रस्तुत प्रतिवेदनमा उल्लेख छ ।