झापा । 

झापा, मोरङ र सुनसरी जिल्लामा बहुल्यता रहेको सन्थाल समुदायले आफ्नो जात सन्थाल भएकाले सतार नभन्न आग्रह गरेका छन् । जिल्ला प्रशासन कार्यालय झापा र सांसदमा समेत ज्ञापनपत्र बुझाइसकेको बताउँदै सन्थाली समुदायका अगुवाले नागरिकताको थरमा सतार नभएर सन्थाल लेख्नु पर्ने माग राख्दै आएका छन् । 

झापा गौरीगञ्ज गाउँपालिका–२ का मानसिंह मर्डीले सन्थाल समुदाय भित्र १२ वटा जाती भएको बताउँदै उनीहरुलाई नागरिकताको थरमा सन्थाल लेखिनु पर्ने बताएका छन् । उनले लोप हुँदै गएको सन्थाल समुदायको संस्कृति र परम्परा जोगाउन करिब ३ बर्ष अघिदेखि बिभिन्न पालिका तथा वडामा समिति तथा क्लब गठन गरी लागि परेको बताए । 

‘सन्थाल समुदाय अन्य जाती भन्दा पिडीत छन्’ बाह्दशी–४ चकचकीकी दुल्हन मर्डीले भनीन् ‘बुढापाकाहरुले हाम्रो संस्कृति परम्परा जोगाउन नसकेपछि अहिले हामी युवा त्यसलाई जोगाउन लागिपरेका छौं ।’ 

त्यस्तै बाह्दशी–४ का राज हेमरमका अनुसार लोप हुँदै गरेको सन्थाली पहिचानलाई उजागर गर्ने उदेश्यले क्लव गठन गरिएको छ । सन्थाल समुदायको बाहुल्यता रहेका पालिका तथा वडामा विभिन्न समिति निर्माण गरिएको छ । ‘दिनभरी काम गछौं’ राज हेमरमले भने ‘तर, बेलुका २ घण्टा समय निकाले हाम्रो संस्कृति र परम्परा जोगाउन लागिपरेका छौं ।’

अर्का बाह्दशी–४ कै जयराम मुर्म आफुहरुलाई सतार नभनेर सन्थाल भन्नु पर्ने बताउँछन् । उनले पछिल्लो समय सन्थाल समुदायमा पनि युवा पुस्ताहरु अलि शिक्षित हुँदै गरेको बताउँदै सतार भन्दा हेपेर आफुहरुलाई गाली गरेको अनुभव हुने गरेको बताउँछन् ।  

santhal 1