बिर्तामोड । 

झापाको अर्जुनधारा–६ माता मन्दिर युवा क्लबले उम्मेद्वारहरुसँग गरेको अन्तरक्रिया कार्यक्रममा गठबन्धनका तर्फबाट क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य पदका  उम्मेद्वार हरिकुमार रानामाथि गरिएको दुष्प्रचार कपोकल्पित र भ्रामक भएको बताएका छन् ।

गत २१ गते माता मन्दिर आसपासमा भएको अन्तरक्रियामा उम्मेद्वारहरुले बोल्ने समय राखिएको थियो । तोकिएको समयअवधिभन्दा बढी स्वतन्त्र उम्मेद्वार स्वागत नेपालले लिएपछि आयोजक युवा समूहले मन्तव्य छोट्याउन आग्रह गर्दा पनि उम्मेद्वार नेपालले समय लिइरहेको जनाइएको छ  । लामो समय बोलेको विषयलाई लिएर होहल्ला मच्चिएको र त्यसमा गठबन्धनका उम्मेद्वार हरिकुमार रानाको कुनै गल्ति कमजोरी नभएको आयोजक समूहका अध्यक्ष रोशन भेट्वालले बुधबार (आज) एक विज्ञप्ति प्रकाशित गर्दै प्रष्ट पारेका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘सो दिन भएको घटना स्वागत नेपाल पक्षकै ब्यक्तिहरुले उल्टै होहल्ला गरि नाराबाजी गरेका थिए । त्यो दिन हरिकुमार रानाले कसैको माइक खोसेको होइन । बाहिर आएका समाचार र भिडियोमा जस्तो उहाँले बोल्न नदिएको र हात पात नगरेको प्रष्ट पार्न चाहन्छु । साथै समाचारमा लेखिए जस्तो त्यो कार्यक्रम सीके चिन्तन प्रतिष्ठानले आयोजना गरेको नभइ माता मन्दिर युवा क्लबले आयोजना गरेको कुरा प्रष्ट पार्न चाहन्छु ।’

माता मन्दिर युवा क्लबका अध्यक्ष भेट्वालले हस्ताक्षर गरेको विज्ञप्तिको अन्त्यमा भनिएको छ, ‘यसप्रकारका समाचार प्रकाशन, प्रशासन गर्दा आयोजक संस्थासँग बुझेर मात्र सत्य, तथ्य समाचार सम्प्रेषण गर्न विशेष आग्रह गर्दछु ।’