• सुदीप गिरी

हल्दिबारी । 

झापाको हल्दिबारी गाउँपालिकाको कृषि बिकास शाखाले सर्सत अनुदान अन्तरगत तोरी खेती र गहुँखेतीका लागि बजेट विनियोजन गरेको छ । गाउँपालिका कृषि बिकास शाखाले ससर्त अनुदान तर्फको तेलहन बाली प्रवर्दन कार्यक्रम अन्तर्गत तोरी खेतीको लागि १० लाख र गहुँबाली प्रवर्दन कार्यक्रमका लागि २० लाख २० हजार रुपैयाँ बजेट विनियोजन गरेको छ । 

दुबै कार्यक्रम सञ्चालनका लागि गत दशै तिहारको बिचमा कार्तिक १७ गतेदेखि  १५ दिनको अवधी राखेर पहिलो पटक सूचना प्रकाशित गरिएको थियो ।  कुनैपनि कृषक, कृषि समूह, सहकारी संस्था, कृषि फर्महरूले आवेदन नदिएपछि पुनः दोश्रो पटक मंसिर ७ सूचना प्रकाशित गरिएको थियो । तर, यो समाचार तयार गर्दा सम्म पनि उक्त कार्यक्रमका लागि कुनैपनि निवेदन नपरेको कृषि शाखा प्रमुख छविलाल गुरूङले जानकारी दिएका छन्  । 

‘यस कार्यक्रमका लागि नागरिकता र जग्गा धनीपुर्जाको प्रतिलिपीसहित निबेदन पेश गर्दा पुग्थ्यो, धेरै कागजात समेत माग गरिएको थिइन’ प्रमुख गुरुङले भने ‘कम्तिमा दुईवटा निवेदन पेश भए कार्यक्रम सञ्चालन गर्न सकिन्थ्यो, तर एउटा पनि निबेदन नपरेकोले कार्यक्रम सञ्चालन नहुने अबस्थामा छ।’ 

उनले प्रधानमन्त्री कृषि आधुनिकिरण परियोजनाको मकै बाली पकेट बिकास कार्यक्रमका लागि पनि राधाकृष्ण कृषक समूह हल्दिबारी २ ले मात्र निवेदन पेश गरेको बताए । उनका अनुसार उक्त कार्यक्रम सञ्चालन गर्न पनि कम्तीमा दुईबटा निवेदन पेश गर्नु पर्नेछ ।  सो कार्यक्रम सञ्चालनका लागि १२ लाख बजेट रहेको छ। एउटा निवेदन मात्र परेको कारण कार्यक्रम सञ्चालन हुन नसकिरहेको उनको भनाई छ ।

यस वर्ष कृषि शाखाबाट सञ्चालन गरिने  मुख्य योजनाहरूमा ५०/५० लागत साझेदारीमा भुमिगत सिचाइ (वोरिङ्ग, मोटर) कार्यक्रमका लागि १६लाख ५०हजार रुपैयाँ विनियोजन गरेको, ५०/५० लागत साझेदारीमा बिद्ययतीय स्पेय टंकी बितरण १ लाख बिनियोजन गरेको, ५०/५० लागत साझेदारीमा मकै रोप्ने मेसिनका लागि १ लाख विनियोजन गरेको, किसान सूचिकरण कार्यक्रमका लागि वडा नम्बर ३, ४ र ५ को सूचिकरणका लागि यस वर्ष पूर्णता दिनका लागि ५ लाख बजेट विनियोजन गरेको जसमा ६ जना सहजकर्ता (गणक) का लागि समेत सूचना जारी गरिएको गुरुङले जानकारी दिए ।