सुरुङ्गा । 

झापाको कनकाई नगरपालिकाले ९ वटै वडाहरुका उपभोक्ता समिति तथा टोल विकास संस्थाहरुलाई योजना सञ्चालन सम्बन्धि एक दिने अनुशिक्षण कार्यक्रम गरेको छ । 

सोही क्रममा बुधवार (आज) कनकाई वडा नम्बर १ का उपभोक्ता समिति तथा टोल विकास संस्थाहरुलाई योजना सञ्चालन सम्बन्धि एक दिने अनुशिक्षण कार्यक्रम गरेको हो । अन्य ८ वटा वडाहरुलाई यस अघिनै अनुशिक्षण कार्यक्रम गरिसकेको नगरका प्रशासन योजना तथा अनुगमन शाखा प्रमुख बिबेक भण्डारीले जानकारी दिए । 

उनले नगरपालिकाबाट सञ्चालन हुने योजना तथा कार्यक्रमहरु सकेसम्म सहज ढंगले सञ्चालन गर्न र उपभोक्ता तथा नागरिकलाई सहज हुने गरी पालिकाको मापदण्डमा रहेर कार्यक्रम सञ्चालन गरिने बताए । 

पालिकाले यस बर्षदेखि अनुशिक्षणमा २÷४ वटा नयाँ सुधार गरेको बताउँदै भण्डारीले पालिकाले यस बर्षदेखि वडामै सम्झौता गर्ने कार्य थालनी गरेको जानकारी दिए । गत बर्ष पालिकाका तीन वटा वडामा सञ्चालन गरेको बताउँदै उनले यस बर्षदेखि ९ वटै वडामा सम्झौता गर्ने कार्यको थालनी गरिएको बताएका छन् । 

‘उपभोक्तासँग सम्झौता गर्दा बिभिन्न कानुनी परिवर्तन भइरहेको छ’ भण्डारीले भने ‘सार्वजनिक खरिद नियमावली अन्तिम संसोधनले २० लाख भन्दा माथिको योजनाहरु सञ्चालन गर्दा विमा गर्नु पर्ने ब्यवस्था गरेको छ ।’ त्यो विषयमा उपभोक्ताहरुलाई जानकारी गराएर उपभोक्ता र पालिकाबिच साझा बुझाई र पालिकाबाट हुने कार्यहरु पारदर्शी साथै मापदण्ड अनुरुप गराउनका लागि पालिकाले उक्त अभियान सञ्चालन गरेको भण्डारीले जानकारी दिए । 

कार्यक्रममा नगर उपप्रमुख आशा शर्मा शिवाकोटी, प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद न्यौपाने, वडा नं. १ का वडाध्यक्ष सुशिलकुमार पोखरेल, लेखा प्रमुख दुर्गा खड्का, लेखा शाखा कर्मचारी लक्ष्मीप्रसाद अधिकारी, वडा नं. १ सदस्य निर्मला खड्का, दलबहादुर थापा, हरिकुमार राईलगायतको उपस्थिति रहेको थियो । 

kanapa