झापा ।   

बिर्तामोड नगरपालिकाले जग्गा वर्गीकरणको कामलाई तिव्रता दिएको छ । नगरपालिकामा बुधवार (आज) बसेको स्थानीय भू–उपयोग परिषदको बैठकले केहि दिन भित्रमा जग्गा वर्गीकरणको काम सक्ने गरिका विषयमा छलफल गरेको हो ।

आजको बैठकले बिहीबारदेखि तालिका बनाएर प्राविधिक टोलीसहित नगरप्रमुख पवित्रा महतारा प्रसाई र प्रमुख प्रशासकिय अधिकृत विनोदकुमार न्यौपाने सबै वडामा पुग्ने  निर्णय गरेको छ । भोली विहान वडा नम्बर २ देखि छलफल तथा बाँकी रहेका कामलाई अघि बढाउने नगरका प्रवक्ता अग्निप्रसाद पाण्डेले जानकारी दिए ।

बिर्तामोड नगरपालिकाले सबै वडामा यसअघि देखिनै प्राविधिक टोली पठाएर जग्गा वर्गीकरणको काम गरिरहेको छ । नगरप्रमुख पवित्रा महतारा प्रसाईको अध्यक्षतामा बसेको बैठकमा प्रमुख प्रशासकिय अधिकृत विनोदकुमार न्यौपाने, सबै वडाका वडाध्यक्ष,कार्यपालिका सदस्य लगायतको उपस्थिति रहेको थियो । नगरपालिकाले सबै वडामा स्थानीय भू–उपयोग परिषदको वडा समितिसमेत यस अघिनै गठन गरिसकेको छ ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भू–उपयोग नियमावली २०७९ जारी गरेसंगै जग्गा वर्गीकरणको काम अघि बढाउन देशभरका पालिकाहरुलाई निर्देशन दिएको थियो ।

नियमअनुसार अब नेपालका जग्गाहरू विभिन्न १० खाले समूहमा वर्गीकरण हुने छन्। त्यसरी वर्गीकरण गरिएका समूहमा कृषि, आवासीय, व्यावसायिक, औद्योगिक, खानी तथा खनिज, वन, नदी, खोला, ताल, सिमसार, सार्वजनिक उपयोग, सांस्कृतिक तथा पुरातात्त्विक महत्त्व र नेपाल सरकारबाट आवश्यकताअनुसार तोकिएका अन्य क्षेत्र रहेका छन् ।