अर्जुनधारा । 

प्रदेश स्तरीय दोस्रो स्व मंगल मर्डी स्मृति नकआउट फुटबल प्रतियोगिता आइतबारदेखि शुरु भएको छ । प्रतियोगिताको उद्घाटन प्रतिनिधि सभाका उप–सभामुख इन्दिरा राना मगरले गरेकी थिइन् । 

 नमुना सन्थाल युवा क्लब अर्जुनधारा ११ को आयोजना अर्जुनधारा ९ स्थित नमुना खेल मैदानमा शुरु भएको प्रतियोगिता उद्घाटन खेलमा स्थानीय अर्जुनधारा सन्थाल फुटबल क्लबले विजयी भएको थियो । प्रतिस्पर्धी गरामनी युवा क्लबलाई ३–० गोलले पराजित गर्दै अर्जुनधारा क्वाटर फाइनलमा प्रवेश गरेको हो ।

प्रतियोगितामा झापाका १४ वटा र मोरङका २ वटा टिमले सहभागिता जनाएका छन् । माघ २८ गते हुने फाइनल खेलको विजेताले ५० हजार र उपविजेताले नगद ३० हजार रुपैयाँ र ट्रफी पाउने छ ।

पहिलो पुरस्कार अर्जुनधारा नगरपालिकाबाट र दोस्रो पुरस्कार नगर प्रमुख बलदेव गोम्देनले प्रायोजन गरेको सल्लाहकार  गणेश गिरीले बताएका छन् । 

आयोजक क्लबका अध्यक्ष राम मुर्मुको अध्यक्षतामा आयोजित प्रतियोगितामा सन्थाल समुदायका युवाले मात्र सहभागिता जनाउन पाउने छन् । प्रतियोगिता सम्पन्न गर्न ३ लाख २० हजार खर्च हुने अनुमान आयोजकको छ । कार्यक्रममा झापा फुटबल संघका अध्यक्ष भगिरथ आले, झापा गोल्डकपका अध्यक्ष बिनोद शिवाकोटी, वडा नं. ११ का  अध्यक्ष खगेन्द्र इङ्गनाम लगायतले उद्घाटन कार्यक्रममा शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको सहजीकरण सन्चारकर्मी रन्जित परियारले गरेका थिए ।