बिराटनगर। 

सहकारी संस्था सञ्चालन गरी ठुलो रकम ठगी गरेको आरोपमा बिराटनगरको तुलसी (बहुमुखी) बहुउद्देश्यीय सहकारी संस्थाका क्षेत्रिय प्रबन्धकसहित तीन जनालाई जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ गरेको छ ।  

पक्राउ पर्नेहरुमा मोरङको उर्लाबारी नगरपालिका–६ घर भई संस्थाको उपाध्यक्षको जिम्मेवारीमा रहेकी अनिता गौतम, झापाको भद्रपुर नगरपालिका–१४ घर भई विराटनगर महानगरपालिका–३ बस्ने सहकारी संस्थाको सचिवको जिम्मेवारीमा रहेकी सविना न्यौपाने र विराटनगर महानगरपालिका–२ का संस्थाका क्षेत्रीय प्रबन्धकको रुपमा कार्यरत मन्दिप खवास रहेका छन् । 

नेपाल भरी कार्यक्षेत्र रहने गरी २०५२ सालमा स्थापना भएको उक्त संस्थाको मुख्य कार्यालय बिराटनगर–२ मा रहेको र गत फागुन १ गतेदेखि शेयर सदस्यहरुलाई कुनै जानकारी नदिई कार्यालय बन्द गरी ठगी गरेको भनेर शेयर सदस्यहरुले दिएको जाहेरीको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङको प्रहरी टोलीले उनीहरु पक्राउ गरेको हो । 

उक्त संस्थाले बाल बचत÷ज्येष्ठ नागरिक बचत/भविष्य सुनिश्चित बचत/सुपर पेन्सन बचत/अवधि बचत/कर्मचारी चल्ती बचत/विशेष बचत/साधारण बचत लगायत खाताहरूमा बचत गर्दा तथा संस्थाको शेयर सदस्य हुँदा १५ प्रतिशत भन्दा बढी व्याज, बोनस लगायतका आकर्षक आर्थिक सुविधा पाउने आश्वासन र प्रलोभनमा पारी बचत गर्न लगाएको र आफ्नो तथा बालबच्चासहित परिवारका अन्य सदस्यहरूको सुरक्षित भविष्यको आशामा बचतकर्ताहरूले ठुलो रकम बचत गर्दै आएकोमा फागुन १ गते देखि कार्यालय बन्द गरी सञ्चालक समितिका सबै पदाधिकारीहरू सम्पर्क विहीन भएका थिए ।

सञ्चालकहरु नै फरार भए पछि आफूहरु ठगीमा परेको थाहा पाएर फागुन २८ गते केही बचत कर्ताहरुले १२ करोड  ९ लाख ४ हजार ४ सय ८७  रूपैयाँ बराबरको रकम ठगी भएको भनि संस्थामा कार्यरत ८ जनाको  बिरुद्धमा जाहेरी दिएको र सोही जाहेरीको आधारमा ३ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । साथै अन्य ५ जनाको खोजतलास भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।