बिर्तामोड  । 

नेपाली कांग्रेस झापाको बिहीवार (आज) सम्पन्न बैठकले भूमिहीन तथा अब्यवस्थित बसोबासीलाइ जग्गादर्ता गरी धनीपूर्जा उपलब्ध गराउँदा लगाइएको राजश्व घटाउन माग गर्ने निर्णय गरेको छ ।

नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवेको सभापतित्वमा सम्पन्न कार्य समितिका पदाधिकारी, सदस्य, क्षेत्रीय सभापतिसहितको बैठकले अब्यवस्थित बसोबासीको एक परिवारलाई एक विगाहासम्म जग्गाको लालपुर्जा उपलब्ध गराउँदा निःशुल्क र त्यसभन्दा माथि भए सरकारी मूल्यको ५ प्रतिशत राजश्व लिन सरकारसँग माग गर्ने निर्णय गरेको सचिव कृष्ण हुमागाईले जानकारी दिए।

त्यसैगरी बैठकले स्वतन्त्र विद्यार्थी युनियनको चैत ५ गते हुने निर्वाचनमा  नेपाल विद्यार्थी संघका उम्मेद्वारहरुलाई विजयी गराउन आ–आफ्नो स्थानबाट सहयोग गर्न तमाम् विद्यार्थी समूदाय र पार्टीका जिल्ला कार्य समितिका पदाधिकारी सदस्य र तहगत समितिलाई परिचालन गर्ने निर्णय गरेको कार्यालय सचिव जयकुमार दाहालले जानकारी दिए।

त्यसैगरी नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित हुनुभएकोमा उनीप्रति हार्दिक बधाई ज्ञापन गर्दै मतदान गर्ने  सांसदहरु र उनलाई उम्मेद्वार बनाएकोमा पार्टी नेतृत्वलाई धन्यवाद दिने बैठकले निर्णय गरेको छ ।

नेपाली कांग्रेस झापाका जिल्ला सदस्य रमेशकुमार दाहालकी माता चन्द्रकुमारी दाहालको निधनप्रति श्रद्धाञ्जली ब्यक्त गर्दै शोकाकूल परिवारजनमा समवेदना ब्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ ।