बिर्तामोड । 

पहिचानको आन्दोलन ससक्त बनाउन पूर्वमा एकीकरण भएको छ वटा आन्दोलनरत पार्टी र पहिचानवादी ३४ वटा संघ/संगठनले चैत ५ गते बिराटनगरमा जनप्रदर्शन गर्ने भएका छन् । 

आन्दोलनका लागि लिम्बुवानसहित ६ पार्टी तथा बिभिन्न पहिचानबादी संघ/संगठनले कोशी प्रदेश खारेजको मागसहित चैत ५ गते मुख्यमन्त्री कार्यालय घेराउसहित बिराटनगरमा जनप्रदर्शन गर्न लागेको शुक्रवार (आज) बिर्तामोडमा पत्रकार भेटघाट गरी जानकारी दिएका हुन् ।

ऐतिहासिक पृष्ठभूमिका आधारमा आत्म निर्णयको अधिकारसहितको लिम्बुवान स्वात्तय राज्यको माग राखी आन्दोलनमा रहेको संघीय लिम्बुवान पार्टीसँग सरकारले राज्य पुर्नरसंरचना गर्दा उनीहरुलाई राष्ट्रिय मुल प्रर्वाहमा समाहित गर्ने गरी २०६४ चैत ६ मा सम्झौता भयो । सम्झौता भएको १६ बर्ष बितिसक्दा समेत राज्यपक्षबाट आफुहरुका माग सम्बोधन नगरेको भन्दै लिम्बुवान आन्दोलनरत छ । 

राज्य पुर्नर संरचनापछि बनेको प्रदेश १ लाई कोशी प्रदेश नामाकरण गरेसँगै लिम्बुवानले सरकारले आफुहरुलाई झुक्याएको भन्दै चरणबद्ध आन्दोलनका कार्यक्रम अघि सारेका छन् । 

limbu

२०६३ को अन्तरिम संबिधानमा उल्लेख भए बमोजिम प्रदेश १ को नामाकरण गरिनु पर्ने उनीहरुको माग छ । तत्कालिन शान्तिमन्त्री समेत रहेका रामचन्द्र पौडेलको संयोजकत्वमा ७ दल सम्मेलित वार्ता टोलीमा सहभागी सञ्जुहाङ पालुङ्वा र पौडेलले सहमती पत्रमा हस्ताक्षर गरेका थिए । ५ बुँदे समझादारी पत्रमा हस्ताक्षरपछि आफुहरुको आन्दोलन स्थगन भएको र मुलुक नयाँ मोडमा अघि बढेसँगै मुलुकले नयाँ संबिधान मार्फत आधुनिक नेपाल निर्माण भएको बताउँदै संघीय लिम्बुवान पार्टी नेपालका अध्यक्ष पालुङ्वाले भने ‘रामचन्द्रजीले स्वयम हस्ताक्षर गरेको सम्झौतालाई लत्याउदै अहिले राष्ट्रपति बन्नु भएको छ, उहाँलाई समेत ध्यानाकर्षण गराउँदै शान्ति सम्झौतामा भएको निर्णयको बिषयमा प्रश्न गछौं ।’

कोशी प्रदेश खारेजीको माग गर्दै लिम्बुवानसहित राष्ट्रिय जनमुक्ति पार्टी, संघीय लिम्बुवान पार्टी नेपाल, कोचिला संघर्ष समिति, संघीय खम्बुवान लोकतान्त्रिक पार्टी, लिम्बुवान राष्ट्रिय समिति लोसपा र किराँत लिम्बुवान प्रदेश नामाङकन अभियानबीच पार्टी एकीकरणपछि बिभिन्न पहिचानबादी ३४ वटा संघ/संस्थाले चैत ५ बिराटनगरमा शान्तिपूर्ण जनप्रदर्शन गर्ने भएको शुक्रवार (आज) बिर्तामोडमा पत्रकार भेटघाट गरी जानकारी गराइएको छ । 

शान्तिपूर्ण हुने जनप्रदर्शनमा २० हजार वढीको सहभागीता रहने आन्दोलन परिचालन समितिका संयोजक तथा संघीय लिम्बुवान पार्टी नेपालका अध्यक्ष सञ्जुहाङ पालुङ्वाले जानकारी दिए ।  

पत्रकार भेटघाटमा कोचिला सघर्ष केन्द्रिय समितिका संयोजक तथा आन्दोलन परिचालन समितिका सदस्य त्रिनारायण राजवंशी, संघीय लिम्बुवान पार्टी नेपालका उपाध्यक्ष मित्र लिङ्देन, निश्चलता लावती, महासचिव लासिम पालुङ्वा, कोषाध्यक्ष एलबी पालुङुवा, सदस्य बिनोद न्यौपाने, जनमुक्ति पार्टीका सचिव कृष्ण थेवेले आ–आफ्नो भनाई राखेका थिए ।