झापा । 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमवार (आज) संसदबाट विश्वासको मत लिने भएका छन्। प्रचण्ड नेतृत्वको सरकारलाई नेपाली कांग्रेस, एकीकृत समाजवादीसहित १० दलले समर्थन गरेका छन् । 

पुस १० गते प्रधानमन्त्रीमा नियुक्त हुँदा बनेको नेकपा एमालेसहितको गठबन्धन भत्किएपछि प्रचण्डले  पुनः विश्वासको मत लिन लागेका हुन्।  गठबन्धन दलका एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टीले पनि प्रचण्डलाई विश्वासको मत दिने औपचारिक निर्णय गरेका छन्। सरकारबाट बाहिरिएको राष्ट्रिय स्वतन्त्र पार्टीले समेत विश्वासको मत दिने भएको छ।

राष्ट्रपति निर्वाचनको विषयमा कांग्रेस र माओवादीबीच नयाँ सहमति बनेपछि राप्रपाले फागुन १३ र नेकपा एमालेले फागुन १५ मा सरकारलाई दिएको समर्थन फिर्ता लिएका थिए। समर्थन फिर्ता लिएको एक महिनाभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार प्रधानमन्त्री प्रचण्डले पुनः विश्वासको मत लिन लागेका हुन्।