विराटनगर।

कोशी प्रदेशका मुख्य मन्त्री हिक्मत कुमार कार्कीले नेपाल सरकारले नेपाल प्रहरीलाई महत्वपूर्ण जिम्मेवारी सुम्पिएको बताउँदै न्युनतम पुर्वाधारका आवश्यकता पनि पुरा गर्न नसकिए यसबाट ठुलो अपेक्षा राख्न नसकिने बताएका छन् । वडा प्रहरी कार्यालय बिराटनगरको नव–निर्मित प्रहरी कार्यालय भवनको उद्घाटन पछि कार्यक्रमलाई सम्बोधन गर्दै उनले उक्त कुरा बताएका हुन् ।

उनले आवश्यक बजेट व्यवस्था गरेर प्रदेश प्रहरीलाई सुदृढ गर्ने, प्रविधी मैत्री बनाउने, बिपद व्यवस्थापनका आवश्यक सामाग्री उपलब्ध गराउने लगायत प्रहरीको माध्यमबाट शान्तिसुरक्षा र सु–शासनमा  प्रभावकारी भुमिकाको लागि प्रहरीकालाई चाहिने भौतिक पुर्वाधारदेखी विभिन्न प्रकारका सेवा सुबिधाहरुको सम्बन्धमा आवश्यक सहयोग गरिने बताएका छन् । त्यस्त्ै हालसालै स्थापना भएको कोशी प्रदेश प्रहरी अस्पताल प्रदेश सरकारलाई हस्तान्तरण भएमा प्रहरी अस्पताललाई थप स्तरोन्नती गरी सुविधा सम्पन्न अस्पताल बनाउनका लागि  प्रदेश सरकार प्रतिबिद्ध रहेको समेत बताए । 

कार्यक्रममा धन्यवाद मन्तब्य राख्दै कोशी प्रदेश प्रहरी प्रमुख राजेशनाथ बास्तोलाले भौतिक पुर्वाधार बिना प्रहरीले गर्ने दैनिक कामकाजमा सेवा र सहजताको बातावरणको सृजना नहुँदा सर्वसाधारणलाई प्रत्यक्ष असर पुग्ने भएकोले निर्माण सम्पन्न भएको नवनिर्मित भवनका कारण अबका दिनहरुमा सर्वसाधारणले प्रहरीबाट लिने सेवामा सहजता आउनुका साथै प्रहरी कार्य क्षमतामा समेत अभिबृद्धी हुने बिश्वास ब्यक्त गरे  ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दिपक पोखरेलले स्वागत गरेको कार्यक्रममा शहरी विकास कार्यालयका ईन्जिनियर रुद्र नारायण मिश्रले निर्माण सम्बन्धी प्रतिवेदन प्रस्तुत गरेका थिए ।  चार तला र ३४ कोठा भएको कार्यालय भवन कोशी प्रदेश सरकार, भौतिक पुर्वाधार बिकास मन्त्रालयबाट बिनियोजित ४ करोड ४ लाख ६३ हजार ८४३ रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको हो । 

कार्यक्रममा भौतिक पुर्वाधार विकास मन्त्री दुर्गाप्रसाद चापागाई, विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोईराला, कोशी प्रदेशका प्रमुख सचिव डा. दिपक काफ्ले, सडक पुर्वाधार तथा शहरी विकास मन्त्रालयका सचिव मोहनराज चापागाई, आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव उमेश बस्नेत, जिल्ला अदालत मोरङका माननिय न्यायधीस दुर्गा प्रसाद ढुङ्गेल, जिल्ला प्रशासन कार्यालय मोरङका प्रमुख जिल्ला अधिकारी बिरेन्द्र कुमार यादव, बिराटनगर महानगरपालिकाका कार्यकारी अधिकृत राजेन्द्र पराजुली, स्थानीय नागरीक समाजका प्रमुख तथा प्रतिनिधीहरु लगायतको उपस्थिति रहेको थियो ।