बाह्रौ राष्ट्रिय जनगणना २०७८ को जात जातिगत विवरण सहितको पूर्ण प्रतिवेदन १९ जेष्ठ २०८० मा मात्र सार्वजनिक भयो । प्रकाशित विवरणमा नेपालमा १४२ जाति १२४ भाषा र १० विभिन्न धर्म मान्ने समुदाय रहेको पाईयो । तथ्याङ्क विवरण अनुसार नेपालमा सबै भन्दा धेरै जनसंख्या भएको जाति क्षेत्री र कम जनसंख्या भएको जाति नुराङ रहेको छ । जसमा दशनामी जातिको जनसंख्या १ लाख ९८ हजार ८ सय ४९ जना छ । जुन कुल जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय अठ्हत्तर जना मध्ये ०.६८ प्रतिशत दशनामी हुन आउछ । यो विवरण २०६८ को जनगणना भन्दा ०.१८ प्रतिशतले कमी हो । २०६८ को गणनामा दशनामीको जनसंख्या ०.८६ प्रतिशत थियो । त्यतिबेला २ लाख २७ हजार ८ सय २२ जना दशनामीको संख्या थियो भने २०५८ को जनगणनामा ०.८८ प्रतिशत थियो । बीस वर्ष अगाडि नै दशनामीको संख्या १ लाख १ हजार १ सय एकाईस थियो । राष्ट्रिय सर्वाधिक महत्वको गणनामा दशनामी जातिको संख्या किन र कसरी घट्यो भन्ने विषय सर्वत्र चासो र खोजिको विषय बनेको छ ।

जनगणना २०७८ को पूर्व सन्ध्यामा नेपाल दशनामी समाजले गिरी, पुरी, भारती, वन, आरण्य, तीर्थ, सागर, सरस्वती, पर्वत र आश्रम १० थरलाई जातीय महलमा दशनामी लेखाउनु भन्ने सचेतना पनि नगरेको हैन तर जातिय पहिचानको कुरा नबुझेर या नबुझाईएर धेरै जसोले जातिगत महलमा क्षेत्री लेखाईको भेटियो ।

कर्णाली प्रदेशको खसान क्षेत्र मूल थाकथलो भएको दशनामी जाति देशको ७३ जिल्लामा बसोबास गरेको देखिन्छ जस्मा मनाङ, मुस्ताङ, रसुवा र डोल्पामा बसोबास देखिदैन भने हुम्ला जिल्लामा १३ जना पुरुषको मात्र संख्या देखाईएको छ । यो जातिको सबै भन्दा बढी जनसंख्या भएको जिल्ला दाङ र पालिकामा तुलसीपुर उपमहानगरपालिका रहेको छ । दाङ जिल्लामा १२ हजार ७५७ जना र तुलसीपुरमा ४ हजार १७० जना देखिन्छ  भने प्रदेशहरु मध्ये सबै भन्दा धेरै संख्या लुम्बिनी प्रदेशमा ४५ हजार १८४ जना र कम   जनसंख्या रहेको प्रदेशमा गण्डकीमा १३ हजार ६ सय ४० जना उल्लेख गरिएको छ । मुलुक भरि १ लाख ३ हजार १ सय २० जना महिला र ९५ हजार ७ सय २९ जना पूरुष देखाईएको दशनामी जातिको कोशी प्रदेशमा ३४ हजार ४ सय ३७ जना संख्या देखिन्छ । यस प्रदेशको कूल जनसंख्या ४९ लाख ६१ हजार ४ सय १२ हो यसरी हेर्दा कोशी प्रदेशमा ०.६९ प्रतिशत मात्र दशनामी हुन आउछ । हाम्रो जिल्ला झापा कै कुरा गर्ने हो भने कूल जनसंख्या ९ लाख ९८ हजार ५४ जना मध्ये १० हजार ७ सय ८२ जना मात्र दशनामी छन् । यो संख्या १.०८ प्रतिशत हुन आउछ । तथ्ग्याङक डाटा र यथार्थ संख्या मेल खादैन नेपाल दशनामी समाज सग मुलुलकभर बसोबास गर्ने बन्धुको संख्या ४ लाख भन्दा माथि रहेको विवरण छ भने झापामा समेत २० हजारको हाराहारीमा हाम्रो संख्या छ ।

राष्ट्रिय कूल जनसंख्यालाई प्रतिशतको आधारमा रोलक्रममा राख्दा दशनामी २५ औ स्थानमा मात्र आएको छ । यस समुदायका मानिसलाई समेत आफ्नो पहिचान के हो ? भन्ने कुरा उतिसारे प्रष्टता छैन झन बाहिरी मानिसले पुरी, वन, भारती भनेको के थरी हो भनेर उदेक लाग्दो जिज्ञासा तेसाएर दशनामी बन्धुलाई उपेक्षा गरेको पाईन्छ । गणनामा हाम्रो समुदायलाई जान्ने बुझ्ने मान्छे नभएको कारण गणकहरुले समेत दुविधामा तथ्याङ्क संकलन गरेको यर्थाथ सहजै अनुमान गर्न सकिन्छ ।

खस–आर्य समुदायका अन्य जाति क्षेत्रीको १६.४५ प्रतिशत, ब्राहमणको ११.२९ प्रतिशत र ठकुरीको १.७ प्रतिशत जनसंख्या रहेको छ यसै समुदाय अन्तर्गत पर्ने १० थरी दशनामी राज्यको लाभ सुविधा र पहिचानको क्षेत्रमा अझै पनि ओझेमा पारिएका छौ । खस आर्य समुदायलाई छुटाईएको समानुपातिक कोटामा हाम्रो समाजलाई विशेष आरक्षण र समावेशी प्रतिनिधिको ग्यारेन्टी बैधानिक हिसावले गराईनु पर्छ । हाम्रो समुदायको रीति रिवाज संस्कृति ऐतिहासिकतालाई संरक्षण, सम्बद्र्धनमा गर्न राज्यले अझै पनि यथेष्ट ध्यान पुर्याउन सकेको छैन । यो बिडम्बना हो । देशमा ठूला मानवशास्त्री, समाजशास्त्री हू भन्ने स्वघोषित बुद्धिजीवि पण्डितहरुले मन्दिर आश्रम, अखडा सत्सगमा बस्ने विभिन्न जात धर्मबाट विरक्तिएर केही समयका लागि सन्यास लिएका साधु सन्त, फकिर, पन्थी, लाई समेत पहिचानको नाममा  हाम्रो समुदायमा जबरजस्त यताकदा धकेदिएर दुनियालाई भ्रम पार्ने र पहिचान गिजोली दिने हर्कत गरेको पनि पाईन्छ ।

हामी दशनामी भनेको कर्मले हैन जन्मजात गृहस्थ आश्रम रहेको खस सभ्यतामा हुर्केको आदिवासी हौ । आादि जगतगूरु शंकराचार्यलाई कूल गूरु मान्ने दशनामीको पहिचान र सभ्यता शंकरचार्यको जन्म हुनु भन्दा सयौ वर्ष अगाडिदेखि नै खसान क्षेत्र सभ्याताको इतिहास हो । परापूर्वककालमा हिन्दू धर्म भन्दा जेठो शैव धर्म मान्ने र आज पनि मष्टा देवता पुज्ने आदिम जाति हो । 

 खास गरि मूलक संघीय गणतन्त्रमा गए पछि कतिपय स्थानीय पालिका, प्रदेशहरुले स्थानीय पाठ्यक्रम निर्माण गर्दा समेत हाम्रो जातिको बाहुल्यता रहेको स्थानमा समेत जातीय पहिचानका विषयहरुमा दशनामीमको पहिचान अटाउन नसकेको तितो यथार्थ पाईन्छ । 

 दश दश वर्षमा जनगणना गर्नु भनेको नागरिकको टाउको गन्नु मात्र हैन समग्र विकास नीति खाका साथै राष्ट्रिय पहिचानको उन्नत ऐना हेर्नु पनि हो । २०४८ सालको जनगणनामा नेपालमा जम्मा ६० जाति ३१ भषा भाषि थिए । अर्को दश वर्ष पछि २०५८ सालको गणनामा १०१ जाति ९२ भाषा भाषि पुगे भने २०६८ सालको जनगणनामा १२५ जाति र १२३ भाषा देखियो र हाल २०७८ को गणनामा १७ जाति थपिएर १४२ जाति पुगे । युगको माग बमोजिम पहिचानको मुदालाई झन फराकिलो र दरिलो हुदै गएको तथ्याङकले नै बताउछ ।  यस पटक त झन मगरबाट पुनलाई, गुरुङबाट घले, र थारुबाट रानाथारु छुटाईएको छ । 

नेपालको संविधान २०७२ को धारा २५८ अनुसार गठित राष्ट्रिय समावेशी आयोगले आफै अग्रसरता लिई राज्यको तर्फबाट विज्ञ कार्यदल गठन गरि दशनामी समुदायको जातिय अस्तित्वको गहिरो खोजी गर्नको लागि अध्ययन अनुसन्धान गर्न अति जरुरी छ नत्र दशनामी समाजको अस्तित्व खिइदै जान सक्ने खतरा टार्न सकिदैन ।

लेखक नेपाल दशनामी समाज कोशी प्रदेशका सह–सचिब तथा भारती बन्धु एकता समाज नेपालका केन्द्रिय अध्यक्षसमेत हुन् ।