• चन्द्र बस्नेत 

कनकाई । 

कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले  बालमैत्री वातावरणमा बालबालिकाको अधिकार तथा हकहितको संरक्षण, संवर्द्धन, सम्मान, प्रवर्द्धन र परिपूर्ति गर्न  स्थानीय सरकार प्रतिबद्ध रहेको बताएका छन् ।  राष्ट्रिय बाल दिवसको अवसरमा शुभकामना दिँदै उनले संविधान, बालबालिका सम्बन्धी कानुन र नीतिमा भएका कानुनी, नीतिगत र संस्थागत व्यवस्था कार्यान्वयन गर्न सरकार अग्रसर रहेको बताएका हुन् । 

विशेष संरक्षणको आवश्यक भएका बालबालिकाको संरक्षण र संवर्द्धन गर्न सम्बन्धित पालिकाबाटै वैकल्पिक हेरचाह र परिवारिक सहयोग गर्नु राज्यको दायित्व भएको उनको भनाई थियो । 

उनले बालबालिकाका लागि लगानी वृद्धि गर्दै जाने  प्रतिवद्वता जनाए । नगर प्रमुख पोखरेलले  बालबालिकाको पोषण, शिक्षा, स्वास्थ्य, संरक्षण र सहभागिताजस्ता आधारभूत बाल अधिकारसहित सबै प्रकारका बाल अधिकारको संरक्षण र संवर्द्धन गर्न÷गराउन संघीय सरकार, प्रदेश सरकार र स्थानीय तह सबैले  आउँदो वर्षदेखि थप लगानीका योजना र कार्यक्रम तर्जुमा गरी बालबालिकामा लगानी वृद्धि गर्न आवश्यक रहेकोे  औल्याएका छन् । 

यता ५९ औं राष्ट्रिय बाल दिवस २०८० का अवसरमा झापाको कनकाई नगरपालिकामा पनि अन्तरक्रिया तथा  मावितह स्तरीय नृत्य प्रतियोगिताका साथै सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।

‘सुनिश्चित बालमैत्री बानी ,व्यवहार,सुखी र समृद्व कनकाईको आधार’ नाराका साथ  कनकाई बाल सन्जालको आयोजनामा बालबालिकामा लगानी सुनिश्चित भविस्यको थालनी भन्ने मुल नारा राख्दै अन्तरक्रिया, मावि तह स्तरीय नृत्य प्रतियोगिताका साथै  सांस्कृतिक कार्यक्रम सम्पन्न भएको हो ।

कनकाई नगर बाल सन्जालका अध्यक्ष अभिषेक मिश्रको अध्यक्षतामा  सुरुङ्गामा भएको कार्यक्रममा नगर उपप्रमुख आशाशर्मा शिवाकोटीको प्रमुख आतिथ्य रहेको थियो। 

कार्यक्रममा प्रमुख शिवाकोटीले  केही बालबालिकाहरू अझै पनि आफ्नो बालअधिकारबाट वञ्चित भएको अवस्था रहेकाले उनीहरूको उचित संरक्षण र रेखदेख गर्न  सबैको कर्तव्य भएको बताइन् । उनले बाल यौन दुर्व्यवहार, बालबालिकाविरूद्धको हिंसा, बालविवाह, बालश्रम, बालबालिकाको बेचविखन तथा अनधिकृत ओसार–पसार जस्ता घृणित कार्यहरू हुन नसक्ने घरपरिवार, समुदाय, समाज र सिङ्गो नेपाल राष्ट्र निर्माण गर्न सबैको साझा दायित्व र कर्तव्य भएको बताइन् । 

कार्यक्रममा नगर बाल कल्याण अधिकारी उमानाथ ढकाले प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद खरेल, शिक्षा शाखा प्रमुख पिताम्वर गौतम लगायतले आ–आफ्नो धारणा राखेका थिए । 

 कार्यक्रममा मावि तह स्तरीय नृत्य प्रतियोगिता अन्तर्गत नगरका १३ निजी तथा सामुदायिक विद्यालय सहभागी मध्ये हरिकुल नमुना विध्यालय सुरुङ्गा प्रथम, मेरिगोल्ड अङ्ग्रेजी विध्यालय सुरुङ्गा द्वितीय तथा आदर्श विध्यामन्दिर घैलाडुब्बा तृतीय भएको नगर बाल सन्जालका अध्यक्ष मिश्रले जानकारी दिए।

कार्यक्रममा प्रथम , द्वितीय र तृतीय हुने बिद्यालयहरुलाई ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गर्नुका साथै सहभागी सबै बिद्यालयलाई प्रमाणपत्र समेत उपलब्ध गराइएको थियो। कार्यक्रममा विभिन्न बिद्यालयका बिद्यार्थीद्वारा बिज्ञान तथा विभिन्न कला समेत प्रर्दशन गरिएको थियो ।

कनकाई नगर बाल सन्जालका सदस्य सुजल मैनालीले स्वागत तथा औचित्य माथि प्रकाश पारेको कार्यक्रमको पहिलो सत्र नगर बाल सन्जालका  उपाध्यक्ष  अश्लेता कडेल र सह–सचिव प्रजवल आचार्यले सन्चालन गरेका थिए भने सास्कृतिक कार्यक्रमको सन्चालन सचिव अभिषक बुढाथोकी र सदस्य रुजा कडेलले संयुक्त रुपमा गरेका थिए ।

त्यस्तै कनकाई –८ नम्बर वडाकार्यालय र सुर्यज्योती वडा बाल सन्जालको संयुक्त आयोजनामा अन्तर मावि हाजिरी जवाफ प्रतियोगितामा सम्पन्न भएको छ। वडाध्यक्ष लीलाबहादुर कटुवालको अध्यक्षतामा भएको कार्यक्रममा नगर उपप्रमुख आशाशर्मा शिवाकोटीको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा 

भएको अन्तर मावि हाजिरी जवाफ प्रतियोगितामा सहभागी  विद्यालयहरु मध्ये  माउन्ट अन्नपूर्ण एजुकेशन फाउन्डेसन कनकाई ८,  पाथीभरा एकाडेमी कनकाई ८ र हिमाली माध्यमिक बिद्यालय कनकाई ८ ले क्रमशः प्रथम, द्वितीय र तृतीय स्थानको नतिजा प्राप्त गर्न सफल भएका थिए । 

कार्यक्रममा प्रमुख अतिथि शिवाकोटी वडा अध्यक्ष कटुवाल वडाका जनप्रतिनिधि तथा कर्मचारीहरुद्वारा  प्रथम, द्वितीय र तृतीय हुने बिद्यालयलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरेका थिए ।