दमक ।

संस्थागत विद्यालयको छाता सङ्गठन निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन दमक झापा र ऐरावती प्रकाशन प्रालिको संयुक्त आयोजनामा शिक्षण पद्धति पाठ्यक्रम विमर्श तथा सृजनात्मक शिक्षण कार्यशाला सम्पन्न भएको छ ।

दमक नगरपालिकाको सभाहलमा बिहीबार सम्पन्न कार्यसालामा दमक, गौरादह र कमल गाउँपालिका का सामुदायिक तथा संस्थागत विद्यालयका विषयगत शिक्षकको सहभागिता थियो । कतिपय सहभागी शिक्षकले सामुदायिक र संस्थागत विद्यालयका विषयगत शिक्षक एउटै कोठामा बसेर कार्यशालामा सहभागी हुँदा अनुभव साटासाट समेत भएको बताएका थिए ।

कार्यक्रमको संयोजन दमकको सप्तश्री एकाडेमीले गरेको थियो । एकाडेमीका संस्थापक प्रिन्सिपल रमेश बस्नेतले नेपाली र सामाजिक विषयका शिक्षकले कक्षा कोठामा विद्यार्थीलाई अध्यापन गराउन सजिलो विषय नभएको बताए । उनले भने ‘सामाजिक पढाउने ले पनि नेपाली पठाएको छ । नेपाली पढाउने शिक्षकले पनि सामाजिक पढाएको छ ।’ जुन विषयमा जुन शिक्षक अब्बल छ । त्यो विषय मात्र शिक्षकले अध्ययन–अध्यापन गर्न गराउन सहज हुने उनले बताए । 

भाषा सिकाउनु शिक्षकलाई चुनौतिको विषय भएकोले नेपालमै सर्वाधिक ख्याति कमाएका दुई विषयगत शिक्षकलाई आमन्त्रण गरेर कार्यक्रम संचालन गरिएको बस्नेतले जानकारी दिएका छन् । 

कार्यक्रममा सहभागी लिला न्यौपाने र शंकर गौतमले हरेक पालिकाले यस्ता कार्यक्रमको आयोजना गरे कुनैपनि विद्यालयको गुणस्तरीयतामा प्रश्न चिन्ह नआउने बताए । ‘वर्षमा कम्तिमा एकपटक यस्ता कार्यक्रम आयोजना गरे शिक्षक–शिक्षिकालाई पुनर्ताजगी गर्नेछ।’ उनीहरुले भने ।

ऐरावती पब्लिकेशन प्रा लिको प्राविधिक सहयोग रहेको सो कार्यक्रम को, पूर्व प्राज्ञ परिषद् सदस्य, नेपाल प्रज्ञा–प्रतिष्ठान, वरिष्ठ कवि, समालोचक तथा नेपाली पाठ्यपुस्तक लेखक प्राध्यापक डाक्टर देवी नेपाल र शिक्षा तथा मानव स्रोत विकास केन्द्रका निर्देशक, पाठ्यपस्तक लेखक, पाठ्यक्रम विज्ञ तथा वरिष्ठ साहित्यकार डा गणेशप्रसाद भट्टराईले नेपाली र सामाजिक विषयको शिक्षण पद्धति पाठ्यक्रम विमर्श तथा सृजनात्मक कार्यशालाको सहजीकरण गरेका थिए ।

शिक्षा समितिका अध्यक्ष समेत रहेका दमक नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष कुवेर प्रसाद भट्टराईको प्रमुख आतिथ्यमा सम्पन्न उद्घाटन सत्र दमक नगर प्याब्सनका अध्यक्ष जनार्दन मैनालीको अध्यक्षतामा भएको थियो । सो कार्यक्रमको सहजीकरण सचिव नविन योगीले गरेका थिए ।

उक्त कार्यक्रममा प्याब्सन कोशी प्रदेशका सचिव कोषराज प्याकुरेल, केन्द्रका सल्लाहकार समितिका श्रवण पोखरेलले पनि मन्तव्य राखेका थिए । कार्यक्रममा प्याब्सन झापाका अध्यक्ष गौरिमान फागोको पनि सहभागिता थियो ।

९४ जना सहभागी शिक्षक–शिक्षिकालाई प्रमाण पत्र वितरण गर्दै समापन सत्रकी प्रमुख अथिति दमक नगरपालिकाकी उपप्रमुख रिगिना भट्टराई प्रसाईले सिकाइले मानिसलाई सधै ताजा र अब्बल बनाउने बताइन् । 

दमक नगरपालिकाले शिक्षकलाई तालिम, प्रदान गर्ने विषयमा सधै सहयोग गर्ने उनले बताइन् । कार्यशालाबाट प्राप्त गरेका ज्ञानलाई कक्षा कोठामा लगेर व्यावहारिक तरिकाले उतार्न पनि उनले शिक्षक–शिक्षिकालाई अपील गरिन् ।