हल्दिबारी । 

स्व. चन्द्रबहादुर माक्रिहाङ्ग राईको सातौं वार्षिक पुण्य तिथिका दिन स्व. चन्द्रबहादुर माक्रिहाङ्ग राई स्मृति प्रतिष्ठानद्वारा हल्दिबारी–२ को नव सृजना प्राथमिक विद्यालयका बालबालिकाहरुलाई शैक्षिक सामग्री वितरण गरेको छ । 

विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष लक्ष्मीप्रसाद खनालको अध्यक्षता तथा हल्दिबारी गाउँपालिकाका अध्यक्ष रबिन्द्रप्रसाद लिङ्गदेनको प्रमुख आतिथ्यमा शुक्रबार शैक्षिक सामाग्री वितरण गरिएको हो ।

कार्यक्रममा हल्दिबारी २ का वडाध्यक्ष सुकलाल राजवंशीको विशेष आतिथ्यमा रहेको थियो । कार्यक्रममा वडा नम्बर २ का जनप्रतिनिधिहरु विष्णुबहादुर राई, गणेश मगर तथा  रचना कुलुङ्ग राईको समेत उपस्थिति रहेको थियो ।

विद्यालयका सल्लाहकार समितिका संयोजक कुमार राईले कार्यक्रमको औचित्य माथि  पार्दै स्व. चन्द्रबहादुर राईको जीवनीका बारेमा चर्चा गरेका थिए। त्यसैगरि वडाध्यक्ष सुकलाल राजवंशीले  सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर  सुधारका लागि सहयोग गर्ने विचार व्यक्त गरेका छन् ।  प्रमुख अतिथि लिङ्गदेनले पालिकाले शिक्षा क्षेत्रमा गरेका अनुकरणीय कार्यको चर्चा गर्दै उक्त विद्यालयको समस्याहरु हल गर्न छिट्टै कार्य गर्ने बिचार व्यक्त गरे । कार्यक्रममा स्वागत शिक्षक शान्ता पोखरेलले गरेकी थिइन् । 

विद्यालयमा स्व. चन्द्रबहादुर राईका सन्ततीहरु तथा हङकङ सानसुईपो समाजले ३ लाख रुपैयाँको अक्षयकोषको स्थापना गरेको र सो रकमको ब्याजबाट प्रत्येक वर्ष स्व. राईको स्मृतिमा उक्त विद्यालयका बालबालिकाहरुलाई विद्यालय पोशाक, छात्रवृत्ति र शैक्षिक सामग्रीहरु वितरण गर्दै आएको छ ।

यसवर्ष संस्थाले विद्यालयको बाल कक्षाका लागि २ थान बालमैत्री राउन्ड टेवल, ३ थान सिजीको सिलिङ पंखा, ९० जना बालबालिकाहरुलाई पानी पिउने बोतल , कापी, पेन्सिल, डटपेन वितरण गरेको र उक्त कार्य गरि बचत रहेको  २ हजार २८५ रुपैयाँ विद्यालयका प्रधानाध्यापकलाई नानीहरूका लागि आवश्यक सामग्री खरिद गर्नका लागि हस्तान्तरण समेत गरेको छ।