डादशैं नेपालीहरुको महान चाड हो । दुःखलाई बिर्सिएर सुख साटासाट गरी हर्सोल्सका साथ बडादशैं मनाइने गरिन्छ । ठूलालाई भन्दा पनि साना–साना बालबालिकाका लागि एकदमै महत्वपूर्ण पर्व पनि मानिन्छ । बडादशैं मनाउने तरिका पहिलेको तुलनामा केही परिवर्तन भएको छ । समयको गतिसँगै बडादशैं मनाउने तौरतरिका फेरिए पनि दशैंको बिशेषता भने उस्तै छ । 

समय जसरी डिजिटलयुक्त बन्दै गएको छ, त्यसरी नै पुराना परम्परा, संस्कार पनि प्रविधिसँगै केही फरक बन्दै गएका छन् । प्रविधिको पहुँच नहुँदाको बडादशैं र हुँदामा धेरै फरक भइसकेको छ । अहिले विश्वको जुनसुकै स्थानमा भएका आफन्तजनसँग प्रत्यक्ष भेटघाट नभएपनि डिजिटल माध्यमबाट सम्वाद गर्न सकिन्छ । जसले एकअर्काका कुरा सहज रुपमा आदान–प्रदान गर्न सहज हुँदै गएको छ । 

 बडादशैं नेपालीहरुको मुख्य पर्व हो । जुन पर्वले एक–अर्कामा भेटघाट गराउँछ । टाढा–टाढा रहेका आफन्तजनलाई भेटघाट गराउँछ । केटाकेटीहरुलाई खुसी बनाउँछ । नयाँ कपडा लगाउने, आफन्तजनसँग भेटघाट गराउँदै दुःख, सुख साट्ने एउटा माध्यम पनि दशैंले जुराउँछ । त्यसैले पनि बडादशैं एकदम महत्वपूर्ण पर्वका रुपमा लिने गरिन्छ । 

जस्तोसुकै दुःख भएपनि दशैंमा सवै खुसी देखिन्छन् । आफ्नो दुःखलाई लुकाएर सुखको अनुभूति गराइने पर्वका रुपमा पनि दशैंलाई लिने गरिन्छ । नेपालीहरुको महान पर्व बडादशैंको मुख्य दिन घरका मान्यजनबाट टीका थापेसँगै बाहिर रहेका मान्यजनबाट टीका लगाउनेहरुको चहलपहल बढ्ने गर्छ । बिजयादशमीबाट शुरु भएको टीका लगाउने र मान्यजनबाट आशिर्वाद थाप्ने क्रम आश्विन शुक्ल पूर्णिमा अर्थात् कोजाग्रत पूर्णिमाका दिनसम्म लगाएर बिदा गरिन्छ । 

  • संक्षिप्त रुपमा केही समय पहिलोको दशैं :

केही समय अघिसम्म दशैं मनाउने तौरतरिका अलिक फरक थियो । दशैंका लागि चिउरा कुटाउन मिलमा महिनौ अघिदेखि लाइन लाग्नुपथ्र्यो । महिनौदिन अघि नै माछामासु खानेले खसी किन्ने, दशैंका लागि नयाँ कपडा किन्ने, गाउँघरतीर सवै मिलेर पिङका लागि पैसा उठाइन्थ्यो । उठाएको पैसाले पिङका लागि पाटा तथा खर किनेर लठारो बाट्ने, बाँस किन्ने र पिङ तयार गरिन्थ्यो । जसले दशैं आएको अनुभव गराउथ्यो । त्यतिवेला अहिले जस्तो इन्टरनेट र प्रविधिको पहुँच थिएन । बिदेश तथा टाढा रहेका आफन्तजन आउने भनेपछि कहिले आउने कहिले भेट्ने भनेर धेरै खुसीको अनुभूति हुने गथ्र्यो । पहाड तथा बिकट ठाउँहरुमा त झन् अझ फरक तरिकाको रौनकता हुने गथ्र्यो । दशैंमा बाहिर रहेका मान्यवर, ससुराली, मामाघर जाने, नयाँ कपडा लगाउने, मिठो–मिठो खानेकुरा खाने जस्ता कुराले छुट्टै हर्सोल्लास गराथ्यो । त्यतिवेला अहिले जस्तो यातायातको सुबिधा, जताततै पसल नहुँदा पनि दशैंमा नयाँ कपडा किन्ने र माइती मामली जाने कुराले धेरै सुखी गराथ्यो । 

  • अहिलेको डिजिटल दशैं संक्षिप्तमा :

समयको गतिसँगै अहिले दशैं मनाउने तरिका अलिक फरक भएको छ । विकाससँगै अहिले विश्वको जुनसुकै स्थानमा भएका ब्यक्तिसँग फोन मार्फत तथा भिडियो कलमार्फत प्रत्यक्ष कुरा गर्न सकिने, जताततै पसल सञ्चालन भएसँगै कपडा किन्न दशै नै पर्खिनु पर्ने अवस्था नरहेको, तयारी चिउरा पसलमै पाउने भएकाले चिउराको लागि मिल वा ढिकीमा पालो पर्खनु नपर्ने, गाउँ–गाउँमा बिभिन्न क्लब र समुह गठनसँगै पिङका लागि समुह बनाइ रहनु पर्ने बाध्यताहरुको अन्त्यले गर्दा पनि दशैं पहिलेको तुलनामा अहिले धेरै सहज बन्दै गएको अनुभूति भएको छ । 

तर, केही बर्षअघिको कोरोना महामारीका कारण विश्वब्यापी रुपमा भएको लकडाउनका कारण सिकिस्त बनेको ब्यापार ब्यवसाय भने उठ्न नपाउँदै आर्थिक मन्दीले चपेटामा परेका धेरै उद्योगधन्दा बन्द भइसकेका छन् भने केही बन्द हुने क्रममा छन् । जसका कारण नेपालीहरुका ठूला पर्वहरु पनि खल्लो भएका छन् । तर, जे होस् सवैले यसबर्ष पनि आफ्नो आर्थिक अवस्था अनुसारको बडादशैं मनाइसकेका छन् । दशैं आयो आयो भन्दा भन्दै यस बर्षको दशैं सकिएको र आगामी बर्ष दशैंको पर्खाई हामी सवै आ–आफ्नो गन्तव्यतर्फ लाग्ने क्रम जारी छ । 

नेपालीले भव्यरुपमा मनाउने दुर्गा पक्ष अर्थात् बडादशैँ पर्व धनधान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधनासहित रात्रिमा जाग्राम बसेपछि आजदेखि समापन भएको छ । आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा आज साँझ सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना गरी रातभर जाग्राम बसेर मनाएसँगै बडादशैँ पर्व सम्पन्न हुनेछ ।

त्यसैले देश तथा बिदेशमा रहने सम्पूर्ण नेपाली दाजुभाई तथा दिदिबहिनीहरुमा बडादशैं २०८० को मान्यजनबाट लगाएको टीका र आशिर्वादका कारण हामी सवैमा शुभ रहोस् भन्दै हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दै आगामी दिन सुख, शान्ति, समृद्धिको कामनासहित उत्तरोत्तर प्रगति होस् भन्ने कामना गर्दछु ।