बिर्तामोड । 

झापाको बिर्तामोड नगरपालिकाले तीन जना शिक्षकलाई ‘उत्कृष्ट शिक्षक पुरस्कार’ प्रदान गरेको छ । शिक्षा दिवसमा प्रदान गरिदै आएको सो पुरस्कार शिक्षक आन्दोलनका कारण रोकिएको थियो । नगरपालिकाले बिहीबार नगर क्षेत्रका तीन जना शिक्षकलाई पुरस्कार प्रदान गरेको हो । 

मावि तर्फको दुर्गा मावि गरामनीका लक्ष्मण शिवाकोटी, आधारभूततर्फ मोहनमाया माविका भेषराज चौलागाई र प्राथमिकतर्फ जनता प्राविका डिल्लीरमण भट्टराईलाई  उत्कृष्ट शिक्षक पुरस्कारबाट सम्मानीत गरिएको हो । उनीहरुलाई जनही नगद ५० हजार रुपैयाँसहित सम्मानपत्रले पुरस्कृत गरिएको थियो । 

नगरपालिकाले उत्कृष्ट शिक्षक छनौटका लागि आवेदन माग गरेको थियो । आवेदनका आधारमा नगरले उत्कृष्ट शिक्षक छनौट गरी पुरस्कृत गरेको शिक्षा शाखाका अधिकृत केशर खवासले जानकारी दिए । अघिल्लो वर्ष शेरबहादुर श्रेष्ठ, जनक थापा र श्याम दाहाललाई उक्त पुरस्कार प्रदान गरिएको थियो । 

त्यस्तै नगरस्तरीय कक्षा ८ को परीक्षामा उत्कृष्ट जीपीए ल्याउने महेन्द्र रत्न माविकी छात्रा विद्या दाहाल र मोहनमाया माविकी छात्रा एलिना तिम्सिनालाई जनही १५ हजार नगदसहित पुरस्कृत गरिएको छ । 

 सोही कार्यक्रमका बिच २०७९ मा शिक्षण पेशाबाट सेवा निवृत्त भएका ११ जना शिक्षकहरुलाई सम्मानपत्रसहित विदाई गरिएको छ । विदाई हुने शिक्षकहरुमा तोयानाथ काफ्ले सरस्वती मावि, कृष्णप्रसाद पाठक दुर्गा मावि, देवीप्रसाद पराजुली दुर्गा मावि, विरेन्द्रप्रसाद बुढाथोकी सहिद लक्ष्मी प्रावि, नरेन्द्रप्रसाद गुरुङ्ग चमरधाप प्रावि, कृष्णप्रसाद रिजाल वीर अमरसिंह मावि, रघुनाथ पौडेल महेन्द्र रत्न मावि, रवीन कुमार शर्मा महेन्द्र रत्न मावि, दिलकुमार मुखिया महेन्द्र रत्न मावि, कृष्ण सुवेदी निराकार शुक्रराज आ.वि, र प्रेम बहादुर लिम्बु महेन्द्रज्योती मावि रहेका छन् । 

 कार्यक्रममा स्थानीय तहको पाठ्यक्रम आचरण सचेतना शिक्षा निर्माण समितिका पदाधिकारी युवराज पाण्डे, डम्बर बहादुर बस्नेत, मोहन ओली, युवराज कट्टेल, टंक सेढाई, श्याम दाहाल, लीला भण्डारी, भोजराज दाहाल, उमा भण्डारी, देवेन्द्र हुमागाई, टीका पोख्रेल, तिलचन भण्डारी, दिनेशप्रसाद आचार्य र केशरबहादुर खवासलाई सम्मान गरिएको छ । 

 नगर प्रमुख पवित्रा महतारा प्रसाई, उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला र प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार न्यौपानेले पुरस्कृत तथा सम्मान प्रदान गरेका थिए ।  

 कार्यक्रमको प्रमुख अतिथि नगर प्रमुख प्रसाईले नगरपालिका शिक्षा क्षेत्रको विकासका लागि सधैं सजग रहेको बताइन् । उनलेले शिक्षा क्षेत्रको प्रगतिका लागि शिक्षकहरुलाई उत्प्रेरणा प्रदान गर्न आवश्यक रहेको बताइन् । नगर प्रमुख प्रसाईले आगामी दिनमा नीजि र सामुदायिक दुवै क्षेत्रका उत्कृष्ट शिक्षकहरुलाई सम्मान गर्ने घोषणासमेत गरेकी थिइन् ।  

 सामाजिक विकास समिति संयोजक यमुना आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा कार्यपालिका सदस्यहरु सीता ढुङगाना, तिला गौतम, निर्मला सुनुवार, एमाले नेता देवराज कार्की, नेल्टा झापाका अध्यक्ष धर्मेन्द्र भट्टराई, विभिन्न विद्यालयका प्रअ, शिक्षक गुरुभक्त न्यौपाने, छन्दुराम भण्डारी, योगेन्द्रमणी दाहाल लगायतको उपस्थिति रहेको थियो ।