कनकाई ।  

झापाको कनकाई नगरपालिकामा  लैङ्गिक हिंसाको अवस्था, प्रकृति र कानुनी व्यवस्था विषयक विद्यार्थी लक्षित सचेतनामूलक तालिम तथा महिला हिंसा सम्बन्धी विभिन्न वडामा  कानूनी प्रशिक्षण कार्यक्रम आईतबार सम्पन्न भएको छ ।

लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान अन्तरगत कनकाई नगरपालिकामा महिला हिंसा सम्बन्धी कानूनी प्रशिक्षण  एवम् विद्यार्थी लक्षित सचेतनामूलक तालिम कार्यक्रम सम्पन्न  भएको हो ।

किशोरावस्थाका बालबालिकालाई लक्षित गरी कनकाई नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा लैङ्गिक हिंसामा प्रविधिको प्रयोग, हिंसाको प्रकृति, समाजमा देखिएका हिंसाजन्य घटनाक्रम, हिंसामा पर्न सकिने सम्भावित जोखिम र बच्ने उपाय लगायतका विषयमा प्रशिक्षण अधिवक्ता तारा बारकोटीले  सहजीकरण गरेका थिए । 

त्यसैगरी लैंङ्किक हिंसा, बाल लैङ्गिक हिंसा, बालविवाह, बलात्कार जस्ता जघन्य अपराधजन्य घटनामा दोषी उम्काउन गरिने प्रयास र पीडितले अपनाउनु पर्ने सचेतता कानुनी व्यवस्था जस्ता विषयमा  नगरका कानुन अधिकृत भुपेन्द्र बस्नेतले  सहजीकरण गरेका थिए । 

 १६ दिने अभियान अन्तत्रगत नै यस अघिपनि महिला हिंसाविरुद्धको कानूनी शिक्षा दिने उद्देश्यले  वडा न १ को कार्यक्रम नगरपालिकाको सभाहलमा  त्यस्तै वडा न ५ र ८ मा समेत   २÷२ दिवसीय कार्यक्रमको  आयोजना गरिएको थियो। कार्यक्रममा लैंगिक हिंसा सम्बन्धी कानूनी शिक्षा प्रदान गरिएको महिला तथा बालबालिका शाखाकी प्रमुख टीका खतिवडाले जानकारी दिइन् । 

नगर उपप्रमुख  आशा शर्मा शिवाकोटीको अध्यक्षतामा भएको कार्यक्रममा  प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद खरेलको प्रमुख आतिथ्य रहेको थियो। प्रमुख अतिथि खरेलले  अधिकांश लैंगिक हिंसाका घटना घरपरिवार, आफन्तबाटै हुने गरेको र पछिल्लो समय यसमा केही कम हुँदै गएकोमा खुशी ब्यक्त गरे । 

कार्यक्रममा नगर उपप्रमुख  शिवाकोटीले गर्भावस्थादेखि नै महिला हिंसा शुरु हुने गरेको बताइन् । उनले महिला हिंसा न्यूनीकरणका लागि सबैको सामूहिक पहल, सहयोग र सहकार्य आवश्यक रहेको उल्लेख गरिन् । कार्यक्रममा नगरभरिका निजी तथा सामुदायिक  विद्यालयका एक सय ५० भन्दा बढी विद्यार्थीहरुको  सहभागीता रहेको थियो ।

कार्यक्रममा शिक्षा शाखा प्रमुख पिताम्बर गौतम, वडा नं. १ का अध्यक्ष सुशील कुमार पोखरेल, कनकाई अपांग सघका अध्यक्ष पुस्पलाल घिमिरे,  हरिकुल नमुना  विद्यालय सुरुङ्गाका शिक्षक सन्दीप मरासिनी, सरस्वती माविका शिक्षक सुर्यप्रसाद अधिकारी, चम्फापुर माविका शिक्षक कुबेर पौडेल कनकाई अपांग सघका कोषाध्यक्ष सृजना बराल  लगायतले शुभकामना मन्तव्य राख्दै लैंगिक हिंसा जरैदेखि अन्त्य गर्नुपर्नेमा जोड दिए । नगर उपप्रमुख शिवाकोटीको अध्यक्षतामा सम्पन्न  कार्यक्रमा नगर बाल्सन्जालका अध्यक्ष अबिशेक मिश्रले स्वागत गरेको कार्यक्रमको सञ्चालन कनकाई नगर महिला तथा बालबालिका शाखा प्रमुख टीका खतिवडाले गरेकी थिइन् । 

कार्यक्रममा सहभागी विद्यार्थीहरुका तर्फबाट हरिकुल नमुना  विद्यालय सुरुङ्गाका विद्यार्थीहरु दिक्षयान्त  प्रसाईं , संस्कृती पौडेल  र आयुस्मा खतिवडाले कार्यक्रम उपयोगी रहेको प्रतिक्रिया दिदै दैनिक जीवनमा कार्यन्वयन गर्न र गराउन भुमिका खेल्ने धारणा राखेका थिए ।

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान हरेक वर्ष नोभेम्बर २५ तारिख देखि डिसेम्बर १० तारिखसम्म विश्वभर विविध कार्यक्रमको आयोजना गरि मनाइन्छ । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानमा मुख्यत महिलामाथि हुने हिंसा विरुद्ध आवाज उठाउँदै लैङ्गिक समानता र सामाजिक न्यायका पक्षमा कार्यक्रमहरु केन्द्रित हुने  गरेको छ ।