बिर्तामोड उद्योग वाणिज्य संघको फागुन १४ गते हुने निर्बाचनका विषयमा अध्यक्ष पदका उम्मेद्वार राजु न्यौपानेसंग गरिएको कुराकानी । 

  • मत सर्वेक्षणले त तपाईले  विजय हासिल गर्न नसक्ने देखाएको छ नि ?

ती पत्रकारहरुले साझा र  निष्पक्ष तरिकाले सर्वेक्षण गरेका होइनन् । यदि तपाईहरुले निष्पक्ष अनुगमन गर्नु हुन्छ भने बजार अनुगमन गर्नुहोस् । बजार अनुगमन गरेर सोध्नुस व्यापारीहरुलाई  । आज व्यापारी कसको पक्षमा छन्  ?जसको पक्षमा व्यापारी छन् , त्यसको बिजय हुन्छ  । त्यसले गर्दा हाम्रो जित सुनिश्चित छ  । सुनिश्चित यो कारणले छ कि हिजोको दिनमा म वाणिज्य संघमा बस्दै गर्दाखेरि, १२–१३ बर्षदेखि  काम गरिरहँदाखेरि विभिन्न व्यवसायीहरुको समस्याको समाधान मैले आफैले गरेको छु । मलगायत हाम्रै टिमले गरेको हो  । व्यवसायीलाई पर्दाखेरि म व्यवसायीहरुको लागि आन्तरिक राजश्व कार्यालय पुगेको छुइनँ कि सिडिओ कार्यालय पुगेको छुइनँ कि बिर्तामोड ईलाका प्रहरी कार्यालय पुगेको छुइनँ कि एसपी कार्यालय पुगेको छुइनँ । उहाँहरुको हरेक समस्या– जस्तै लेनदेनको कुरामा दुईपक्षीय राखेर सहजीकरण गरेर उहाँहरुलाई न्याय दिएको छुइनँ कि ।  यी यस्ता समस्यामा व्यवसायीको  लागि काम गरेका छौ  । त्यसैले गर्दा व्यवसायीहरु हाम्रो पक्षमा छन्  ।

  • एकातिर पाँच दल र अर्कोतिर नेपाली कांग्रेस एक्लै । चुनाव जित्न त गाह्रो हुन्छ होला ?  

पाँचदल गठबन्धन उहाँहरुसित छ, हामी एक्लै छौ  । त्यसले गर्दा पाँच दल ,दश दल हुँदा हामीलाई केही फरक पर्दैन  । व्यवसायीहरु झन्डा बोकेर हिड्ने हँुदैनन्  । व्यवसायीहरुलाई समस्या पर्दा पुग्ने मान्छे भएपछि उहाँहरुले व्यक्ति हेर्ने हो  ।जसले काम गर्यो उसलाई भोट हाल्नु हुन्छ ।  त्यसले गर्दा जुन सर्वेक्षणका कुरा गर्नु भयो, मलाई त्यो सर्वेक्षण सुनेर हाँस उठेर आयो । एउटा मिडियामा काम गर्ने राष्ट्रको चौथो अङ्गले निष्पक्ष ढंगले त्यसको सर्वेक्षण गर्नु पर्छ जस्तो लाग्छ । म उहाँहरुलाई अनुरोध गर्न चाहन्छु तपाईहरु निष्पक्ष सर्वेक्षण गर्नुहोस् ,कसको माहौल कसको पल्ला भारी छ त्यो व्यवसायीहरुले भन्नुहुन्छ ।

  • राजु न्यौपाने  र लोकताान्त्रिक प्यानलको बिरुद्धमा बिभिन्न फन्डा फैलाउने काम हुँदैछ  । जस्तो देवीहाटको कुरा । त्यस्ता फन्डाहरुले तपाईलाई असर पार्दैन ?

देवीहाटको फन्डा उठाए हामीलाई झन् राम्रो हुन्छ । किनभने हामीले केको लागि  काम गरियो भन्दा व्यवसायीको लागि गरियो । देवीहाटमा बसेका २–३ सय व्यवसायीलाई न्याय दिनको लागि अहोरात्र खट्यौ  ।स्थानीय सरकार नगरपालिकाले    उहाँहरुको कुरा सुनेन । एउटा बत्ती बालदिनु भन्दा बत्ती नबालिदिने स्थानीय सरकारले । त्यसको बिरुद्धमा हामीले ज्ञापनपत्रसहित  डेलिकेशन गयौ । नमान्दा अन्तिम बिकल्पको रुपमा हामी व्यवसायी गएर नगरपालिका घेरेपछि अन्त्यमा बत्ती दिलाउन सफल भयौ  । हाम्रो आन्दोलन पनि सफल भयो  ।व्यवसायीका पक्षमा लड्दै थियौं ।स्थानीय सरकारले प्रहरी लगाएर धरपकड गरेर हिरासतमा राख्ने काम गर्यो तर त्यसमा हामी एक इन्च पनि हल्लेनौ ।किनभने व्यवसायीको पक्षमा लड्दा लड्दै पुलिसले हामीलाई मार्छ ,गोली हान्छ भने त्यो हामीलाई सहर्ष स्वीकार छ । तर, व्यवसायीलाई अन्याय भयो त्यसबिरुद्धको पनि उमेद्वारी हो । करका कुराहरु पनि छन्  ।व्यवसायीहरुलाई अकाशिएको ऋणको ब्याज तिर्नु परेको छ  । बैंकको ऋणको ब्याज तिर्न सकेका छैनन्  । सटर भाडा तिर्न सकेका छैनन् अनि यस्तो समस्यामा स्थानीय सरकारले अनुगमन गर्ने कि नगर्ने ?व्यवसायीको संस्था उद्योग वाणिज्य संघ भए पनि हरेक कुराको अभिभावक स्थानीय सरकार हो  । त्यसैले व्यवसायीहरुलाई पनि सुक्ष्म तरिकाले अध्ययन गरेर राहत दिने काम गर्नु पर्छ  । राहत दिने कार्यक्रमहरु स्थानीय सरकारले ल्याउनु पर्छ  । खाली राजश्व मात्र लिने ,पैसा मात्र लिने, कर मात्र लिने र व्यवसायीलाई कुनै पनि रिटन नगर्ने । एउटा व्यवसायीको बर्खामा दोकानभित्र पानी पसेर कपडा भिजेको अवस्था त्यसलाई अहिलेसम्म ब्यबस्था गरेको छैन  ।बजारमा ढलहरुको ढकनी छैन । अँध्यारोमा मान्छे मरेको अवस्था छ  । कति मान्छे घाइते भएका छन् । त्यस्तो कुरा स्थानीय सरकारले हेर्नु पर्छ कि पर्दैन ?स्थानीय सरकारले हेर्नु पर्यो, काम पनि गर्नु पर्याे । 

  • अर्को प्यानललाई जिताउनको लागि नगरपालिका र  जनप्रतिनिधि लागेको आरोप सही हो त ?  

नगरपालिकाले अर्को पक्षलाई  जिताउन लागेकै हो । जनप्रतिनिधिहरु आचारसंहिताविपरित   चुनावी घरदैलो कायक्रममा हिडेको देखेका छौं । जनप्रतिनिधिहरु भनेको साझा हुन् ।  आज जसरी घरदैलोमा हिड्नु भयो अबदेखि नहिड्न हार्दिक अनुरोध गर्दछु  । व्यवसायीहरुले धेरै  कर तिर्न सक्दैनन् भन्ने पक्षमा हाम्रो उमेद्वारी हो । मेरा प्रतिद्वन्द्वी  अर्जुन मैनालीले बढी  कर लिनु पर्छ भनेर नगरपालिका गएर हस्ताक्षर  गरेको सबैलाई थाहा छ  । मेरो मुख्य प्रतिस्पर्धा भनेको व्यवसायीलाई कुनै पनि प्रकारको डर, आतंक, धम्की, चन्दा, बैंकको  अप्ठ्यारोविरुद्ध सहयोग गर्नु पर्छ  । 

  •  व्यवसायीहरुले सहयोग गर्ने र चुनाव जित्ने कुरामा कतिको ढुक्क हुनुहुन्छ ?

  हामी ढुक्क छौं । व्यवसायीको पक्षमा दिलोज्यान दिएर काम गरेकाले उहाँहरुले हामीलाई मत दिएर जिताउने कुरामा हामी ढुक्क छौं । त्यो माहौल देखेर  अर्को प्यानलका साथीहरु अतालिएका छन् । अनि अनेक विवाद निकाल्न खोजिरहेका छन् । निर्वाचन सार्ने षड्यन्त्र पनि हुँदैछ । म उहाँहरुलाई  स्वस्थ प्रतिष्पर्धामा आउन आग्रह गर्न चाहन्छु । साथै कसैको बहकाउमा नलागेर व्यवसायीको पक्षमा काम गरेका र अझै गर्नसक्ने आफ्नो नेतृत्वको लोकतान्त्रिक व्यावसायिक प्यानललाई अत्यधिक मत दिएर जिताउन आम व्यवसायीहरुलाई हार्दिक आव्हान गर्दछु ।