सुरुङ्गा । 

झापाको कनकाई नगरपालिका–३ स्थित सुरुङ्गामा पहिलो पटक आयोजना भएको तीन दिने कनकाई कला, संस्कृति तथा साहित्य महोत्सव शुरु भएको छ । रोटरी क्लब अफ सुरुङ्गाको आयोजनामा भएको महोत्सव सोमबार (आज) देखि शुरु भएको हो । कनकाई–३ को पशुपति अंग्रेजी माबि परिसरमा १६ गतेसम्म सञ्चालन हुने महोत्सवको बरिष्ठ अभिनेता तथा गीतकार नीर  शाहले उद्घाटन गरेका हुन् । 

आयोजक संस्था रोटरी क्लब अफ सुरुङ्गाका अध्यक्ष शिवकुमार कँडेलको अध्यक्षतामा भएको कार्यक्रममा बरिष्ठ अभिनेता तथा गीतकार नीर  शाहको प्रमुख आतिथ्य रहेको थियो । रोटरी क्लब अफ सुरुङ्गाका संस्थापक अध्यक्ष एलपी उप्रेतीले स्वागत गरेको उद्घाटन कार्यक्रममा प्रमुख अतिथि शाह, कनकाई नगर प्रमुख राजेन्द्रकुमार पोखरेल, समाजसेवी शेरबहादुर थापा लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन रोटरी क्लब अफ सुरुङ्गाकी सचिव बिनिता मैनालीले गरेकी थिइन् । महोतसव उद्घाटन अघि सुरुङ्गा बजार सरसफाई र र्याली गरिएको थियो । 

महोत्सवका माध्यमबाट कनकाई नगर क्षेत्रको साहित्य, संस्कृति र कलाको प्रवद्र्धन गर्ने उदेश्यले महोत्सव आयोजना गरिएको रोटरी क्लब अफ सुरुङ्गाका पूर्व अध्यक्ष कुमारमणि पोखरेलले जानकारी दिए । 

mahotsab 1

महोत्सवमा राष्ट्रियता झल्कने र संस्कृतिको प्रदर्शन गर्ने, मनोरञ्जनात्मक सांस्कृतिक कार्यक्रमहरू समावेश गरिने आयोजक समितिका संयोजक अखिलकुमार कोइरालाले जानकारी दिए । त्यस्तै महोत्सवमा कविता, लेख, प्रशिक्षण, जिल्ला स्तरीय साहित्य गोष्ठी, १२ वर्ष उमेर समूहकाले भागलिन सक्ने गरि कविता वाचन, जातीय भेषभूषा प्रदर्शन र राष्ट्र स्तरको साहित्य गोष्ठीलगायतका कार्यक्रमहरू रहेको आयोजकले जानकारी दिएको छ ।  

साहित्य महोत्सवमा अग्रज साहित्यकारहरु तुलसी दिवस, अर्जुन पराजुली, प्राध्यापक डाक्टर रामप्रसाद ज्ञवाली,  प्राध्यापक डा. देवी नेपाल, कवि मनु मञ्जिल, धिरेन्द्र प्रेमर्षि, प्रदीप रोदन, लक्ष्मण गाम्नाङ्गे, कुन्ता शर्मा, सुमन स्मारिका, हरिमाया भेटवाल, गीतकार शिशिर योगी, हास्य कलाकार मनोज गजुरेल, गायिका रचना रिमाल लगायत श्रष्टा तथा कलाकारहरूको उपस्थित रहने आयोजकले जनाएको छ ।