बिनोद बस्नेत

अर्ना छैटौं झापा गोल्ड कप उद्घाटन समारोहमा यहाँहरु सबैमा हार्दिक स्वागतसहित सम्मान अभिवादन व्यक्त गर्दछु । झापाको शान, झापालीको गौरवको रुपमा रहेको झापा गोल्डकपको छैटौं संस्करणको समुद्घाटनको यस गौरवमय क्षणमा डोमालाल राजवंशी रंगशालामा तपाईहरुलाई पाउँदा हामी हर्षविभोर भएका छौं । तपाईहरुकै साथ, सहयोग, सल्लाह र सहकार्यबाट हामी यहाँ आइपुगेका छौं ।

विश्वमा आज धेरै राष्ट्रले खेलकुदको माध्यमबाट आफ्नो पहिचान स्थापित गरेका छन् । विकसित देशहरुले खेलकुदबाटै समग्र अर्थतन्त्रमा सुधार गर्न थालेका छन् । खेलकुदबाटै रोजगारीको अवसर निर्माण गरेर देशकै अर्थतन्त्रमा धेरै परिवर्तन गरेका छन् । खेलकुदले देशको शान, मान, गौरव पनि प्रवद्र्धन गर्छ ।

खेलकुदले नै एउटा अनुशासित र शारीरिक तथा मानसिकरुपमा स्वस्थ नागरिक उत्पादन गर्छ । त्यसमा पनि स्वास्थ्यलाई मानिसको सर्वोत्तम सम्पत्ति मानिएको छ । तर, यदि मानिस शारीरिक तथा मानसिक रुपले अस्वस्थ छ भने उसँग भएको धन–सम्पत्ति निरर्थक हुन्छ । खेलकुदले सामाजिक एकता कायम गर्न र समृद्ध समाज निर्माणमा पनि ठोस योगदान दिन सक्छ ।

नेपालमा खेलकुदको विकासमा भएका गतिविधिहरु व्यवस्थित हुन सकिरहेका छैनन् । खेलाडीलाई प्रोत्साहन, अवसर, ऊर्जा र प्रवद्र्धनका कार्यक्रम प्रभावकारी हुन नसक्दा यसबाट लाभ लिन सकिरहेको छैन । तर, पछिल्लो समय खेलकुदको विकास, खेलाडीको संरक्षण तथा खेल क्षेत्रको प्रवद्र्धनका निम्ति आयोजना हुन थालेका प्रतियोगिताहरुले सकारात्मक योगदान दिन थालेका छन् । यसको उदाहरणको रुपमा लिन सकिन्छ झापा गोल्ड कपलाई । तपाईंहरुको साथ र हौसलाले यति भब्य कार्यक्रम  भइरहेको छ ।

आयोजक टिमका साथीहरु, विभागीय समितिहरुको अहोरात्रको खटाइपछि आज यो भव्य, सभ्य, व्यवस्थित गोल्ड कप सम्भव भइरहेको छ । नेपाली फुटबलका लागि आज एउटा उज्यालो दिन हो । यो फुटबलको कुम्भ मेला झापाबासीका लागि एक चम्किलो दिन हो । हामी झापाबासी उत्सव मनाइरहेका छौं । हामी सबैको गौरव र खुशीको क्षण हो यो ।

कोभिड–१९ को विश्वव्यापी महामारीसँगै ओरालो लागेको हाम्रो अर्थतन्त्र माथि उठ्न सकेको छैन । आर्थिक मन्दिका बीचमा यो गोल्ड कप गर्न आँट गर्नु कम चुनौतिपूर्ण थिएन । मेरो नेतृत्वको झापा गोल्ड कपले यो चुनौतीको सामना गर्ने साहस गर्यो । म यस्तै चुनौतिमा अघि बढ्न रुचाउँछु । सहज अवस्थामा जसले पनि सफलता प्राप्त गर्न सक्छ । असहज अवस्थालाई सहज बनाएर मलाई र मेरो टिमलाई तपाईहरुको आँट , भरोसा र साथले सफल बनाएको छ । 

कुनै पनि काम गर्दै गर्दा पहिलो कुरा आर्थिककै आउँछ ।  त्यो सँगै टिमवर्कको पनि । जुन मैले तपाईहरुबाट पाएँ । हामीलाई सहज थिएन यति बु्रअरीको साथ थिएन भने जस्को मुख्य प्रायोजनमा यो गोल्ड कप भइरहेको छ । त्यस्तै अन्तर्राष्ट्रिय झापाली समाजको साथ नहुँदो हो त अरु धेरै चुनौती सामना गर्नुपथ्र्यो हामीले । बिर्तामोड नगरपालिकाको गर्विलो सहयोगले हामीलाई अघि बढ्न सहज भयो । झापाका राजनीतिक दलहरुको ऐक्यवद्धता र साथ सहयोगले हामी यहाँ आइपुगेका छौं । प्रिय सञ्चारकर्मी साथीहरु तपाईंहरुले नै हो झापा गोल्डकपलाई यो सफलता र उचाइमा पुर्याइदिनु भयो । झापा गोल्डकपका सदस्यहरु,सल्लाहकारहरु, उद्योगी–व्यवसायीहरु, स्थानीय सरकार, दाताहरु, तपाई प्रवुद्ध व्यक्तित्वहरु, तपाई खेलप्रेमी सबैको  साथ नहुँदो हो त यो गोल्डकप कहाँ सम्भव थियो र ।

त्यसैले आज म हर्षविभोर र भावुक भएको छु । तपाईको यो साथ पाउँदा गर्वले मेरा छाती चौडा भएको छ । म नतमस्तक भएको छु । झापा गोल्डकप चम्किएको छ । झापाको शिर उच्च भएको छ । झापाली र झापा गोल्ड कपको पहिचान विश्वभर पुगेको छ । मलाई लाग्छ –आँट गरियो भने सकारात्मक सहयोग र साथ पाइयो भने मोफसलले पनि राष्ट्रकै उत्कृष्ट गोल्डकप गर्न सक्छ भन्ने कुरा झापा गोल्डकपले पुष्टि गरेको छ । यो अनुभूति तपाईहरुलाई पनि भएकै होला । यस क्षणमा झापा गोल्ड कपलाई सफल र यो उचाइमा पुर्याउन योगदान गर्ने सबैमा हृदयदेखि नै सम्मान व्यक्त गर्दछु । 

अर्ना छैटौं झापा गोल्डकप समुद्घाटन हुँदै गर्दा यस संस्करणमा हामीले केही नयाँ काम गरेका छौं । हामी नेपालीको शान हाम्रो पहिचान राष्ट्रिय झण्डाको छहारीमा हामी छौं । सिङ्गो रंगशाला तथा वरिपरिको गतिविधि अत्याधुनिक सीसी क्यामेराले निगरानी गरिरहेको छ । 

पुरस्कारको राशि वृद्धि गरेका छौं । प्रतियोगिताका विजेताले आकर्षक ट्रफिका साथ १३ लाख नगद पाउनेछन् भने उपविजेताले ट्रफिका साथ सात लाख रुपैयाँ नगद पाउने छन् । प्यारापिट मजबुत बनाइएको छ, प्लेयर बक्स, पार्किङ र शौचालयलाई व्यवस्थित गरिएको छ ।

टिकट बिक्रीलाई थप व्यवस्थित गर्न विभिन्न स्थानमा टिकट काउन्टर व्यवस्थापन गरेका छौं । गोल्डकप भइरहँदा बिर्तामोडमा केही न केही परिवर्तन देखियोस् भनेर मुक्तिचोकलाई रंगरोगन गरी आकर्षक बनाएका छौं । बिर्तामोड चोकदेखि यस रंगशालासम्म आकर्षक बत्ती जडान गरी उज्यालो बनाइएको छ । त्यसैले म भन्छु परिवर्तन र समृद्धि हामै्र पालामा सम्भव छ । परिवर्तनको सुरुवात हरेकले आफैबाट सुरु गर्नुपर्छ । 

यो भन्दै गर्दा हामीले धेरै चुनौती र अप्ठ्याराहरु पनि झेलिरहेका छौं । अहिले हामी डोमालाल रंगशालामा छौं । यहाँको कथा, व्यथा, दाता परिवारको दयनीय आर्थिक अवस्थाले हामीलाई सदैव गिज्याइरहेको अनुभूति हुन्छ । मैले दुःखका साथ भन्दैछु–वर्षेनि तपाई खेलप्रेमीहरुबाट उठेको लाखौं रकम यो अस्थायी प्यारापिट निर्माणमा खर्च हुन्छ । गोल्डकपको अस्थायी व्यवस्थापनमा खर्च हुन्छ । 

हामीले गोल्डकप त उत्कृष्ट गर्दैछौं तर, यसको संस्थागत विकास र दिगोपनको बारेमा सोच्ने र केही ठोस काम गर्न ढिला भइसकेको छ । ती सबै कुराका लागि सबैभन्दा पहिले खाँचो छ यस रंगशालाको वैधानिक स्थायित्वको । रंगशालामा स्थायी संरचना निर्माणको आवश्यकता छ । प्रश्न खडा हुन्छ यो खाँचो र आवश्यकता कहिले पूरा होला ? यसको अग्रसरता कस्ले लिइदेला ? के यो असम्भव काम हो र ?

यस मुलुकको सर्वोच्च निकाय प्रतिनिधिसभाको नेतृत्व गर्ने सम्मानीय सभामुख महोदय आज हामीमाझ हुनुहुन्छ । म सम्माननीय सभामुखज्यूको ध्यानाकर्षण गराउन चाहन्छु कि यो तपाईको निर्वाचन क्षेत्र हो । यहाँका नागरिकको मतले निर्वाचित भएर तपाई आज आम नेपाली नागरिकको आशा भरोसाको केन्द्र रहेको संसदको नेतृत्व गरिरहनु भएको छ । डोमालाल राजवंशी र उहाँको परिवारले पवित्र उद्देश्यले दिएको यो जग्गा हडप्न कतिपयले प्रयत्न गरिरहेको सुनिँदै आइएको छ । म झापा गोल्डकप, झापा क्षेत्र नं. २ र सिंगो झापाबासीको तर्फबाट आग्रह गर्दछु कि यो जग्गाका विषयमा आवश्यक प्रक्रिया पूरा गरी वैधानिक ढंगले झापा गोल्डकपलाई हस्तान्तरण गर्ने बाटो खोलिदिनुहोस् । 

सम्माननीय सभामुखज्यूले यो जग्गा संरक्षण र रंगशाला बनाउनका लागि वैधानिकता प्रदान गर्ने प्रक्रियाको नेतृत्व गरिदिनुहोस् । तपाईले यति गरिदिनुभयो भने हामी बनाउँछौं यहाँ नेपालकै नमूना, भव्य डोमालाल राजवंशी रंगशाला । यस कार्यका निमित्त म सम्माननीय सभामुख महोदयसहित सबै राजनीतिक दल, जनप्रतिनिधिहरुलाई एकताबद्ध भएर यस काममा लागिदिन  विशेष अनुरोध गर्दछु । 

मलाइ लाग्छ –यो काम भयो भने स्वर्गीय डोमालाल राजवंशीको आत्माले पनि शान्ति पाउनेछ । उहाँले सार्वजनिक हितका लागि समर्पण गर्नुभएको यो जग्गाले सार्थकता पाउनेछ । यदि यो जग्गा झापा गोल्डकपको मातहत आइ दाताकै नाममा रंगशाला बन्ने अवस्था भएमा म यो उद्घोष गर्दछु कि– डोमालाल राजवंशीका परिवारको अहिलेको आर्थिक अवस्थामा परिवर्तन गरी उहाँहरुको भरपर्दो र दिगो जिविकोपार्जनको व्यवस्थापन हामी गर्नेछौं । उहाँहरुको मुहारमा खुशी ल्याउने छौं ।

 अर्को कुरा हामी झापा गोल्डकपको संस्थागत विकास र दिगोपनाका लागि अघि बढिरहेको जानकारी गराउदछौं । यसको सफलताका निमित्त तपाई सबैको साथ, सहयोगको अपेक्षा गरेका छौं । 

दर्शकदिर्घामा रहनुभएका प्रिय खेलप्रेमी महानुभावहरु, तपाईहरुप्रति पनि मेरो विशेष अनुरोध छ– आज यहाँ जति जना आउनुभएको छ, तपाईहरु हरेकले आफ्नो घरपरिवारमा भनिदिनुहोस्, आफ्नो छिमेकमा भनिदिनुहोस्, आफ्नो साथीहरुलाई सुनाइदिनुहोस्, विद्यालय,कलेज, संघ–संस्था, उद्योगी–व्यवसायी, कर्मचारी सबैलाई सुनाइदिनुहोस् कि एकपटक झापा गोल्डकप हेर्न जाऔं भनेर । एक पटक डोमालाल राजवंशी रंगशाला पुगिदिनुहोस् भनेर । र आज यहाँ आउनुहुने तपाईहरु फाइनलको दिनसम्म नै निरन्तर गोल्डकप हेर्न आइदिनुहोस्– यो मेरो र झापा गोल्डकपको तर्फबाट विशेष अनुरोध छ । 

किनकि तपाईहरुकै सहभागिताले यो गोल्डकप भव्य र उत्कृष्ट हुने हो । हामी झापालीहरुले झापाका लागि, यहाँको समाजका लागि र खेलकुदका लागि केही काम गर्ने उपयुक्त समय पनि हो यो ।  खेलाडीले आफ्नो क्षमता र कला उद्घाटन गर्न सक्ने रंगमञ्च भनेको फुटबल खेल हो । विश्वव्यापी रुपमै फुटबलप्रति मोह बढ्नुको मुख्य कारण के हो भने यसलाई बुझ्न कुनै भाषाको आवश्यकता पर्दैन । 

यो फुटबल प्रतियोगिता हो । तर हामी यहाँ सामान्यतः फुटबल प्रतियोगिता मात्र देखिरहेका छैनौं । धेरैलाई लाग्न सक्छ यहाँ खेलकुद मात्र भइरहेको छ, यहाँ फुटबल मात्र खेल्ने खेलाउने काम भइरहेको छ । त्यो मात्र होइन । 

यो गोल्डकपले झापाको नाम शिखरमा पु¥याइरहेको छ । झापा र झापालीको पहिचान विश्वभर फैलाइरहेको छ । यसले अवसर, सम्भावना र विकासको ढोका खोलेको छ । यसले जाति, पार्टी, धर्म, लिङ्ग, वर्ग, क्षेत्रभन्दा माथि उठेर हामी तमाम झापाली एउटै परिवारको सदस्य भएको, एकतावद्ध भएको अनुभूति गराएको छ । विश्वभरका झापाली र खेलप्रेमीलाई एकताको सूत्रमा बाँधेको छ । यस्ले कला, प्रतिभा, क्षमता उजागर गराएको छ । खेलको विकासमा टेवा पुर्याएको छ । व्यक्तिको नेतृत्व विकास गराएको छ । यसले व्यापार व्यवसाय बढाएको छ । गोल्डकपले यस ठाउँलाई स्वच्छ, हराभरा, उज्यालो बनाएको छ । यसले सभ्य, शान्त र अनुशासित समाज निर्माणमा प्रेरित गरेको छ । यसले  तमाम खेलप्रेमीलाई भरपुर मनोरञ्जन दिलाएको छ । त्यसैले त हामी भन्छौ झापा गोल्डकप हाम्रो गौरव हो, हाम्रो शान हो । 

झापा गोल्ड कप बाटै अभिप्रेरित भई गत वर्षबाट भद्रपुर झापा गोल्ड कप सुरु भएको छ । कतिपय साथीहरुले भन्नुभएछ बिनोद बस्नेतले झापा गोल्ड कप भद्रपुरमा लगेर बुझायो । यो सुनेर पनि म मौन बसें । किनकी म कुनै कुराको जवाफ बोलेर भन्दा कामले दिन रुचाउछु । त्यो भन्नेहरुलाई जवाफ पनि हो छैटौं झापा गोल्ड कप । म भन्छु र झापा गोल्ड कपका संरक्षक आदरणीय महेन्द्रकुमार गिरीले भन्दै आउनु भएको छ झापा गोल्ड कप  एउा ब्राण्ड हो ।भद्रपुरले सुरु गरिसक्यो । अब मेचीनगर, कनकाई, दमक लगायतका ठाउँमा पनि यही नाममा सुरु होस् । अनि बन्नेछ झापा फुटबलको हब । 

झापा गोल्ड कप समग्र झापाको गौरव हो । तसर्थ, सबैले यसप्रति अपनत्व ग्रहण गर्नुपर्छ । सामुहिक योगदानबाट मात्रै यस्ता सार्वजनिक समारोहहरु सफल हुने र यसले जिल्लाकै पहिचानलाई बलियो बनाउछ । हाम्रो उत्साह र समर्पणप्रति तपाईं सबैको निरन्तर ऐक्यबद्धता साथ सहयोगका लागि आग्रह गर्दछु । झापा गोल्ड कपमै झापाबासीको प्रतिष्ठा जोडिएकाले यो प्रतियोगिता भव्यतापूर्वक सम्पन्न गराउन मन, बचन र कर्मले हातेमालो गर्न आग्रह गर्दछु ।

  • जय झापा गोल्डकप ।   

(अर्ना छैटौं झापा गोल्ड कप उद्घाटन समारोहमा अध्यक्ष बस्नेतको मन्तब्यको सम्पादित अंश)