झापा । 

सुनसरी जिल्ला प्रशासन कार्यालयले पाँच वटा स्थानीय तहमा कर्फ्यू आदेश जारी गरेको छ । प्रशासनले हरिनगरा गाउँपालिका, देवानगञ्ज गाउँपालिकामा, इनरुवा नगरपालिका, भोक्राहा नरसिंह गाउँपालिका र कोशी गाउँपालिकामा कर्फ्यू आदेश जारी गरेको हो । जिल्लाको भुटाहामा दुई समूहबीचको झडपले उग्ररुप लिएपछि अन्य पालिकामा पनि फैलन सक्ने भएकोले अर्को सूचना जारी नभएसम्मका लागि कर्फ्यू आदेश जारी गरेको हो । हिन्दु र मुस्लिम समुदाय दोहोरा भिडन्तमा उत्रिएपछि भुटाहामा अवस्था नियन्त्रण बाहिर गएको थियो ।

भुटाहामा बिहीबार हिन्दु युवामाथि मुस्लिम युवा समूहले कुटपिट गरेको थियो । घाइते जीवन मेहता धरानमा उपचाररत छन् । उनको अवस्था सुधारोन्मुख रहेको बताइएको छ । उक्त कुटपिट घटना विषयलाई लिएर स्थानीय हिन्दु समूहले उक्त घटनाको बिरोधमा बिहानैबाट प्रदर्शन चर्काएका थिए । मुस्लिम समूहका युवाको कुटपिटमा परेका हिन्दु युवाले मुस्लिम धर्मसँग सम्बन्धित उश्रृङ्खल अभिव्यक्ति दिएको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको थियो । सोही कारण उनीमाथि आक्रमण भएको बुझिएको छ ।

घटना विषयमा हिन्दु र मुस्लिम दुवै पक्षले आफ्नो पक्षको अडान राख्दै आएका छन् । जसले शुक्रवार दुई समुदायबीच झडपको अवस्था निम्त्याएको हो । घटनामा बाहिरी जिल्लाबाट मानिस आउन प्रशासनले कडाई गरेपनि बिरोधमा सामेल हुन आउनेको संख्या बढ्दै गएको छ ।