झापा। 

कोशी प्रदेश सरकारको अन्यौल कायम रहेको छ । केदार कार्की नेतृत्वलाई दिएको समर्थन फिर्ता लिएको नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) का ५२ सांसदले समर्थन फिर्ता लिएसँगै कोशी प्रदेश सरकारको अन्यौलता कायम छ । 

कोशी प्रदेशसभाको बैठक बिहीवार (आज) बस्दैछ। बैठक दिउँसो १ बजे बस्नेछ। एमाले र माओवादीले गत चैत २६ मा समर्थन फिर्ता लिएर मुख्यमन्त्री र सरकारलाई निर्देशन दिनुपर्ने भएकाले अधिवेशन मागसहित निवेदन दिएका थिए। कोशीमा दुवै पार्टीले मुख्यमन्त्री कार्कीलाई दिएको समर्थन फिर्ता लिएपछि अन्योल कायमै छ। 

मुख्यमन्त्री कार्कीले आफूले दुई वर्षसम्म विश्वासको मत लिनु नपर्ने जिकिर गरेका छन्। तर कानुनविद्हरुले समर्थन फिर्ता लिएको ३० दिनभित्र मुख्यमन्त्रीले विश्वासको मत लिनै पर्ने दाबी गरेका छन्। कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले संविधानको धारा १६८ को उपधारा ५ अनुसार आफू मुख्यमन्त्री बनेकाले पुनः विश्वासको मत लिन नपर्ने दाबी गरिरहेका छन्। 

एक पटक विश्वासको मत लिएपछि दुई वर्षभित्रै राजीनामा माग्नु संवैधानिक प्रावधान विपरित हुने मुख्यमन्त्री कार्काीले तर्क गर्दै आएका छन् । मुख्यमन्त्रीको तर्कसँग कानुनविद् भने सहमत छैनन् ।  विश्वासको मत प्राप्त गर्न नसके मुख्यमन्त्रीले राजीनामा दिनुपर्ने कानुनविद्को भनाइ छ।

एमाले संसदीय दलका नेता हिक्मत कार्कीले सरकार स्पष्ट रुपमा अल्पमतमा परिसकेको देखिएकाले कि विश्वासको मत लिनुपर्ने अन्यथा राजीनामा दिनुपर्ने बताउँदै आएका छन्। नेपाली कांग्रेसका केदार कार्की एमालेको समर्थनमा गत असोज २७ मा मुख्यमन्त्री बनेका हुन्। अल्पमतमा परेका मुख्यमन्त्रीले राजीनामा नदिएपछि एमाले र माओवादी केन्द्रले संकल्प प्रस्ताव दर्ता गरेका हुन्।

संकल्प प्रस्तावमा वैशाख २५ गतेभित्रमा मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने या राजीनामा दिनुपर्ने उल्लेख छ। यता कांग्रेस कोशी प्रदेश संसदीय दलको बैठकले सकल्प प्रस्ताव फेस गरेर जाने निर्णय गरेको छ।