बिर्तामोड ।
गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत बिर्तामोड नगरपालिकाले गुडिया बनाउने तालिम गरेको छ । नगरले वडा नम्बर १ मा गत चैत्र १९ गतेदेखि गरेको तालिम सम्पन्न भएको हो ।
![](/uploads/advertise/amiti collage_1719659707.jpg)
तालिममा वडाका १३ जना महिलाहरुले सहभागिता जनाएका थिए । तालिममा सहभागीहरुलाई आइतबार आयोजित एक संक्षिप्त कार्यक्रमका विच प्रमुख अतिथि वडा नम्बर १ का वडाध्यक्ष अग्निप्रसाद पाण्डेले प्रमाण पत्र वितरण गरेका हुन् ।
कार्यक्रममा वडाध्यक्ष पाण्डेले तालिममा सिकेको सिपलाई व्यवसायिक बनाउन आग्रह गरे । नगरपालिकाले महिलाहरुलाई आत्मनिर्भर बनाउन लघु उद्यम विकास कार्यक्रम अन्तर्गत गुडिया बनाउने, सिलाई बुनाई, ब्याग बनाउने, ढाका बुन्ने, बाख्रा पालन लगायतका तालिम सन्चालन गरिरहेको उनले जानकारी दिए।
![](/uploads/advertise/bells add 2_1719834723.jpg)
बिर्तामोड नगरपालिकाले सिपमुलक तालिम प्रदान गरेका महिलाहरुको लागि लागत सहभागितामा आवश्यक मेशिनसमेत उपलव्ध गराउँदै आएको छ ।तालिम समापन कार्यक्रममा वडा सचिब टिका अधिकारी, वडा सदस्य कमला महरा दर्जी , निवर्तमान वडा सदस्य प्रेम खरेलको पनि उपस्थिति रहेको थियो ।
सहभागीहरुले तालिम उपलव्धीमुलक बनेको प्रतिक्रिया दिएका छन् । उनीहरुले सिकेको सिपलाई सदुपयोग गर्नको लागि योजना बनाएर अघि बढ्ने प्रतिवद्दता व्यक्त गरे ।
![](/uploads/advertise/newtons add_1719832473.jpg)
गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम सहजकर्ता चनिमाया तामाङले तालिम प्राप्तहरुलाई उद्यमी बनाउन नगरपालिकाले सहजीकरण गर्ने बताइन् । उनले त्यसको लागि सबैजना सक्रिय रुपमा अघि बढ्न सबैलाई आग्रह गरिन् । तालिममा मेनुका चाम्लिङले प्रशिक्षण दिएकी थिइन् ।