वाहुनी, मोरङ । 

सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था बाहुनी सेवा केन्द्रले  बिद्यार्थी भर्ना अभियानसँगै एकसय १० जना बिद्र्याीलाई शैक्षिक सामाग्री बितरण गरेको छ । झापाको बिर्तामोड–२ स्थित चारपानेमा मुख्य कार्यालय रहेको नेपालकै नम्बर वान सहकारी संस्था सहारा साकोसको बाहुनी सेवा केन्द्रले बिहीवार (आज) मोरङको बेलबारी नगरपालिका वडा नम्बर ५ मा बिद्यार्थी भर्ना अभियान कार्यक्रम सम्पन्न गरेको हो । 

सहारा नेपाल सकोस बाहुनी सेवा केन्द्रको प्रायोजन तथा जनता आधारभूत बिद्यालय बेलबारी–५ मोहनडाँगीको आयोजनामा बिद्यालयमा बिद्यार्थी भर्ना कार्यक्रम गरिएको सेवा केन्द्र प्रमुख उमेश भारतीले जानकारी दिए । ‘समयमै भर्ना समयमै ज्ञान, गुणस्तरीय शिक्षा सवैको अभियान’ भन्ने मुल नाराका साथ नेपाल सरकारले बैशाख १५ गतेसम्म देशब्यापी भर्ना अभियान सञ्चालन गरेको छ । 

६ जना महिला शिक्षिका रहेको उक्त बिद्यालयले ऋषिदेव र मुसहर समुदायका प्रत्येक घरघरमा ब्यानरसहित पुगेर बालबालिकालाई बिद्यालयमा भर्ना गरौं भन्ने अभियान चलाएको थियो । बिद्यालयका ब्यवस्थापन समिति अध्यक्षको नेतृत्वमा उक्त अभियान सञ्चालन गरिएको बताइएको छ । 

बिद्यालयमा नव आगन्तुक बिद्यार्थीहरुलाई अविर लगाएर स्वागत गरिएको थियो । भर्ना अभियान कार्यक्रममा बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष पोष्टबहादुर बस्नेत, प्रधानाध्यापक भवानीकुमारी चौहान, सहारा कर्मचारी सेवा केन्द्र प्रमुख उमेश भारती, बिपेन्द्र यादव, रबिनाकुमारी चौधरीलगायतको आतिथ्य रहेको थियो । कार्यक्रमको सञ्चालन बिद्यालयकी शिक्षिका भगवती खतिवडाले गरेकी थिइन् ।