बिर्तामोड । 

झापाको बिर्तामोडमा युवालाई ३५ दिने होटल ब्यवस्थापनतर्फ कुकिङ तालिम शुरु भएको छ । उपभोक्ता समितिका अध्यक्ष नारायण मुखियाको अध्यक्षता तथा बिर्तामोडमा–४ का वडाध्यक्ष राहुल शर्माको प्रमुख आतिथ्यमा बिहीवार (आज) तालिमको उद्घाटन भएको हो । 

सीप विकास तथा क्षमता अभिवृद्धि उपभोक्ता समिति बिर्तामोड–४ को आयोजनामा भएको तालिमको बिर्तामोड ४ को सहयोग र आदर्श स्कुल अफ म्यानेजमेन्ट, बिर्तामोडको प्रायोजन रहेको बताइएको छ । 

कार्यक्रममा आदर्श स्कुलका डाइरेक्टर संजोग खरेलले युवामा कुकिङको अवधारणा भएपनि तालिमले ब्यवसायिक रुपमा सीप सिकेर अगि बढन मद्दत मिल्ने बताए। वडा प्रतिनिधी केशवकुमार  श्रेष्ठले सञ्चालन गरेको कार्यक्रममा वडा महिला प्रतिनिधि निर्मला ल्वागुन, आदर्श टोल विकास सस्थाका चन्द्रप्रसाद दाहाल, मेघाबारी टोल विकास सस्थाका पुप्ष खड्का लगायतले  युवालाई शुभकामना दिएका थिए । 

तालिम उद्घाटन कार्यक्रममा आदर्श स्कुलका तालिम संयोजक दीपक दास, सेफ भुवन दंगाल, सन्तोष मगरले सहभागीलाई तालिममा सिकेको सीपलाई व्यवहारमा उत्तार्न प्रेरणा दिएका थिए ।