हल्दीबारी । 

झापाको हल्दीबारी गाउँपालिकामा ५ दिने पुनर्ताजगी तालिम सम्पन्न भएको छ । मेलमिलाप कर्ताहरूका लागि सञ्चालन गरिएको तालिम आज सम्पन्न भएको छ ।

५ वटै वडाका मेलमिलाप कर्ताहरु सहभागी तालिममा झापा जिल्लाका जिल्ला न्यायाधीशहरू अशोक बस्नेत, नविन खडका, रामप्रसाद पौडेल, नगेन्द्र केशरी पोखरेल, तेजबहादुर थापा लगायतले सहभागीलाई प्रशिक्षण दिएका थिए । 

कार्यक्रममा न्यायिक समितिमा आउने समस्याहरु, वादविवाद, मुद्दाहरूलगायतका विषयहरुमा छलफल गर्ने, न्यायिक समिति, मेलमिलाप समितिको काम कर्तव्य र अधिकारका विषयमा विषय विज्ञहरूले प्रशिक्षण दिएका थिए । 

मेलमिलापका आधारभूत सिद्धान्त, महत्व, पारदर्शिता तथा गोपनीयताको बारेमा प्रष्ट पारिएको तालिममा फिराद लेखन, अदालतको कामलगायत वारेमा जानकारी गराइएको थियो ।

हल्दीबारी गाउँपालिका उपाध्यक्ष तथा न्याय समिति संयोजक लक्ष्मी मैनालीको अध्यक्षतामा भएको समापन कार्यक्रममा गाउँपालिका अध्यक्ष रविन्द्रप्रसाद लिङदेन, वडा नम्बर ४ का वडाध्यक्ष सन्तकुमार थापा कार्यपालिका सदस्य शान्ता शिवाकोटी, भागिरथा दाहाल, वडा सदस्यहरू सुरेन्द्र बाराकोटी, शान्ता गहतराज, निमित्त प्रमुख प्रशासकीय अधिकृत राजन न्यौपाने लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रमको सञ्चालन प्रलाद सिलवालले गरेका थिए । कार्यक्रममा सहभागीहरुलाई प्रमाणपत्रसमेत वितरण गरिएको थियो ।