बिर्तामोड । 

नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवेले नेपाली कांग्रेसका संस्थापक नेता वीपी कोइरालाले नै छुवाछुत मुक्ति र जातीय सहभागिताको अभियान चलाएको बताएका छन् । नेपाल दलित संघ झापाको आयोजनामा छुवाछुत मुक्त राष्ट्र घोषणाको १८ औं स्मृति दिवसका अवसरमा नेपाली कांग्रेस झापाको कार्यालयमा आयोजित अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो विचार राखेका हुन् । 

पिछडिएका जातजातिलाई अवसर प्रदान गरेर राज्यसंयन्त्र मा वीपीले २००७ सालमै सहभागी गराएको बताउँदै उनले नेपाली कांग्रेसको नेतृत्वमा ल्याइएको नेपालको संविधान–२०७२ ले राज्यका हरेक संयन्त्रमा समानुपातिक सहभागीताको ब्यवस्था गरेको बताए।

समानुपातिक सहभागिताको संवैधानिक ब्यवस्था नहुँदै वीपी कोइरालाले आफू प्रधानमन्त्री हुँदा पिछडिएको जातजाति, वर्ग क्षेत्र र लिङ्गका आधारमा समानुपातिक प्रतिनिधित्वसहितको मन्त्रीमण्डल गठन गरेको इतिहास स्मरण गरे । 

नेपाली कांग्रेस पार्टीको विधानमा समेत प्रत्येक तहगत संरचनामा पिछडिएका जातजाति, क्षेत्र, बर्ग, लिङ्गको सहभागिता सुनिश्चित गरिएको र सोही अनुरुप सहभागिता बढाइएको  सभापति थेवेले जानकारी दिए । आफ्नो सांगठनिक संरचनालाई वडादेखि जिल्ला तहसम्मै चुस्तदुरुस्त राख्न नेपाल दलित संघलाई उनले निर्देशन समेत दिए।

कार्यक्रममा नेपाली कांग्रेस झापाका उपसभापति केशवराज पाण्डेले कानुनी रूपमा मात्रै छुवाछुत र विभेद सम्बन्धी समस्या समाधान भएर नहुने बताउँदै भावी पिढीलाइ राम्रो शिक्षा दिएर मात्रै छुवाछूत अन्त्य गर्न सकिने धारणा राखे।

पछिल्लो समय जातजातिबीच भन्दा अभाव र गरिबी भोगिरहेकाहरुले छुवाछूतबाट बढी पीडा भोग्नुपरेको बताउँदै उपसभापति पाण्डेले सबैको मुक्तिका लागि बिपीले दुखको बाटो रोजेकै कारण जनताले समानताको अनुभुति गर्न पाएको धारणाराखेका थिए ।

नेपाली कांग्रेस कोशी प्रदेश सदस्य राजकुमार बराइलीले २०४६ सालको जन आन्दोलनपश्चात् कागजी रुपमा थुप्रै उपलब्धि भए पनि कार्यान्वयन चुस्त दुरुस्त नभएको बताउँदै ब्यवहारिक रुपमा अझै विभेद नहटेको धारणा राखे । नेपाली कांग्रेस झापाका सचिव कृष्ण हुमागाईले चेतनास्तरका आधारमै मान्छे हुने उल्लेख गर्दै मान्छे– मान्छेबीचमा विभेद गर्न नहुने बताए। कार्यक्रममा नेपाल दलित संघ कोशीका सचिव जीवन परियार, पूर्व केन्द्रीय सदस्य टंक विश्वकर्मा र हस्त परियार, अगममान बिक मिना गजमेर लगायतले शुभकामना मन्तब्य राखेका थिए । 

छुवाछुत मुक्त राष्ट्र घोषणा एवं यससम्बन्धी कानुनी र संवैधानिक ब्यवस्थाका बारे अधिबक्ता नारायणप्रसाद पौडेलले  प्रशिक्षण दिएका थिए ।  प्रशिक्षण दिदै अधिबक्ता पौडेलले  परिवर्तित समय र आवश्यकताका आधारमा कानूनहरु संशोधन हुने बताउँदै आवश्यकताकै आधारमा छुवाछुतमुक्त राष्ट्र घोषणा भएकाले यसको प्रभावकारी कार्यान्वयन जरुरी रहेको धारणा राखे । 

नेपालको संविधान २०७२ को धारा २४ मा छुवाछूत सम्बन्धि ब्यवस्था रहेको र छुवाछूत गरेमा १ हजारदेखि २५ हजार जरिवानाको ब्यवस्था रहेको उनले जानकारी दिए।नेपाल दलित संघ झापाका अध्यक्ष दलबहादुर विश्वकर्माको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वागत ध्रुव कनालले र सञ्चालन पम्फा विश्वकर्माले गरेकी थिए ।  कार्यक्रममा विर्तामोड–५ का सविता मल्लिकसहित २० बढी नेपाली कांग्रेसमा प्रवेश गरेका थिए । पार्टी प्रवेश गर्ने सवैलाई उपसभापति पाण्डे र सचिव हुमागाईले पार्टीको साधारण सदस्यता प्रदान गर्दै स्वागत गरेका थिए ।