झापा।

झापाको हल्दीबारी गाउँपालिका  क्षेत्राधिकार भित्रका सहकारी संस्थाहरुलाई तीन दिने सहकारी तथा गरिबी सम्बन्धी व्यवस्थापन सुचना प्रणाली (कोपोमिस) सम्बन्धी   तालिम   शुरु भएको छ। तालिममा पालिका भित्रका १५ वटा सहकारी संस्थाका व्यवस्थापक तथा कर्मचारीहरु तालिममा सहभागी भएका छन्।

 सहकारीका नियमन ‌‌क्षेत्राधिकार, वित्तिय सुरक्षा लगायतका विषयमा दमक नगरपालिकाबाट आएका प्रशिक्षक  घनेन्द्र रिजालले प्रशिक्षण गरेका थिए। तालिमको मुख्य उद्देश्य सहकारी संस्थाहरूको सम्पूर्ण आर्थिक र व्यवस्थापकिय पक्षहरूको सम्पर्क सिस्टम मार्फत केन्द्रसँग जोडिने भएकाले संस्थाको आर्थिक पारदर्शीता कायम राख्न मद्दत पुर्याउने रहेको शाखा प्रमुख कविता कर्णले बताइन्। तालिम ३ दिन सम्म संचालन हुनेछ।

हल्दीबारी गाउँपालिका अध्यक्ष रविन्द्रप्रसाद लिङदेनको अध्यक्षतामा भएको उद्घाटन समारोहमा प्रमुख प्रशासकीय अधिकृत मानबहादुर वन महेन्द्र, वडा नं १ का वडाध्यक्ष देवीबहादुर थापा, २ का वडाध्यक्ष शुकलाल राजवंशी र ४ नं वडाका वडाध्यक्ष सन्तकुमार थापालगायतको आतिथ्य रहेको थियो । 

कार्यक्रमको औचित्य पुष्टि गर्दै प्रमुख प्रशासकीय अधिकृत वनले कतिपय सहकारी नियमसंगत नचल्दा सदस्यहरूले दुख पाइरहेकोले त्यस्तो अप्ठ्यारो परिस्थिति नआओस् भनेर तालिम आयोजना गरिएको बताए।

त्यस्तै अध्यक्ष लिङदेनले सहकारीको मूल मर्म भित्र रहेर कार्य गर्न सबैलाई अनुरोध गरेका थिए। त्यसैगरी सहकारीले पैसा कमाउने मात्रै नभएर जनताको हितमा काम गर्नुपर्नेमा जोड दिदै जनतासँग प्रत्यक्ष जोडिने काम गर्न सुझाव दिएका थिए। कार्यक्रमको सहजीकरण सहकारी शाखा प्रमुख कर्णले गरेकी थिइन्।

हाल हल्दीबारी गाउँपालिकाभित्र स्थापना भई पालिका कै क्षेत्राधिकार भित्र २  वटा ज्येष्ठ नागरिक, ३ वटा महिलाहरूले मात्रै संचालन गरेको र बाकी १० वटा अन्य सहकारी संस्थाहरू सञ्चालनमा रहेका छन्।