अर्जुनधारा । 

झापाको अर्जुनधारा नगरपालिकाका दुई वटा सरकारी तथा सामुदायिक बिद्यालयमा अध्ययनरत बिद्यार्थीलाई तीन लाख ५० हजार रुपैयाँ बराबरको शैक्षिक सामाग्री वितरण गरिएको छ ।  

अर्जुनधारा–९ को कालिस्थान माध्यमिक बिद्यालय र अर्जुनधारा–१० को सिंहबाहिनी आधारभूत बिद्यालयमा अध्ययनरत बिद्यार्थीहरुलाई आज (आइतवार) शैक्षिक सामाग्री वितरण गरिएको हो । 

मनराम हिमालय हेन्डिक्रयाफ्ट प्रालि अन्तरगत लायन्स मनोरम प्रतिष्ठान २००५ को आर्थिक सहयोगमा अर्जुनधारा नगरले बिद्यालयमा शैक्षिक सामाग्री वितरण गरेको हो । 

कालिस्थान माविमा अध्ययनरत ३३५ जना बिद्यार्थीलाई एक हजार ७ सय ३ थान कापी, २७५ वटा पेन्सिल, एकसय १० वटा साप्नर, ११० वटा इरेजर र ९ सय वटा डटपेन वितरण गरिएको छ भने सिंहबाहिनी आविका १३० जना बिद्यार्थीलाई ५६६ थान कापी, ५०० वटा पेन्सिल, २०० वटा साप्नर, २०० वटा इरेजर र एकसय ५० वटा डटपेन बितरण गरिएको बताइएको छ । 

अर्जुनधारा नगर प्रमुख बलदेवसिंह गोम्देन तामाङ, अर्जुनधारा–१० का वडाध्यक्ष भूपेन्द्र न्यौपाने, मनराम अन्तरगतको लायन्स क्लवका संस्थापक राजेन्द्रकुमार श्रेष्ठ र कम्पनीका प्रतिनिधि बसन्त पौडेलले संयुक्त रुपमा उक्त बिद्यालयका शैक्षिक सामाग्री वितरण गरेका नगर प्रमुख बलदेवका प्रेस संयोजक नन्दलाल खतिवडाले जानकारी दिए । संस्थाले सामाजिक उत्तरदायित्व अन्तरगत शैक्षिक सामाग्री वितरण गरेको बताइएको छ । 

उक्त संस्थाले झापा, इलाम, पाँचथर, धनकुटा, संखुवासभालगायतका जिल्लाका बिभिन्न सरकारी तथा सामुदायिक बिद्यालयमा अध्ययनरत बिद्यार्थीलाई पनि शैक्षिक सामाग्री वितरण गरिरहेको बताइएको छ ।