सुरुङ्गा । 

नेकपा (माओवादी केन्द्र) को पुर्वेली संगठन सुदृढीकरण अभियान अन्तर्गत झापाको कनकाईमा तीन पालिकाका नेता तथा कार्यकर्तालाई प्रशिक्षण दिइएको छ । कनकाई, शिवसतासी नगरपालिका र झापा गाउँपालिकाका पार्टी सदस्यहरुलाई केन्द्रीकृत गरेर तीनै वटा पालिकाको संयुक्त आयोजनामा सुरुङ्गामा आज (आइतवार) केन्द्रीय साथै प्रदेशका नेताहरुबाट प्रशिक्षण प्रदान गरिएको हो ।

कार्यक्रममा प्रमुख अतिथि माओवादी केन्द्रका पोलिट व्युरो सदस्य सावित्रीकुमार काफ्ले ‘समर’ले २१औं शताब्दीमा समाजवादको नेपाली बाटो विषयमा प्रशिक्षण दिँदै समाजवाद, शिक्षा नीति, अर्थ नीति, भूमि तथा पुँजी नीति लगायतका बारेमा प्रष्ट पारेका थिए । 

त्यस्तै, कार्यक्रममा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा झापा जिल्ला इञ्चार्ज झलक दर्लामी (सन्देश) ले नेपालको कम्युनिष्ट आन्दोलनका विषयमा जानकारी गराउँदै कम्युनिस्ट आन्दोलनका क्रममा नेपालमा सुरुवाती चरणबाट विभिन्न समयमा भएको उपलब्धि र क्षति लगायतका बारेमा प्रष्ट पारेका थिए । 

कार्यक्रममा पार्टीका कोशी प्रदेश अध्यक्ष हर्कबहादुर नेम्वाङ (मिक्सो) ले संगठनात्मक सिद्धान्त र पार्टी विधानका विषयमा प्रशिक्षण दिँदै साधारण सदस्य, संगठित सदस्यहरुले निर्वाह गर्नुपर्ने भुमिका, काम–कर्तव्य र अधिकार साथै पार्टीको विधान बारे प्रष्ट पारेका थिए भने पार्टीका कोशी प्रदेश उपाध्यक्ष मणिकुमार साङ्पाङ (विजय) ले मार्क्सवादी दर्शन के हो ? मार्क्सवादी दर्शनको मुल मर्म के हो जस्ता विषयमा प्रशिक्षण प्रदान गरेका थिए । 

माओवादी केन्द्र कनकाई नगर अध्यक्ष यामनाथ सेडाइको अध्यक्षतामा भएको कार्यक्रममा झापाका तीन पालिका कनकाई, शिवसताक्षी र झापाबाट पार्टीका सदस्यहरुको उल्लेख्य  सहभागिता रहेको थियो । पार्टीको केन्द्रीय निर्वाचन आयोग सदस्य सुशीला कन्दङ्वाले औचित्यमाथि प्रकाश पारेको कार्यक्रममा उपस्थित सबैलाई स्वागत पार्टीका झापा गाउँपालिका अध्यक्ष रुद्र बजगाई र सञ्चालन शिवसतासी नगरपालिकाका पार्टी अध्यक्ष महेन्द्र भट्टराईले गरेका थिए ।