दमक । 

पूर्व अर्थमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का उपमहासचिव एवम संगठन विभाग प्रमुख जनार्दन शर्मा (प्रभाकर) ले जनतालाई उत्पादनसँग जोड्नु अहिलेको आवश्यकता भएको बताएका छन् ।

माओवादी केन्द्रको पूर्वेली संगठन सुदृढीकरण अभियान अन्तर्गत दमक नगर कमिटीले आयोजना गरेको प्रशिक्षण कार्यक्रमका प्रमुख अतिथि शर्माले समाजवादको रटानले मात्र समाजवादमा नपुगिने र त्यसका लागि स्पष्ट कार्यदिशा र कार्यक्रम आवश्यक रहेको बताएका छन् ।आज (बुधवार) दमकमा आयोजित एक कार्यक्रममा बोल्दै शर्माले त्यस्तो धारणा राखेका हुन् । 

 २०६० को दशकमा शान्ति सम्झौता नहुँदै ‘उत्पादन र विकास’ लाई नारा बनाउन आफुले नेतृत्वलाई सुझाएको भएपनि नेतृत्वले त्यसलाई बेवास्ता गरेको गुनासो गरे । संगठन सुदृढीकरण अभियान अन्तर्गत दमक नगर कमिटीले अघि सारेको १ लाख बिरुवा रोप्ने कार्यक्रमको प्रशंसा गर्दै नेता शर्माले त्यो बेलादेखि नै पार्टीले यो नारा अघि बढाएको भए यतिबेला मुलुक हरियाली भइसक्ने दाबी गरे । 

कार्यक्रममा बोल्दै नेकपा माओवादी केन्द्र झापाका संयोजक राजु आचार्य (अग्नी) ले पद्धतीमा हिड्न नसकेकाले पार्टी बलियो हुन नसकेको जिकिर गरे । सोझासिधा र इमान्दार कार्यकर्ता जहिले पछि पर्नुपर्ने र बिचौलिया हाबी हुने हुँदा पार्टी गलत दिशा तिर धकेलिएको उनले गुनासो गरे । उनले पार्टी बनाउन बिचौलियाको अन्त्य हुनुपर्ने र नेता जनतामाझ जानु पर्ने उनले सुझाए । उनले दमक क्षेत्रमा ४२ हजार लिची, आँप, अम्बक, अनार लगायतका फलफुलका विरुवा वितरण गरिसकेको जानकारी दिए ।  

कार्यक्रममा केन्द्रिय सदस्य रञ्जित तामाङ, हरिकुमार राना लगायतले शुभकामना मन्तव्य राखेका थिए । दमक नगर कमिटी अध्यक्ष रबि बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा माओवादी केन्द्रका प्रदेश अध्यक्ष हर्क नेम्बाङ (मिक्सो), प्रदेश सदस्यहरु भवानीप्रसाद दंगाल (भानु), सीपी कडरिया, गगन पुरी, खड्ग कन्दङ्वा (रोशन), दुर्गा चम्लागाई (श्रीकान्त), नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी, नेपाल प्रेस युनियन झापाका अध्यक्ष गिरीराज भट्टराई लगायतको उपस्थिति रहेको थियो । नगर सचिव डम्बर बोहोराले सञ्चालन गरेको कार्यक्रममा सहभागीलाई इञ्चार्ज बेदु गौतमले स्वागत गरेका थिए ।

नेकपा (माओवादी केन्द्र) ले झापाको दमकमा पूर्वेली संगठन सुदृढीकरण अभियान अन्तरगत नगरको बिस्तारित बैंठक तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । संगठन सुदृढीकरण अभियानसँगै फलफूलका बिरुवा रोपन तथा बितरणसमेत गरिएको थियो । 

कार्यक्रममा पार्टीका बिभिन्न तह र तप्कामा रहेर पार्टीलाई सहयोग गर्नेलाई सम्मान गरिएको थियो । पार्टी जेठ १३ गतेदेखि एक घर एक बिरुवा भन्ने नाराका साथ कागती, आँप, लिचि, अम्बकलगायतका फलफूलका बिरुवा वितरण तथा रोपन गर्दै आएको अभियानका संयोजक तथा पार्टीका झापा संयोजक राजु आचार्य (अग्नि) ले जानकारी दिए । 

अभियान अन्तरगत एक लाख फलफुलका बिरुवा रोपनको लक्ष्य राखिएको बिरुवा ब्यवस्थापनकी संयोजक तथा नगर सचिवालय सदस्य समुन्द्र लामालले जानकारी दिइन् । उनले एकलाख बिरुवा रोपन तथा बितरणको लक्ष्य राखिएपनि स्थानीयले माग गरेको खण्डमा थप बिरुवा वितरण गरिने बताइन् । 

नगर सदस्य डम्बर बोहोराका अनुसार फलफूलका बिरुवा रोपनसँगै पार्टीले एक बिघा जग्गा लिजमा लिएर फलफूल खेती गर्नेछ । उनले करिव २ करोडको लगानीमा फलफूलका विरुवा रोपन तथा वितरण गरिएको बताए ।