शिवसताक्षी ।
‘श्रमको सम्मान, राष्ट्रको अभियान’ अन्तर्गत न्यूनतम रोजगारी, आन्तरिक रोजगारी र वैदेशिक रोजगारीका विशेषता तथा प्रभाव सम्बन्धी प्रस्तुतिकरण तथा छलफल कार्यक्रम सम्पन्न भएको छ ।
शिवसताक्षी नगरपालिका–८ मा सम्पन्न उक्त कार्यक्रम रोजगार सेवा केन्द्र, शिवसताक्षीको आयोजनामा भएको हो । रोजगार सेवा केन्द्रका प्रमुख बिदुर तिम्सिनाले कार्यक्रमको सहजीकरण गरेका थिए । कार्यक्रममा वडा क्षेत्रका विभिन्न क्षेत्रका २० जना सहभागी थिए ।
कार्यक्रममा वक्ताहरूले न्यूनतम रोजगारीको अवसर सिर्जना गर्न स्थानीय तहको भूमिका, आन्तरिक रोजगारीमा आवश्यक सीप विकास तथा लगानीको आवश्यकता र वैदेशिक रोजगारीको अवसर र चुनौतीबारे चर्चा गरे । सहभागीहरूले युवाहरू विदेशिनु पर्ने बाध्यता, नेपालमा रोजगारीको अस्थिरता, न्यूनतम ज्याला पाउने समस्या, र सीप अभावजस्ता विषयमा छलफल गरेका थिए ।
रोजगारी सम्बन्धी समस्याको समाधानका लागि स्थानीयस्तरमै रोजगारी सिर्जना गर्न उद्योग र उद्यमशीलतालाई प्रवद्र्धन गर्नुपर्ने सुझाव दिइयो । साथै, प्रविधिमा आधारित सीपमूलक तालिमको आवश्यकता, न्यूनतम ज्याला सुनिश्चित गर्ने नीति र सुरक्षित वैदेशिक रोजगारीका लागि प्रभावकारी व्यवस्थापनको आवश्यकता औंल्याइयो । सहभागीहरूले सरकार, रोजगारदाता र श्रमिकबीचको सहकार्यले मात्र समस्या समाधान गर्न सकिने बताए ।


















