- चन्द्र बस्नेत
कनकाई ।
पूर्वी नेपालकै प्रख्यात पवित्र कनकाई माई नदिको पूर्वी किनारमा रहेको कनकाई घाट संस्थाको १५ औं स्थापना दिवस सरसफाई गरिएको छ। आज (आइतवार) बिहान संस्था स्थापना भएको १५ वर्ष प्रवेशको अवसर पारेर विशेष कार्यक्रमका बीच कनकाई घाटको सरसफाई गरिएको हो ।
आजभन्दा १४ वर्षअघि २०६७ को फागुन २५ गतेका दिन संघसंस्था ऐन २०४९ अनुसार मुनाफारहित कनकाई घाट संस्थाको विधिवत रुपमा स्थापना भएको थियो । सरसफाईपछि संस्थाका अध्यक्ष खेमनाथ मिश्रको अध्यक्षतामा भएको संक्षिप्त कार्यक्रममा नगरप्रमुख राजेन्द्रकुमार पोखरेलको प्रमुख आतिथ्य रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि पोखरेलले कनकाई घाटको क्षेत्रलाई सरसफाई राख्ने कुरामा नगरपालिका लागिपर्ने बताएका छन् । सोही कार्यक्रमका बीच नगर उप–प्रमुख आशाशर्मा शिवाकोटीले घाटको सरसफाईसँगै विधुतिय शवदाह गृह बनाउन लागेपछि थप सहज हुने विश्वास व्यक्त गरिन् ।
संस्था स्थापना दिवसकै अवसर पारेर केही दिन अघि निर्वाचित कार्यसमितिले आफ्नो पहिलो कार्यक्रमका रुपमा अघि सारेको स्थापना दिवसमा सरसाफाई गरेको हो।
सरसफाई कार्यक्रममा नगर प्रमुख, उप–प्रमुख, वडा नं. ३ वडा अध्यक्ष युवराज चौलागाईं र ४ का अध्यक्ष रोशन सुवेदी सहित अन्य जनप्रतिनिधि स्थानीय क्रियाशिल राजनीतिक दल नेपाली काग्रेस नगर सभापति दुर्गा प्रसाईं, एमाले नगर अध्यक्ष गोकर्ण ओझा, माओवादी नगर अध्यक्ष यामनाथ सेढाई, राप्रपा नगर अध्यक्ष टीका बराल, सामाजिक, शैक्षिक एवं धार्मिक संघसंस्था, नागरिक समाज, उद्योगी व्यवसायी, विद्यार्थी समेत गरेर २ सय बढीको सहभागितामा सरसफाई गरिएको थियो । संस्थाका वरिष्ठ उपाध्यक्ष डिल्लीराम मैनालीले स्वागत गरेको कार्यक्रमको सञ्चालन महासचिव गोपाल खरेलले गरेका थिए ।
झापाको मध्य भागमा रहेको कनकाई धाम धार्मिक विकास संस्था कोटिहवनको नजिकमा रहेको पवित्र कनकाई नदिमा सुव्यवस्थित घाट निर्माण गरी पार्थिव भौतिक शरिरलाई दाहसंस्कार गर्न र अन्तिम संस्कारमा सहभागी हुने मलामीजनलाई सहज बनोस भन्ने उद्येश्यका साथ २०६७ को फागुन २५ गते कनकाई घाट संस्थाको स्थापना भएको थियो ।


















