लक्ष्मीपुर ।
विकासको नाममा खोलानाला मासिदैँ गए । बन पनि मासिदैँ गए । जहाँबाट खोला बग्थ्यो । पैनी बग्यो त्यसलाई पुरियो । खोला बग्ने ठाउँमा विकासका नाममा बिभिन्न आयोजना सञ्चालन गरियो, घर निर्माण गरियो ।
पहिरो जाने स्थानका रुख विरुवा काटियो । त्यो नै अहिलेको वाढी पहिरोको जोखिम बन्यो । त्यति मात्र होइन । कुनै योजना बिना जतातेतै विकास गरियो । विकास गर्नु हुँदैन भन्ने होइन, तर विकास गर्दा भविश्य र वर्तमान हेरेर गर्नुपर्छ । विकास गर्दा फाराकिलो तरिकाले बषौंसम्म पनि समस्या नआउने खालको गर्नुपर्छ ।
कुनै योजना विना गरिएका कतिपय विकासले नै बिनाश सिर्जना गर्छ । केही दिन अघि धेरै दिनको बर्षा पनि होइन यसपालीको तर, धेरै सडक तथा बाटो अवरुद्ध भए । यात्रुहरु बाटाबाटामै अलपत्र बने । धेरैले ज्यान गुमाए, हजारौको संख्यामा विस्थापित भए । यो योजना बिना गरिएका विकासको परिणाम हो भन्दा फरक नपर्ला ।
खोला बगिरहेको स्थानलाई पुरियो । त्यो खोला पुरेर प्लोटिङ गरियो । आफ्नो फाइदाको लागि राम्रो बनाएर अर्कोलाई बेचियो । ढलनिकासको राम्रो व्यवस्था गरिएन । तताततै घर निर्माण भयो । त्यो नै अहिलेको बिनाशकारी परिणाम हो । यी भए व्यक्तिगत रुपमा गरिएका कमजोरी । राज्यको तर्फबाट पनि यस्ता धेरै कमीकमजोरी भए ।
जहाँ जे कुराको आवश्यक छ तर, त्यहाँ त्यो भन्दा पनि अनावश्यक भौतिक संरचना निर्माण गरेर राज्यको सम्पत्ती बालुवा पानी सरह बनाइयो । एउटा सानो उदाहरणका लागि अर्जुनधारा नगरपालिका–५ स्थित बिहीवारे बजारलाई लिन सकिन्छ ।
करिव ३७/३८ बर्षअघि स्थानीय स्व.दलबहादुर थापालाई वडा अध्यक्ष बनाउने नाममा हाल बिहीवारे बजारका लागि १५ कठ्ठा जग्गा तत्कालिन गाउँपञ्चायतलाई केही स्थानीयले दिन आव्हान गरे । उक्त जग्गा दिने स्व. थापाको निर्णय अनुसार त्यहाँ बजार लगाउने भनेर निर्णय भयो । तत्कालिन बजार पनि लगाइयो । तर, बर्षामा डुवानसँगै बजार बिस्थापित बन्यो ।
बजार बन्द भएसँगै उक्त १५ कठ्ठा जग्गा स्थानीयको पहलमा सोही वडामा रहेको भानु माविको नाममा सारियो भने त्यहाँका ब्यापारीलाई बजार त्यहाँ बस्दै आए । एकदमै पातलो बस्ती वढ्दै गयो । पुनः फेरी त्यहाँ १८/२० बर्षपछि बजार लगाउने भनेर लगाइयो । हालसम्म पनि बजार लागिनै रहेको छ ।
उक्त स्थानमा केही व्यक्तिले राजनीतिक पहुँचका आधारमा ट्रष्टसहितको टहराको कोशी प्रदेश सरकारका सांसदसँग मागे । माग बमोजिम बजेट छुट्टियो । केही राजनीतिक पहुँचवालाले त्यसलाई ट्रष्टसहित टहरा नभएर पक्की संरचना बनाउने योजना गरे ।
जहाँ आवश्यक थियो ढलनिकासको तर, त्यहाँ भवन निर्माण शुरु भयो । जुन प्रयोग बिहिन छ, राज्यको लाखौं लगानी बालुवामा पानी जस्तै छ । भवन निर्माणसँगै बजार क्षेत्रमा बर्षौदेखि बसोवार गर्नेले बिरोध जनाएपनि निर्माणधिन ५ कोठे भवनको तल्लो तलामा सटर बनाउन नपाइने बजार समिति र बजारवासीबिच सम्झौता पछि भवन निर्माण भयो । जुन अहिले प्रयोग बिहीन जस्तै बनेको छ ।
उक्त रकमले बजारमा टहरा र ढलनिकास गरेको भए अहिले त्यहाँ बसोबास गर्नेलाई समस्या हुने थिएन भने बजारमा डुवानको समस्या पनि कम हुने स्थानीयको भनाई छ । उक्त भवन निर्माणसँगै बजारबासीले प्रयोग गरेको पानी जाम हुँदा त्यहाँ बिभिन्न रोग लाग्ने सम्भावना पनि सिर्जना भएको छ ।
भानु माविको नाममा अर्जुनधारा–५ स्थित फुलबारीमा ९ बिगाहा बढी जग्गा छ बजारबासीले त्यहाँ कुनै विकास योजना बनाउन पनि आग्रह गरेका थिए । तर, राजनीतिक पहुँचका आधारमा अनावश्यक अर्थात प्रयोग बिहिन भवन निर्माण गरेर राज्यको लाखौं रकम अनावश्यक ठाउँमा प्रयोग भएको छ ।
भवनका कारण बजारबाट अलि अलि जाँदै गरेको बर्षामा परेको पानीसमेत रोकियो । जसका कारण त्यहाँ बसोबास गर्ने करिव २८ घर परिवार अहिले समस्यामा छन् । जुन भवन अहिले न बजारको लागि प्रयोगमा आएको छ न त्यो सटर निर्माण भएर भाडामा लागेको छ ।
यो त एउटा टोल र त्यहाँ बस्नेको मात्र समस्या हो । यस्ता धेरै अनावश्यक समस्या राज्यका निकायबाटै भइरहेका छन् । जसको परिणाम पनि अहिलेको बिनाशकारी अवस्था हो । बिहीवारे पूर्वपट्टी एउटा घाग्रा खोला थियो, जहाँबाट बर्षामा परेको पानी बग्ने गर्दथ्यो । तर, अहिले त्यो खोला नै पैनीमा परिणत भएको छ । प्राकृतिलाई मानिसले चुनौती दिएसँगै यो बिनाशकारी अवस्था सिर्जना हुँदै गएको छ ।
यस्ता प्राकृतिलाई चुनौती दिने खालका मानव क्रियाकलाप नै अहिलेको वाढीपहिरो र डुवानका कारक हुन् । जसलाई हामी सवैले बुझेर रुखविरुवा नभएका ठाउँमा रोप्ने र खोलानाला भएका स्थानमा कम्तिमा पनि उचित ढलनिकास बनाउन आवश्यक देखिन्छ ।


















