झापा । 

मिथिलाञ्चलमा आस्थाको महापर्व छठको रौनक शुरु भएको छ। मिथिला क्षेत्रका प्रमुख पर्वहरू मध्ये छठको विशेष स्थान छ। यस पर्वको तयारी ५ देखि ७ दिनअघि नै शुरु हुने गर्दछ र कार्तिक शुक्ल चतुर्थी तिथिबाट विधिवत्भ शुरु कार्तिक शुक्ल सप्तमीका दिन बिहान उषा अर्घ दिएर सम्पन्न हुन्छ।

यो पर्वमा मुख्यगरी प्रत्यक्ष देवता सूर्यदेवको उपासना गरिन्छ । हिन्दू धर्ममा सूर्य पूजाको परम्परा वैदिक कालदेखि नै विद्यमान छ । छठ पर्वमा गरिब–धनी, ब्राह्मण–दलित, उच्च–निम्न सबै वर्गका मानिसहरू एकैसाथ सहभागी हुन्छन् । सामाजिक विभेद र छुवाछुत जस्ता विकृति हटाउँदै यसले समानता र सद्भावको सन्देश दिने पर्वका रूपमा छुट्टै पहिचान बनाएको छ । 

छठ पर्वमा सप्तमी युक्त षष्ठी तिथिमा मुख्य व्रत लिने परम्परा छ । सूर्य देवतालाई पहिलो अर्घ सोही दिन साँझमा अर्पण गरिन्छ, जसलाई मैथिली भाषामा ‘सँझुका अर्घ’ भनिन्छ । त्यसैगरी, भोलिपल्ट बिहान सूर्योदयको समयमा दिइने अर्घलाई ‘भोरका अर्घ’ भनिन्छ । छठ पूजामा साँझ सूर्यलाई अर्पण गरिएका प्रसादहरू सामान्यतः जलाशयमै राखिन्छन्, तर कतिपय ठाउँमा असुरक्षाका कारण राति घरमा ल्याइ बिहान पुनः घाटमा लगिने गरिन्छ । 

छठ पर्व चार चरणमा पूर्ण हुन्छ, जसले व्रतीमा संयम र आत्मशुद्धि बढाउँछ। व्रतालुहरू नुहाईधुवाई गरी घर र शरीर सफा गर्छन् । यस दिन चोखो (सात्त्विक) अन्न, दाल र लौका–भात खाइन्छ । यही दिनबाट छठ पर्व औपचारिक रूपमा प्रारम्भ हुन्छ ।यो दिन दिनभर उपवास (व्रत) गरी साँझमा नयाँ माटोको चुल्होमा दूध, चामल र सख्खर (गुड) बाट खीर पकाइन्छ । यसलाई देवी–देवताहरूलाई अर्पण गरी परिवारसँग थोरै मात्रामा ग्रहण गरिन्छ । मिथिलाञ्चलमा यस विधिलाई ‘खरना’ भनिन्छ ।

यस दिन महिला तथा पुरुषहरू अस्ताउँदै गरेको सूर्यलाई अर्घ दिन्छन् । व्रतालुहरू पोखरी, नदी वा तलाउको किनारमा फलफूल, नारिवल, ठकुवा, भुसवा, उखु आदि लिएर उपस्थित हुन्छन् । जलमा उभिएर सूर्य आराधना गर्ने यो क्षण अत्यन्त पवित्र मानिन्छ ।भोलिपल्ट बिहान सूर्योदयको बेला पुनः अर्घ दिइन्छ । यसपछि व्रतालुहरू घर फर्की पारण (व्रत तोड्ने विधि) गर्छन् । त्यसैसाथ चारदिने छठ पर्व सम्पन्न हुने गरेको छ । 

वैज्ञानिक दृष्टिले हेर्दा पनि छठको महत्त्व गहिरो छ । सूर्यको किरण (पराबैजनी किरण) ले शरीरलाई भिटामिन ‘डी’ प्रदान गर्नुका साथै जलमा डुबेर ध्यान गर्दा मानसिक शान्ति र एकाग्रता बढ्छ । यसैले यो पर्व योग, ध्यान र प्रकृतिसँगको एकात्मताको साधना पनि हो । झापाको बिरिङ, अदुवा, कनकाईमाई, मेची खोला, पोखरी, जलशाय जस्ता स्थानहरुको छठ पूजाका ब्रतालुहरुको भीड लागेको छ । छठ पूजाका लागि झापाका अधिकांश खोलानाला पोखरीहरुलाई सजाइएको छ भने भक्तजनहरुके भीड लागेको देख्न सकिन्छ ।