• अभिषेक खतिवडा 

हल्दीवारी । 

 स्व. जगतबहादुर तथा नरमाया स्मृति प्रतिष्ठानको आयोजनामा शुरु भएको दोस्रो वडा स्तरीय नकआउट फुटबल प्रतियोगिता–२०८२ अन्तर्गत सेमिफाइनल चरणका खेल सम्पन्न भइसकेका छन्। हल्दीबारी माध्यमिक विद्यालयको खेल मैदानमा चलेका रोमाञ्चक खेलहरूले यस वर्षको उपाधि दाबेदारको टुङ्गो पनि लगाएको हो । 

पहिलो सेमिफाइनलमा वडा नं–३ ले उत्कृष्ट खेल प्रर्दशन गर्दै वडा नं–२ लाई १–० गोलले पाखा लगायो। निर्णायक गोल जर्सी नं–१० का बिक्रम पुरीले गोल गर्दै दिनभरि चर्चामा रहे।

यस्तै, दोस्रो सेमिफाइनलमा वडा नं–५ ले वडा नं–४ लाई समान १–० को नतिजाले पराजित गर्दा जर्सी नं– १४ का विवेक लिम्बु खेलको केन्द्र बने। उनी दुवै खेलाडी आफ्ना–आफ्नै खेलमा ‘म्यान अफ द म्याच’ घोषित भए।

सेमिफाइनलको समापन कार्यक्रम हल्दिबारी गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मीदेवी मैनालीको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । कार्यक्रममा वडा नं–२, ३ र ४ का वडा अध्यक्षहरू, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, स्थानीय कर्मचारी, संघ–संस्थाका पदाधिकारी, शिक्षक, अभिभावक तथा खेलप्रेमीहरूको उपस्थिति उल्लेखनीय थियो।

प्रतिष्ठानका संस्थापक मानबहादुर वन (महेन्द्र) ले प्रतियोगिताको ऐतिहासिकता, स्मृतिको मूल्य र खेलले समुदायमा ल्याउने सकारात्मक प्रभावबारे प्रकाश पारे। प्रमुख अतिथिले स्वर्गीय अभिभावकको तस्बिरमा माल्यार्पण गर्दै प्रतियोगिताको औपचारिक घोषणा गर्दै खेलकुदले गाउँमा एकतासँगै युवामा अनुशासन र हौसला भरिदिने बताए।

प्रतियोगितामा पाँच वडाका विभिन्न टिम गरी छ टोलीले प्रतिस्पर्धा गरिरहेका छन्। विजेताले २५ हजार रुपैयाँ तथा शिल्ड–मेडल–प्रमाणपत्र पाउनेछन् भने उपविजेतालाई १५ हजार रुपैयाँसहित शिल्ड–मेडल–प्रमाणपत्र प्रदान गरिनेछ। साथै उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, स्ट्राइकर लगायत विधागत पुरस्कारको पनि व्यवस्था रहेको आयोजकले जनाएको छ।

उपाधिका लागि निर्णायक भिडन्त भोलि मंसिर १९ गते हुनेछ। गाविसका प्रतिनिधित्व गर्ने वडा नं–३ र वडा नं–५ बीच हुने उक्त फाइनल खेल गाउँलेहरूको विशेष आकर्षणका रूपमा रहेको छ।

आजको कार्यक्रम प्रतिष्ठानका संरक्षक अधिवक्ता डम्बर वनको अध्यक्षतामा सम्पन्न भयो। स्वागत मन्तव्य प्रधानाध्यापक टंकबहादुर पाख्रिनले राखे भने समग्र कार्यक्रम शिक्षक तुलसी कोइरालाले सञ्चालन गरेका थिए।