बिर्तामोड ।

आगामी वैशाखदेखि सञ्चालनको तयारी गरिएको ‘नागरिक अस्पताल’ ले ५ औं बार्षिक साधारणसभा सम्पन्न गरेको छ । आम सर्वसाधारण नागरिकलाई लक्षित गरी सर्वसुलभ मूल्यमा स्वास्थ्य सेवा दिने उदेश्यले अस्पताल सञ्चालनमा आउन लागेको हो । 

सुविधा सम्पन्न अस्पतालको केन्द्र रहेको झापाको बिर्तामोड–४ हर्कलाल रोडमा आगामी बैशाखदेखि नागरिक स्वास्थ्य सहकारी संस्था लिमिटेडले सहकारी अस्पताल निर्माण गरी सञ्चालनमा ल्याउन लागेको हो । 

नागरिक स्वास्थ्य सहकारी संस्था लिमिटेडको मातहतमा सञ्चालन हुने नागरिक अस्पतालले सुलभ दररेटमा स्वास्थ्य उपचार प्रदान गर्ने तयारी गरेको संस्थाका कार्यकारी प्रमुख कृष्ण पौडेलले बताए । 

nagari aspatal

 संस्थाको कार्यालयमा आज (शनिवार) आयोजित ५ औं बार्षिक साधारण सभाका अवसरमा आयोजित कार्यक्रममा अस्पताल सञ्चालनको तयारी तिब्र बनाइएको जनाइएको छ । 

अस्पताल सञ्चालनको लागि त्यस स्थानमा ११ कठ्ठा जमिन २५ बर्षको लागि भाडामा लिएर अस्पताल भवनको कार्य धमाधम भइरहेको छ । कार्यकारी प्रमुख पौडेलका अनुसार भवनको निर्माण कार्य ९० प्रतिशत सम्पन्न भएको छ भने अहिलेसम्म अस्पतालमा ३०० भन्दा बढी शेयर सदस्य बनिसकेका छन् । 

उपचार केन्द्रको हब बन्दै गएको बिर्तामोडमा नयाँ हस्पिटल थपिएसँगै आधुनिक उपकरण तथा सुविधा पनि थपिन थालेका छन् । संस्थाका सदस्य कृष्ण बजगाँईका अनुसार बिरामीको आर्थिक अवस्थालाई ध्यान दिएर नागरिक अस्पतालले सुलभ दरमा उपचार सेवा दिनेछ । 

बिषेशज्ञ डाक्टरको सुविधा तथा नेपाल सरकारबाट सञ्चालित बीमा सेवासमेत सञ्चालन गर्ने तयारी अस्पतालको रहेको कोषाध्यक्ष जीवन खड्काले जानकारी दिए । संस्थाका अध्यक्ष युवराज दाहालको अध्यक्षतामा भएको कार्यक्रममा मोरङ सहकारी अस्पतालका कार्यकारी प्रमुख विकास अधिकारीको प्रमुख आतिथ्य रहेको थियो ।

 स्वागत संस्थाका कोषाध्यक्ष जीवन खड्काले गरेको कार्यक्रममा संस्थाका प्रमुख सल्लाहकार राजकुमार पोखरेल, संस्थापक अध्यक्ष बलराम कार्की, स्वास्थ्य मन्त्रालयका पूर्व सचिव डा. टंक बाह्रकोटी, स्वास्थ्य मन्त्रालयका पूर्व सह–सचिव डा. मुक्ति खनाललगायतले शुभकामना मन्तब्य राखेका थिए । कार्यक्रमको सञ्चालन सचिव रबिन्द्र भट्टराईलेगरेका थिए ।