बिर्तामोड । 

नेपाली चलचित्र ‘परिवर्तन’ आगामी माघ ९ गतेबाट देश तथा बिदेशका सिनेमा घरमा प्रदर्शनमा आउने भएको छ । चलचित्र परिवर्तनको टिमले आज (शुक्रवार) बिर्तामोडमा पत्रकार सम्मेलनको आयोजना गर्दै चलचित्र प्रदर्शनको तयारी र चलचित्रको कथा बस्तुका बारे जानकारी दिएको हो । 

pariwartan

चलचित्र परिवर्तनमा अभिनेता सुशिल श्रेष्ठ एक्सन अवतारमा प्रस्तुत भएका छन् । नेपालमै पहिलो पटक यस प्रकारको एक्शन फिल्ममा देख्न सकिने चलचित्रका कथाकार तथा निर्माता दीपक शिवाकोटीले जानकारी दिए । उनका अनुसार चलचित्रमा सवै पक्षको परिवर्तन हुने सम्भावनालाई उजागर गर्न खोजिएको छ । फिल्म परिवर्तनले नेपाली दर्शकको मन जित्नेमा दुइमत नरहेको निर्माता शिवाकोटीको भनाई छ । 

पत्रकार सम्मेलनमा निर्माता शिवाकोटीसहित अभिनेता श्रेष्ठ, अभिनेत्री अन्जना बराइली, निर्देशक बिजय केरुङले चलचित्रका बिषय बस्तु र प्रदर्शनका बारेमा जानकारी गराएका थिए । 

फिल्ममा अभिनेता सुशीलसहित करिश्मा मानन्धर, अञ्जना बराइली, हेमन्त बुढाथोकी, सिरू विष्टलगायतका कलाकारहरूको पनि अभिनय रहेको छ । करिश्मा विद्रोही महिलाको रूपमा देखिएकी छन् भने अञ्जना इन्स्पेक्टरको भूमिकामा छिन् । फिल्मले नेपाल–भारत सीमा क्षेत्रमा नेपालीमाथि भइरहेको अन्याय र अत्याचारलाई मुख्य विषय बनाएको निर्देशक विजय केरुङले बताए । 

विजय केरुङको निर्देशनमा बनेको यो फिल्ममा सरोज खनाल, सुवास मेचे, बुद्धि तामाङ, पुकार भट्टराई, याम खरेल, गौतम तिवारी, शंकर श्रेष्ठ, आशा पौडेललगायत कलाकारहरुको पनि अभिनय रहेको छ । फिल्मलाई दीपक शिवाकोटीले निर्माण गरेका हुन् । यसमा उनी स्वयंको कथा छ भने पटकथा तथा संवाद शिवम् अधिकारीले तयार पारेका हुन् ।

‘शिवाजी द बोस’, ‘नानाकु प्रेमथो’ जस्ता चर्चित भारतीय फिल्ममा साउन्ड डिपार्टमेन्टमा काम गरेकी गीता गुरप्पा ‘परिवर्तन’मा साउन्ड डिजाइनरको रूपमा छिन् । यसमा शिव ढकालको छायङ्कन, श्री श्रेष्ठको द्वन्द्व निर्देशन, बन्दे प्रसादको सम्पादन तथा एसडी योगीको संगीत रहेको छ । फिल्मले युवाको विद्रोही सोच, देशप्रतिको जिम्मेवारी र सुधारको चाहनालाई प्रस्तुत गरेको निर्माण पक्षको दावी छ । चलचित्रको ९० प्रतिशत छायङ्कन झापाका रमणीय धार्मिक तथा पर्र्यटकीय क्षेत्रमा भएको छ भने १० प्रतिशतमा अन्य जिल्लाहरुमा  भएको निर्माण पक्षले जनाएको छ ।