बिर्तामोड ।
झापाको कनकाई नगरपालिका–८ लक्ष्मीपुरस्थित पाथीभरा एकेडेमीको विवद सतहमा आएको छ । जिर्ण भवन, आन्तरिक विवाद, प्रशासनिक अव्यवस्था र कानुनी अपारदर्शिताका कारण विद्यालयको भविष्य मात्र होइन, त्यहाँ अध्ययनरत विद्यार्थीहरूको सुरक्षा र शिक्षा प्रत्यक्ष रूपमा जोखिममा परेको खुलेको छ ।
आफूलाई विद्यालयका सञ्चालक तथा ५० प्रतिशत शेयरधनी दावी गर्दै रवि पोद्दारले सोमवार बिर्तामोडमा पत्रकार सम्मेलनको आयोजना गर्दै विद्यालय सञ्चालन तत्काल सुरक्षित नभएको स्पष्ट पारेका छन् । उनले जिर्ण भवनमा विद्यालय चलाइरहनु बालबालिकाको जीवनसँग खेलवाड भएको भन्दै सम्भावित दुर्घटनाको जिम्मेवारी आफूले नलिने चेतावनीसमेत दिएका छन् ।
पोद्दारका अनुसार विद्यालय सञ्चालन भइरहेको भवन तथा जग्गा उनको निजी स्वामित्वमा भए पनि हाल भवन अत्यन्त जिर्ण अवस्थामा पुगेको छ । ‘यो भवनमा विद्यालय सञ्चालन गर्दा कुनै पनि बेला गम्भीर दुर्घटना हुन सक्छ,’ उनले भनेका छन्, ‘यदि कुनै अप्रिय घटना घटे त्यसको सम्पूर्ण नैतिक र कानुनी जिम्मेवारी सम्बन्धित निकाय र लापरवाही गर्ने पक्षले लिनुपर्छ, म एक्लैले लिन सक्दिनँ।’

पाथीभरा एकेडेमी २०६४ सालमा स्थापना भएको बताउँदै उनले भने २०७५ सालमा म रवि पोद्दार र विनोद पोखरेलले खरिद गरी नयाँ व्यवस्थापनमा सञ्चालनमा ल्याएका थियौं । तर पछिल्लो समय विद्यालय सञ्चालनको विषयमा हामी सञ्चालकबीच गहिरो विवाद चुलिएको छ।
पोद्दारले विवाद समाधानका लागि पटक–पटक संवाद, मौखिक ताकेता र लिखित निवेदन दिँदा पनि अर्का सञ्चालक पोखरेलबाट कुनै सकारात्मक पहल नभएको आरोप लगाएका छन् । यसकै कारण विद्यालयको शैक्षिक, प्रशासनिक र भौतिक व्यवस्थापन दिनप्रतिदिन अस्तव्यस्त बन्दै गएको उनको भनाइ छ । लेखापरीक्षण छैन, कम्पनी अद्यावधिक छैन ।
पोद्धारद्वारा आज (सोमवार) बिर्तामोडमा पत्रकार सम्म्ेलनको आयोजना गर्दै जारी विज्ञप्तिमा विगत केही वर्षदेखि विद्यालयको नियमित लेखापरीक्षणसमेत भएको छैन । कम्पनी अद्यावधिक नगरिनु, विद्यालय व्यवस्थापन समिति तथा सञ्चालक समितिका बैठकहरू नबस्नु जस्ता गम्भीर कमजोरीले विद्यालयलाई जुनसुकै बेला बन्द हुने जोखिमपूर्ण अवस्थामा पु¥याएको पोद्दारको दाबी छ।
यस्तो अवस्थामा नयाँ भर्ना खुला राख्नु बालबालिकाको भविष्यसँग प्रत्यक्ष खेलवाड भएको भन्दै उनले कडा आपत्ति जनाएका छन्। पोद्दारले यो विषय कुनै निजी स्वार्थ वा व्यक्तिगत टकराव नभई बालबालिकाको शिक्षा र सुरक्षासँग प्रत्यक्ष जोडिएको गम्भीर सार्वजनिक सरोकारको विषय भएको बताएका छन्। ‘बालबालिकाको शिक्षा, सुरक्षा र भविष्य जोखिममा पारेर कुनै पनि हालतमा विद्यालय सञ्चालन स्वीकार्य हुन सक्दैन,’ विज्ञप्तिमा उल्लेख छ।
उनले बालबालिका सम्बन्धी ऐन, २०७५ र स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले प्रत्याभूत गरेको बालबालिकाको शिक्षा, सुरक्षा र अधिकारविपरीत भइरहेका बताएका छन् । उनले विद्यालयको अवस्थाबारे कनकाई नगरपालिका, शिक्षा शाखा, वडा नं। ८ को कार्यालय, शिक्षा विकास तथा समन्वय इकाई चन्द्रगढी र विद्यालय सञ्चालक समितिलाई पटक–पटक लिखित जानकारी गराइसकिएको भए पनि हालसम्म प्रभावकारी सुनुवाइ नभएको बताएका छन् ।
उनले सरोकारवाला निकायसमक्ष चार बुँदे माग अघि सारेका छन् । उनले जारी गरेको विज्ञप्तिमा विद्यालय सञ्चालन भइरहेको भवनको तत्काल प्राविधिक परीक्षण गरियोस्, विद्यालय सञ्चालन गर्न मिल्ने वा नमिल्ने विषयमा यथाशीघ्र स्पष्ट निर्णय होस्, घरबहाल, वित्तीय पारदर्शिता तथा विद्यालयको कानुनी हैसियतबारे स्पष्ट निर्देशन दिइयोस्, आवश्यक परे बालबालिकाको शैक्षिक भविष्य सुरक्षित हुने वैकल्पिक व्यवस्था तुरुन्त लागू गरियोस् भनेका छन् ।
जसका लागि नगरपालिका सहितका सम्वन्धित निकायले सहयोग पु¥याउने अपेक्षा राखेको उनको भनाई छ । उनले अभिभावक, विद्यार्थी, नागरिक समाज र सम्बन्धित निकायलाई बालबालिकाको भविष्य सुरक्षित गर्न रचनात्मक सहयोग र तत्काल पहल गर्न आग्रह समेत गरेका छन्।


















