बिर्तामोड ।
कक्षा ११ र १२ का विद्यार्थीहरूका लागि आयोजना गरिएको झापा जिल्लास्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । ‘क्यान्सरमुक्त भविष्यका लागि युवा’ विषयमा केन्द्रित प्रतियोगितामा जिल्लाभरका विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो ।
पूर्वाञ्चल क्यान्सर अस्पतालको आयोजनामा सम्पन्न प्रतियोगितामा निधि माध्यमिक विद्यालय बिर्तामोडकी सोफिया खड्काले प्रथम स्थान हासिल गरेकी छन् । त्यसैगरी गोमेन्द्र कलेज बिर्तामोडकी यमुना निरौलाले द्वितीय र इस्ट होराइजन माध्यमिक विद्यालय मेचीनगरकी सदीक्षा अधिकारीले तृतीय स्थान प्राप्त गरेको अस्पतालाका जनसम्पर्क अधिकारी प्रमिश गिरीले जानकारी दिए ।
प्रतियोगितामा सहभागी विद्यार्थीहरूले क्यान्सर रोकथाम, जनचेतना, जीवनशैली सुधार तथा युवाको भूमिकाबारे प्रभावकारी रूपमा आफ्ना विचार प्रस्तुत गरेका थिए । वक्तृत्वकलामार्फत युवाहरूले क्यान्सरमुक्त समाज निर्माणमा योगदान दिन सक्ने सन्देश प्रतियोगितामा व्यक्त गरेका थिए ।
कार्यक्रममा निर्णायक मण्डलका सदस्यहरू रुद्र थापा, सन्तोष अग्रवाल र मोहन काजीले सहभागीहरूको प्रस्तुति, विषयवस्तु, आत्मविश्वास र अभिव्यक्तिको शैलीको आधारमा मूल्याङ्कन गरेका थिए । निर्णायकहरूले विजेताहरूको प्रतिभा र तयारीको उच्च प्रशंसा गरे ।
पूर्वाञ्चल क्यान्सर अस्पतालको निर्देशक डा. अन्जली कार्की प्रसाईले यस्तो कार्यक्रमले युवामा स्वास्थ्य सचेतना बढाउनुका साथै सामाजिक जिम्मेवारीबोध पनि विकास गर्ने विश्वास व्यक्त गरेकी छन् । आगामी दिनमा यस्ता कार्यक्रमलाई निरन्तरता दिने पनि आयोजकले बताएका छन् ।


















