भद्रपुर । 

झापाको भद्रपुरमा ‘कोशी पाथिभरा इण्डो नेपाल टि–२० च्याम्पियनसीप कप’ क्रिकेट प्रतियोगिता हुने भएको छ । भद्रपुर क्रिकेट क्लवको आयोजनामा मेची क्याम्पसको क्रिकेट खेल मैदानमा आगामी माघ २१ देखि २९ गतेसम्म प्रतियोगिताको तयारी गरिएको आज (सोमवार) भद्रपुरमा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराइएको हो ।  क्रिकेट प्रतियोगिता २०८२ को सम्पूर्ण तयारी पूरा भएको पत्रकार सम्मेलनमा जानकारी दिइयो । 

प्रतियोगितामा नेपाल र भारतका विभिन्न राज्यबाट आएका प्रतिष्पर्धी टिमहरुमा चर्चित खेलाडीहरुको सहभागिता रहने प्रतियोगिताका संयोजक मनोज सुब्वा (गौरव) ले बताए । उनका अनुसार प्रतियोगिताले  नेपाल भारत विचको खेलकूदमैत्री आपसी सम्बन्ध सांस्कृतिक सहकार्यलाई थप मजबूत बनाउने विश्वास लिइएको छ ।

भद्रपुर र झापालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्रिकेट संसारमा स्थापित गर्ने स्थानीय खेलाडीहरुलाई अन्तर्राष्ट्रिय स्तरको प्रतिस्पर्धा अनुभव आदान प्रदान गर्नु तथा खेल पर्यटनको प्रवधन मार्फत स्थानीय अर्थतन्त्रमा सकारात्मक योगदान पुरयाउने उदेश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ । 

मैदान व्यवस्थापन, पिचको स्तरीकरण खेल तालिका, सुरक्षा व्यवस्था अम्पायरिङ्ग,  स्वास्थ्य सेवा, खेलाडीहरुको आवास तथा यातायात व्यवस्थापन लगायत खेलका लागि आवश्यक अन्य सबै तयारी पूरा भइसकेको भद्रपुर बिक्रेट क्लवका अध्यक्ष आदित्य पराजुलीले बताएका छन् । 

पराजुलीका अनुसार प्रतियोगिता अवधिभर दर्शकहरुका लागि सुरक्षित र व्यवस्थित वातावरण सुनिश्चित गरिने छ । प्रतियोगिता सफल रुपमा सम्पन्न गर्न विभिन्न उपसमितिहरु गठन गरी जिम्मेवारी वाडफाँड भए अनुसार सबै समिति, उप समितिहरु क्रियाशिलतापूर्वक आ–आफ्नो जिम्मेवार जुटिरहेका आयोजकले जनाएको छ । 

प्रतियोगितामा नेपालका तर्फबाट आयोजक भद्रपुर क्रिकेट क्लव, गण्डकी हिरोज पोखरा, गेट हिमालयन क्रिकेट एकाडमी काठमाडौं र फ्रेण्ड्स युथ क्लव डडेल्धुराको सहभागिता रहनेछ । त्यस्तै भारतका तर्फबाट राइनो ल्याण्ड क्रिकेट एकाडमी आसाम (गोहाटी), ग्लोबल स्टार क्रिकेट क्लव लखनउ, क्रिकेट कोचिङ्ग उपाध्याय एकाडमी न्यू दिल्ली र स्नो लायन टिम अफ सिक्किम सहभागी हुनेछन् । नेपालका अलवहरुमा एनपिएन खेलिसकेका तथा भारतका क्लवहरुमा रणजी ट्रफी खेलिसकेका खेलाडीहरुको सहभागिता हँुदैछ ।

एक करोड २२ लाख खर्च हुने अनुमान गरिएको उक्त प्रतियोगितामा विजेताले नगद ५ लाख र उप–विजेताले नगद ३ लाखसहित मेडल, ट्रफी प्राप्त गर्नेछन् । प्रत्येक खेलको प्लेयर अफ दि म्याचले नगद ११ हजार र ट्रफी उत्कृष्ट बलर र व्याटरले नगद २५÷२५ हजार र ट्रफी, उदीयमान खेलाडीले नगद ११ हजार, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी म्यान अफ दि सिरिजलाइ नगद ५१ हजार र ट्रफी प्रदान गरिने छ । 

आठ वटा टिमलाई दुई समूहमा विभाजन गरी लिग डाँचाकी प्रतिष्पर्धा गराइने छ । प्रतियोगितामा कोशी प्रदेश सरकार, भद्रपुर नगरपालिका तथा स्थानीय दानवीर समाजसेवीहरुको सहयोगमा करिव ६० लाखको लागतमा पिच निर्माण गरी स्तरिकरण गर्ने कार्य सम्पन्न भएको छ । 

प्रतियोगिता सन्चालनका लागि खेलप्रेमी, समाजसेवी, व्यवसायीलगायतले आर्थिक सहयोग गरेका छन् ।  पत्रकार सम्मेलनमा भद्रपुर नगरपालिकाका नगर प्रमुख गणेश पोखरेलले प्रतियोगितालाई सवैले साथ र सहयोग गर्न आग्रह गरेका छन् । पत्रकार सम्मेलनमामा भद्रपुर क्रिकेट क्लवका महासचिव बसन्त पोखरेल, झापा भद्रपुर गोल्डकपका अध्यक्ष दिपेश ढकाललगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण अग्रज पत्रकार तथा प्रेस संयोजक गोपाल गिरीले गरेका थिए ।